ad ad

समाज


जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउन आवश्यक : आरजु

जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउन आवश्यक : आरजु

नेपालखबर
चैत ९, २०७९ बिहिबार १९:२०, काठमाडौँ

वातावरणीय प्रभावका असरहरु नेपालमा द्रुतगतिमा देखिन थालेको भन्दै विज्ञहरुले सरकार र निजी क्षेत्रले यसको नियन्त्रणमा हातेमालो गरेर अघि बढ्नु पर्ने बताएका छन्।

प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाको सचिवालयले विहिबार राजधानीमा आयोजना गरेको ‘जलवायु परिवर्तनः प्रभाव र विश्वव्यापी प्रतिक्रियाहरु’ सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै यस क्षेत्रका विज्ञहरुले वातावरण प्रभावको रोकथाममा चनाखो हुनुपर्ने समय आएको बताएका हुन्।

कार्यक्रममा बोल्दै देउवाले जलवायु परिवर्तनको मुद्दा तत्काल सम्बोधन गर्नुपर्ने मुद्दा भएको बताउँदै तत्काल अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउनु पर्ने बताइन्।

उनले जलवायु परिवर्तनमा नेपालको विधिहरु वातावरणमैत्री नै भएपनि अझै धेरै काम भने गर्न बाँकी रहेको बताइन्।

उनले भनिन्, ‘हामी जलविद्युतमा उदाहरणीय छौँ’, जलवायु परिवर्तनका बारेमा सार्वजनिक सचेतना फैलाउने काम हामीले तत्काल सुरु गर्नुपर्ने छ। यसका लागि राजनीतिक दल, संचार माध्याम लगायत सबैले हातेमालो गरेर अघि बढ्नु पर्छ।’

डा. देउवाले हामीले खानपिन, यातायात र विकासको मोडल लगायतका क्षेत्रमा तत्काल सुधार गरेर वातावरणमैत्री बनाउन पहल गर्नुपर्ने बताइन्।

‘वातावरण र वन मन्त्रालय मात्रै होइन, सबै मन्त्रालयले वातावरणमैत्री नीति अवलम्वन गर्नुपर्छ’, ‘तपाईंहरु सबै सांसदज्यूहरुलाई म अनुरोध गर्न चाहान्छु, स्थानीय र प्रदेश सरकारले जलवायु परिवर्तनका क्षेत्रमा के काम गरिरहेको छ? त्यसमा हामीले वाचडकको काम गरौं।’

वातावरणविद् डा. माधव कार्कीले जलवायु परिवर्तनको पछिल्लो विश्व रिर्पाटले धेरै सचेत हुनुपर्ने सन्देश दिएको बताएका थिए।

‘पेरिस सम्झौताले अनुमान गरेकोभन्दा धेरै छिटो विश्वको तापक्रम बढेको छ। यसले धेरै ठूलो असर गर्न सक्ने अनुमान वैज्ञानिकहरुले गरेका छन्,’ वातावरणविद् डा. माधव कार्कीले भने, ‘हिमालयको परिवर्तन बढ्दै गएको छ, यसले हाम्रा हिम नदीहरु सुक्दै जाने र जलविद्युत परियोजनामा पनि असर पुग्न सक्छ।’

उनले सरकारले तत्काल यसका असरहरु कम गर्नेगरी काम अघि बढाउनु पर्ने बताए।

‘काठमाडौं विश्वकै प्रदुषित सहरको रुपमा विभिन्न प्रतिवेदनमा उल्लेख भएको छ’, डा. कार्कीले भने, ‘यसको मुख्य कारण काठमाडौं उपत्यकामा सवारी साधनहरुले फाल्ने कालो कार्वन र मिथेनले हो, त्यसैले ग्रिन इनर्जितर्फ जानु पर्छ।’

डा. कार्कीले ईपीसीसीको भर्खर सार्वजनिक भएको रिपोर्टले पेरिस सम्झौताले अनुमान गरेकोभन्दा निकै द्रुतगतिमा विश्वको तापक्रम बढेको देखाएको बताउँदै नेपालले पनि त्यसका आधारमा वातावरणीय प्रभावका क्षेत्रमा काम गर्नु पर्ने बताए। उनले सरकार र निजी क्षेत्रको साझेदारीमा वातावरणीय प्रभावका रणनीति र कार्यक्रमहरु अघि बढाउनु पर्ने पनि बताए।

रुढुक नेपालका राष्ट्रिय निर्देशक डा. कृष्णकुमार श्रेष्ठले नेपालमा वातावरणका जोखिहरुका विषयमा धारणा राखेका थिए।

‘अनियमित पानी पर्ने, दिउँसोको तापमान बढ्दो र रातिको तापमान घट्दो छ। यसले कृषि उत्पादनमा असर गरेको छ’, श्रेष्ठले भने, ‘नदीमा मात्रै नभई जमिन मुनिको पानीको तह पनि गहिरिँदै गएको छ।’

रुढुकले प्रकोपको पूर्वतयारी मार्फत जलवायु परिवर्तनका प्रभावहरुसँग लड्ने परियोजना सुदूरपश्चिको महाकालीमा गरिरहेको बारेमा पनि जानकारी गराएका थिए ।

डेनमार्गका पूर्वउपसभामुख रासमस हेल्भेग पिटर्सनले डेनमार्कले वातावरण प्रदुषण र कार्वन घटाउन धेरै विधिहरु लागू गरेको बताए।

उनले भने, ‘वातावरणीय प्रभावका चुनौतीहरु हामीले सामना गर्नै पर्छ। त्यसका लागि वातावरणमा असर गरेका हाम्रो व्यवहार र विधिहरु परिवर्तन गर्नुपर्छ, यसमा डेनमार्कले केही उदाहरणीय काम गरेको छ।’

उनले डेनमार्कले फोहोरलाई उर्जामा रुपान्तरण गर्ने र कार्वन उत्सर्जनलाई ५० प्रतिशतसम्म घटाएको पनि बताए। उनले डेनमार्कले सुरु गरेको वातावरणीय प्रभाव घटाउने विधिहरु नेपालले पनि अवलम्वन गर्न सक्ने सुझाव दिएका थिए।

नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले ठूला मुलुकले उत्सर्गन गर्ने कार्वनले नेपाल जस्ता साना मुलुकले समस्या भोग्नु परेको बताइन्।

‘नेपालको संविधानका वातावरण प्रभावका विषयहरु उठान डा. आरजु राणा देउवाकै नेतृत्वमा सम्भव भएको हो’, उपाध्यायले भनिन्, ‘हाम्रा सेता हिमालहरु कालो हिामालमा परिवर्तन हुँदै जान थालेका छन्, त्यसैले पनि हामी वातावरण परिवर्तन रोक्ने विधिहरु लागू गर्न सबै पक्ष सजग हुनुपर्छ।’

उनले केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारको हातेमालोबाट जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिने बताइन्।

कार्यक्रममा प्रतिनिधि सभ सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र वातावरण क्षेत्रका विज्ञहरुको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .