ad ad

समाज


अनुसन्धान कर्मचारीको शंकास्पद मृत्यु : परिवारले बुझेन शव, तीन दिनदेखि अस्पतालमै

अनुसन्धान कर्मचारीको शंकास्पद मृत्यु : परिवारले बुझेन शव, तीन दिनदेखि अस्पतालमै

फाइल तस्बिर


नेपालखबर
फागुन १६, २०७९ मंगलबार १८:३०, कञ्चनपु्र

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी जीवन बुडालको शव परिवार बुझ्न अस्वीकार गरेका छन्। 

परिवारले नबुझ्दा दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय बुडालको शव तीन दिनदेखि अस्पतालमै छ। 

बुडालको हत्या भएको दाबी गर्दै पीडित परिवारले घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गरी दोषीलाई कारबाहीको माग गरेका छन्।

दोषी कानुनी दायरामा नआउञ्जेल शव नबुझ्ने उनीहरुको अडान छ। 

‘पोष्टमार्टम रिर्पोट पनि आएको छैन, रिर्पोट चाँडो बाहिर ल्याउनुपर्‍यो,’ एक जना आफन्तले भने, ‘घटना शंकास्पद देखिएको छ, सत्यतथ्य सार्वजनिक नभएसम्म शव बुझ्दैनौँ।’

मृतक बुडालको परिवारले मंगलबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेश पन्थीलाई ज्ञापनपत्र दिँदै घटनाको सत्यतथ्य छानविनको माग गरेका छन्। 

शनिबार इष्टमित्र र साथीहरुसंग पिकनिक मनाउन गएका बुडाल दोगडाकेदार गाउँपालिका–४ जाडबगरस्थित चौलानी नदीमा राति मृत भेटिएका थिए।

उनी राष्ट्रिय अनुसन्धान विभागमा सहायक सूचक पदका रुपमा बझाङमा कार्यरत थिए। घर विदामा आएका बेला साथीहरुसँग पिकनिक जाँदा बुडाल शंकास्पद अवस्थामा मृत फेला परेका थिए।

बुडालकी श्रीमती अनिषा कुलुमले हत्या गरिएको दाबी गर्दै सँगै पिकनिक मनाउन गएका १२ जनाविरुद्ध किटानी जाहेरी दिएकी छन्।

किटानी जाहेरीपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 

बुडाल महाकालीको तीरसँगैको बस्ती खडेनीका स्थानीय बासिन्दा थिए। ‘उहाँ पौडी खेल्न सिपालु हुनुहुन्थ्यो, महाकाली भन्दा निकै कम पानी भएको चौलानी नदीमा कसरी डुब्नुभयोे? यहीँबाट हामीलाई शंका उब्जियो,’ मृतकका एक आफन्तले भने।

ती आफन्तका अनुसार शनिबार दिउँसो १ बजे घटना भए पनि प्रहरीलाई त्यसको जानकारी राति ६ बजेमात्रै गरेको देखिएको छ।

मृतक बुडालको मोबाइल पनि साथीहरुसँगै भेटिएको थियो। 

ज्यानसम्बन्धी कसुरमा १२ जनाविरुद्ध किटानी जाहेरीपछि उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

बुडालसँगै पिकनिक गएका गजेन्द्रसिंह रावल, नारायणसिंह ऐरी, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री, श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नवीनसिंह ठगुन्ना, केशवसिंह रावल, दीपेन्द्रसिंह ऐरी, भिमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि ज्यानसम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .