फागुन १ गते काठमाडौंको बालाजुमा भएको घटनामा लापरबाही गरेको भन्दै २ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) कारबाहीमा परेका छन्।
त्यतिबेलाका बालाजु बृत्तका डीएसपी रविन विष्ट र सोह्रखुट्टे बृत्तका डीएसपी गणेशबहादुर बमलाई कारबाही गर्ने निर्णय भएको हो। डीएसपी विष्टको तीन वर्ष बढुवा रोक्का गर्ने निर्णय भएको छ।
डीएसपी बमलाई भने सचेत गराउने निर्णय भएको प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए।
घटना भएको भोलिपल्ट फागुन २ गते घटना छानबिन गर्न डीआईजी मसाउद आलम खाँको नेतृत्वमा समिति गठन भएको थियो।
यातायात मजदुरको आन्दोलनको क्रममा बालाजुमा प्रहरीका दुई वटा गाडी जलाइएको थियो। ४० बढी प्रहरी घाइते भएका थिए।
बालाजुका डीएसपी विष्ट चढ्ने बा २ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा १ झ ७२२४ नम्बरको गाडीमा आगजनी भएको थियो।
यस्तै, ल्होत्से मलमा लुटपाट भएको थियो। यो घटना हुनुमा मुख्य गरी यी दुई बृत्तका डीएसपीको कमाण्ड कमजोरी रहेको भन्दै छानबिन समितिले कारबाही सिफारिस गरेको थियो।
प्रतिक्रिया