ad ad

समाज


परिवारिक विग्रहले बालखैमा श्रम गर्न बाध्य

परिवारिक विग्रहले बालखैमा श्रम गर्न बाध्य

नेपालखबर
फागुन ३०, २०७९ मंगलबार १०:२७, काठमाडौँ

नेपालमा बालबालिका कलिलो उमेरमै किन श्रममा लाग्छन् भनेर गरिएको सर्वेक्षणले गरिबी र पारिवारिक विग्रह मुख्य कारण देखाएको छ। देशका विभिन्न स्थानबाट काठमाडौँमा आई श्रम गरिरहेका करिब ४ सय बालबालिकामा गरिएको अध्ययनले उक्त निष्कर्ष निकालेको हो। 

महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था क्लारिसा नेपालले गरेको एक अध्ययनले गरिबी र पारिवारिक विग्रहका कारण बालबालिका श्रममा आउन बाध्य भएको तथ्य सार्वजनिक गरेको हो। 

अध्ययनका क्रममा संस्थाले करिब ४ जनामा अध्ययन गरेको उल्लेख गरेको छ। यो अध्ययनमा २५ वर्षसम्मका युवक-युवतीलाई समेत समावेश गराइएको थियो। अध्ययनले काठमाडौँमा रहेका वयस्क मनोरञ्जन क्षेत्रमा निकृष्ट प्रकारका बालश्रम, शोषण र यौनजन्य दुर्व्यवहार रहेको देखाएको छ।

संस्थाले काठमाडौँका डान्सबार, क्याबिन रेस्टुरेन्ट, स्पा तथा मसाज पार्लर, दोहोरी रेस्टुरेन्ट र साना खाजा घर तथा अन्य वयस्क मनोरञ्जन केन्द्रमा पुगेर त्यहाँ कार्यरत बालबालिका तथा युवा युवतीसँग व्यक्तिगत कुराकानी गरी अध्ययन गरेको थियो। उपत्यकाका गोंगबु, कलंकी, ठमेल, दरबारमार्ग, सुन्धारा, कोटेश्वर, मनोहरालगायत क्षेत्रका प्रमुख वयस्क मनोरञ्जन स्थलहरुमा अध्ययन गरिएको संस्थाले जनाएको छ।

यस क्रममा नेपालका ग्रामीण क्षेत्रबाट बालबालिका तथा युवती कसरी काठमाडौँका श्रम बजार वा वयस्क मनोरञ्जन केन्द्रसम्म आइपुग्छन् र किन आउँछन् भन्ने विषयमा समेत अध्ययन गरेको थियो। अध्ययनले परिवारको आर्थिक अवस्था र पारिवारिक विग्रह र काठमाडौँमा काम गर्ने बालबालिकामा अन्तरसम्बन्ध रहेको तथ्य औँल्याएको छ। 

परिवारको कमजोर आर्थिक अवस्था अर्थात् गरीबी र पारिवारिक विग्रह नै बालबालिकाहरु श्रम बजारमा आइपुग्ने प्रमुख कारण रहेको अनुसन्धानमा संलग्न सम्झाना भुजेलले बताइन्। अध्ययनका क्रममा वयस्क मनोरञ्जन केन्द्रमा भेटिएका बालबालिकाहरु किन काठमाडौँ आएको भन्दा अधिकतरले घरको आर्थिक अवस्था कमजोर भएका कारण काठमाडौँ आउनुपरेको बताएका छन्। कसैको परिवारमा अभिभावकको मृत्यु हुनु, बुवा वा आमा रोगी हुनु आदि कारणले परिवार पाल्नका लागि बालश्रम गर्ने गरेको पाइएको छ। 

त्यसैगरी परिवारमा मदिराको लत लागेका कारण गरीबी तथा झैझगडा भइरहने, बुवा वा आमाको सम्बन्ध-विच्छेद र दोस्रो विवाहलगायत कारण पनि बालबालिका विद्यालय छाडेर कामको खोजीमा काठमाडौँ आइपुग्ने गरेको अध्ययनले देखाएको छ। 

काठमाडौँमा रहेका वयस्क मनोरञ्जन केन्द्रमा काम गर्ने धेरै बालबालिका र युवक-युवतीले विद्यालय शिक्षा पूरा नगरेको समेत अध्ययनमा देखिएको छ। संस्थाका अनुसार गरीबी, पारिवारिक कलह र विग्रह, परिवारका सदस्यको विछोड आदि कारण बालबालिकाले विद्यालय शिक्षा पूरा गर्न नपाएको र यस्ता क्षेत्रमा काममा आउने गरेको पाइएको छ। 

वयस्क मनोरञ्जन क्षेत्रमा काम गर्ने अधिकतर बालिका तथा युवतीसमेत यौनजन्य हिंसा र दुर्व्यवहारमा परेको अध्ययनमा देखिएको छ। त्यस्ता क्षेत्रमा काम गर्ने किशोरी वा युवती कुनै न कुनै प्रकारको यौनजन्य हिंसामा परेको उनीहरुले आफ्नो कथा सुनाएको संस्थाका राष्ट्रिय निर्देशक सुधीर मल्लले बताए। कतिपय किशोरी काठमाडौँमा कामकै लागि बसिरहँदा आफन्तबाटै बलात्कारमा परेको समेत मल्लले बताए। 

संस्थाका अनुसार वयस्क मनोरश्ञ्जन क्षेत्रमा काम गर्ने बालबालिका तथा किशोरी र युवतीसमेत निकृष्ट प्रकृतिको बालश्रम र श्रम गर्न बाध्य रहेको अध्ययनमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .