ad ad

समाज


मुक्तिको त्यो मुक्त जिद : जसले ४० औँ पटकमा एमबीबीएसमा नाम निकाले

मुक्तिको त्यो मुक्त जिद : जसले ४० औँ पटकमा एमबीबीएसमा नाम निकाले

समृद्धा केसी
चैत ७, २०७९ मंगलबार ११:३६, काठमाडौँ

भनिन्छ ‘हजारौँ चट्याङहरू किन नबर्सिऊन्, लाखौँ तुफान किन नआऊन् – ती फूल फुलेरै छाड्छन्, जो फुल्नेवाला छन्।’

त्यस्तै एक फूल हुन् ३५ वर्षीय मुक्ति दाहाल। उनको जीवनमा आएका उतारचढावले पनि हजारौँ बिजुली चम्काएर तर्साउने काम गरिरहे। तुफानहरू चलिरहे। तर लाखौँ असफलताका बाबजुद डाक्टर पढ्ने जिद उनले कहिल्यै छाडेनन्। अन्ततः ४० औँ पटकमा उनले एमबीबीएसमा नाम निकालेका छन्। 

०००

मोरङमा मध्यवर्गीय परिवारमा जन्मिएका मुक्तिको बाल्यकाल काठमाडौंमा बित्यो। नक्सालस्थित नन्दी माध्यमिक विद्यालयमा स्कूले जीवन बिताएका उनी पढाइमा अब्बल थिएनन्, मध्यम थिए। माध्यामिक तहमा पुग्दा फस्ट ब्वाइहरूको रबाफ उनलाई चित्त बुझ्दो लाग्थेन। के गर्ने? उनले पढाइमा मेहनत घोलिदिए, ९ बाट १० मा जाँदा प्रथम भए। त्यसपछि सुरु भयो उनको डाक्टर बन्ने महत्वकांक्षा।

एसएलसीपछि ठमेलस्थित अमृत साइन्स क्याम्पसमा विज्ञान संकायमा भर्ना भए। सरकारी स्कूलको पृष्ठभूमिबाट आएका उनलाई अँग्रेजीमा ‘साइन्सका थ्योरी’ कण्ठस्थ पार्न त्यति सहज थिएन। आईएसी अँग्रेजी माध्यममा पढाइ हुन्थ्यो, सुरुमा त उनको मगजमा केही घुसेन। 

पहिलो वर्ष उनका लागि निकै सकसपूर्ण रह्यो। तर उनले हार मानेनन्। संकाय बदल्ने कि भन्ने सवाल उनको मनमा नउठेको होइन। तर त्यसो गर्न उनले उचित ठानेनन्। बरु कठिन मेहनतमाथि तहहरू थप्दै गए। उनको त्यो मेहनतले रङ ल्यायो। राम्रो अंकसहित आईएसी पास गरे।

त्यतिबेलासम्म उनले बुझिसकेका थिए जीवनका मजा पासमा होइन मेहनतमा लुकेको हुँदो रहेछ।

त्यसपछि उनले एमबीबीएसको तयारी थाले। त्यसका लागि थप मेहनत गर्न जरुरी थियो। उनले त्यसमा कञ्जुस्याइँ गरेनन्, जीवनको एक मात्रै लक्ष्यजसरी एमबीबीएसको तयारीमा लागिरहे।

उनले भोक र निद्रा बिर्सिएर दिनमा २० घण्टासम्म पढे। 

फरक फरक विश्वविद्यालयले प्रवेश परीक्षाको आवेदन खुलाउँथे। उनी ती सबैको तयारी गर्थे।

हरेक पटक नयाँ उत्साह र उल्लासका साथ एमबीबीएस पढ्न खोज्ने विद्यार्थीको चाङ थपिँदै जान्थ्यो। सरकारी कोटाबाट नाम निकाल्न काठमाडौंदेखि दूरदराजसम्मका विद्यार्थीको लाइन लाग्थ्यो। तर ती हरेक भीडमा कहिल्यै छुट्दैन थियो मुक्तिको अनुहार। ती हरेक भीडबीच सधैँ मुक्ति हुन्थे। सरकारी कोटाबाट एमबीबीएस पढ्न ०६२ देखि निरन्तर हरेक परीक्षा दिए। एकदुई पटक होइन, १७ वर्षमा ३९ वटा परीक्षामा उनी असफल भए। 

पत्रिकाका विज्ञापन पेजमा आँखा कुदाइरहन्थे उनी। जुन विश्वविद्यालयले एमबीबीएस प्रवेश परीक्षा खुलाए पनि उनी फारम भरिहाल्थे। यसरी उनले १७ वर्षमा फरक फरक विश्वविद्यालयबाट ४० वटा परीक्षा दिए। तीमध्ये ३९ पटक जाँचकले उनलाई डाक्टरी पढ्न अयोग्य घोषणा गरे।

धेरैपटक एक र दुई नम्बर मात्रै नपुगेर उनी फालिन्थे। तर त्यो असफलताले उनको आत्मविश्वास ढाल्न सकेन। असफलताका वर्षका चाङ लाग्दै थिए, उमेर विस्तारै बामे सर्दै बुढेशकालतर्फ लम्किँदै थियो। बदलिँदो पाठ्यक्रम र नयाँ जोशजाँगरसहित डाक्टरी पढ्न आउने विद्यार्थीहरूसँगको प्रतिस्पर्धाको चुनौती पनि त्यति नै बढ्दै थियो। 

यसरी हरेक वर्ष समय, प्रणाली र असफलताले उनलाई पछाडि हुत्याइराखे पनि उनले हार खाएनन्। घुँडा धसारिरहे।

उनीसँगै प्रवेश परीक्षा दिएका धेरैजना उनकै आँखा अगाडि डाक्टर पनि बनिसके। तर कहिल्यै पढ्नका लागि उनको पालो आएन।

असफलतासँगै निरासाको मुस्लो छातीभित्र झन्झन् ठूलो हुँदै गइरहेको थियो। उनीसँग डाक्टरी पढिछाड्ने जुनुन त थियो तर जति आत्मविश्वास भए पनि हरेक पटकको असफलताका कारण उनी मानसिक रुपमा भने विक्षिप्त हुँदै गइरहेका थिए। केही बिचलित भए पनि उनले हार भने मानेनन्।

सुरुमा परिवार र साथीभाइले हौसला दिए पनि हरेक पटकको असफलतापछि उनीहरू पनि आत्तिन्छन्। जिद छाड्न भनेर सम्झाउँछन्। तर उनको मुक्त जिद भत्किँदैन। बरु कसम खान्छन्– मेहनतको मूल्य लिएरै छाड्छु।

निम्न परिवारमा जन्मिएका उनले हाँडिगाउँको एउटै कोठामा २५ वर्ष गुजारे। भन्छन् ‘हाडिगाउँमा मलाई नचिन्ने कोही छैन होला। त्यहाँका धेरै केटाकेटीलाई होम ट्यूसन पढाएको छु। घरखर्च पढाएरै निकालेको हो। यता एमबीबीएका लागि सुरुमा तयारी कक्षाहरु लिए पनि पछि सेल्फ स्टडी नै गरेँ।’ 

१६ वर्षसम्म उनले अरु केही गर्ने सोचाइसमेत राखेनन्। होमट्युसन पढाएर खर्च निकाले र त्यो रकम एमबीबीएस तयारीका लागि हुर्हाइरहे।

यही जिदले अन्ततः उनको सपना पूरा भएको छ। २०६२ देखि निरन्तर हरेक एमबीबीएस प्रवेश परीक्षा दिएका उनले अन्ततः सरकारी कोटाबाट नाम निकालेका छन्।

प्रणालीले हरेक पटक असफलताको ट्याग लगाइदिएका उनले सुरुमा त यो सत्यलाई स्वीकार गर्न पनि सकेनन्। सपना जस्तो महसुस भयो उनलाई। असफलताको बानी परेका उनी ४१ औँ तयारीमा जुटिसकेका पनि थिए।

सुरुमा आफ्नो नाम देखेर त्यो सत्य हो कि होइन छुट्याउन अल्मलिएका उनी साथीभाइले उनकै नाम भएको पुष्टि गरेपछि निर्धक्क बनेका छन्। अब एमबीबीएस पढ्ने तयारीमा उनी जुटेका छन्। 

परीक्षामा जति पटक उनी फेल हुन्थे आफ्नो कमजोरी खोज्थे। मेहनत र पढाइमा कुनै पनि कमजोरी उनी भेट्दैनथिए। उनी भन्छन् ‘हरेक वर्ष असफल हुँदा आफ्नो कमजोरी खोज्थेँ तर मेहनत र पढाइमा कुनै कजोरी पाउँथेनँ। परीक्षाको तीन घण्टाको समयमा मेरो कमजोरी रैछ भन्ने मैले पत्ता लगाए र यो वर्ष टेक्निकल्ली क्र्याक गरेँ। जे होस् यसपाली नाम निस्कियो। आफ्नो नजरबाट आफूँ उठेँ।’

‘अरुले कति मेहनत गर्छन थाहा छैन् तर मैले दिनमा २० घण्टा पढेको इतिहास छ’, शिक्षा प्रणालीमाथि उनी प्रश्न गर्छन्, ‘खाली कक्षा चढ्नु मात्रै र पास हुनुको मात्रै अस्तित्व रहेछ यहाँ, त्यो मिहिनतको मूल्य खै?’

हरेकपटकको फेलमा डुबुल्की लगाउँदै यतिका वर्षसम्म एउटै जिदमा उभिरहनुलाई उनी आफूभित्र पास हुनका लागि बताउँछन्। गौरवका साथ उनी भन्छन्, 'मैले अहिलेसम्मको मेहनतको फल नपाउँदा अरुको नजरमा उठ्न सक्थेँ सक्दिनथेँ त्यो मलाई थाहा छैन। तर म आफ्नो नजरमा उठ्न सक्थेनँ।'

सरकारी माध्यममा पढेका उनी जब विज्ञान पढ्न अँग्रेजी माध्यममा पुगे त्यहीबेलाका कठिनताले नै आफूले मेहनत गर्न सिकेको बताउँछन्। 'सरकारीबाट पढेको एउटा विद्यार्थिले अंग्रेजीमाध्यममा विज्ञान पढ्न जति मेहनत गरेँ त्यसैले मलाई चिकित्सा पढ्नमा हौसायो। सरकारी र निजी विद्यालबीचको ग्याप फुलफिल गर्न मैले जुन मेहनत गरेँ त्यसले नै यहाँसम्म पुर्‍यायो।'

आफ्नो आत्मबल कहिल्यै कमजोर नभएको जश उनी डा. नवीन शर्मालाई दिन्छन्। मध्यमवर्गीय परिवारमा जन्मेका उनलाई सुरुमा डा. शर्माले नेममा निशुल्क तयारी कक्षा पढ्ने वातावरण मिलाइदिएका थिए। भन्छन् 'मेरो भित्रि जोश र सपना एउटा थियो तर मलाई उहाँले कहिले पनि कमजोर हुन दिनु भएन। जहिलेसम्म नाम निस्कँदैन त्यो समयसम्म पढिरहनु पर्छ भनेर हौसला दिरहनुभयो।'

डा शर्माको त्यही प्रेरणाले जतिपटक असफल भए पनि प्रयास नछाडेको उनी बताउँछन्।

०००

उसो त यो यात्रा उनका लागि त्यति सहज भने थिएन। उमेर बढ्दै जाँदा घर परिवारको जिम्मेवारी पनि उनको टाउकोमा थपिँदै गएको थियो। परिवारले अन्य पेशा गरेर जीविकोपार्जन गर्न दबाब नदिएको होइन। तर उनले एमबीबीएसको विकल्प देखेनन्।

‘एमबीबीएसमा नाम ननिकाली मर्दिनँ सोचिसकेको थिएँ’, उनी भन्छन् ‘मेरा लागि यसको कुनै विकल्प थिएन।’

नाम निस्किएपछि उनी फुर्किएका भने छैनन्। आफूले त्यस्तो नयाँ काम केही नगरेको उनी बताउँछन्। बरु आफ्नो मेहनतले न्याय पाएकोमा भने उनी खुसी छन्।

डाक्टरी पढेर कुन क्षेत्रमा विज्ञता हाँसिल गर्ने भन्नेबारे भने उनले अहिले सोच बनाएका छैनन्। १७ वर्ष लामो संघर्षले केही थकितथकित झैँ उनी  सक्दो मेहनत गर्ने र जहाँसम्म पुगिन्छ त्यहीँसम्म गर्ने आफ्नो इच्छा भएको बताउँछन् । 

‘१७ वर्ष सम्म लिएको एउटा पागलपनले सार्थकता पाएको छ। अब यस्तो पागलपन लिदिनँ, जहाँसम्म पुगिन्छ पुगिन्छ’, उनी भन्छन्, ‘सक्दो मेहनत गर्छु तर अब पहिलाको जस्तो गर्दिनँ।’

आफूले गरेको मेहनतको मूल्य आफैसँग खोजेको बताउने उनले त्यो प्राप्त गरेको बताउँछन्।

अहिले सबैतिरबाट प्रशंसा पाइरहेका उनी भन्छन्, ‘१७ वर्षसम्म अरुको कुरा नसुनेर एकैबाटो हिँडेको गलत रैनरहेछ भन्ने लागेको छ।’ 

अनेक उतारचढावपछि डाक्टरी पढ्न नाम निकालेका उनलाई यी बितिगएका समयको त्यति मतलब भने छैन। कतै ढिलो भयो कि भन्ने पनि उनलाई लागेको छैन।

भन्छन्, ‘उमेर भनेको एउटा संख्या हो। टाइम लेस र गेन हुने फ्याक्टर होइन केही फरक पर्दैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .