ad ad

समाज


उकालो लाग्दै कोरोना संक्रमण, विज्ञ भन्छन्– बुस्टर डोज लगाइहाल्नूस्

उकालो लाग्दै कोरोना संक्रमण, विज्ञ भन्छन्– बुस्टर डोज लगाइहाल्नूस्

समृद्धा केसी
बैशाख १३, २०८० बुधबार १२:२, काठमाडौँ

नेपालमा १५ चैतदेखि कोरोना भाइरसको संक्रमण उकालो लाग्दै गएको देखिन्छ। शून्यमा झरेको संक्रमण दर अहिले १ दशमलव २ मा पुगेको छ। 

संक्रमितको संख्या बढेसँगै भाइरसविरुद्ध खोपको बुस्टर डोज (अतिरिक्त मात्रा)  लगाउनेको संख्या पनि बढ्दै गइरहेको छ। 

अहिले भारत र नेपालमा ओमिक्रोनका प्रजाति मिलेर बनेको नयाँ हाइब्रेट एक्सबीबी १.१६ संक्रमण बढिरहेको छ। ओमिक्रोनका लागि फाइजर ‘बाइभ्यालेन्ट’ खोप प्रभावकारी मानिने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही खोप लगाउन निर्देशन दिएको छ। 

चिकित्सकका अनुसार पूर्ण मात्रा (पहिलो र दोस्रो डोज) खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउनुपर्छ। र, पहिलो बुस्टर लगाएको ६ महिनापछि दोस्रो बुस्टर डोज लगाउनुपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। 

‘कोरोना भाइरसले निम्त्याउन सक्ने जटिलताबाट बच्न त्यसविरुद्धको खोप लगाउनपर्छ’, डा. अधिकारीले भने, ‘त्यसैले संक्रमणको जोखिमबाट जोगिन बुस्टर डोज लगाइहाल्नुपर्छ।’

बढ्दै खोप लगाउनेको संख्या 
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि भाइरसविरुद्ध खोपको बुस्टर डोज लगाउनेको संख्या पनि बढिरहेको छ। 

‘कोभिड–१९ हटलाइन ११३३ र १११५ मा पछिल्लो समय खोपका बारेमा धेरै कल आइरहेका छन्’, डा. अधिकारीले भने, ‘खोपको माग बढिरहेको छ। कलमा स्थानीय तहमा कहाँ खोप पाइन्छ? कुन खोप लगाउने हो भनेर प्रश्न आइरहन्छन्।’

परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले पनि संक्रमितको संख्या बढेपछि बुस्टर डोज लगाउनेको संख्या पनि बिस्तारै बढ्दै गएको बताए। 

प्रदेश, जिल्ला र पालिकाहरूले दैनिक खोपको माग बढाउँदै लगिरहेको डा. गौतम बताउँछन्। 

‘अहिले सबै पालिकाहरूले थोरै भए पनि खोपको माग गरिरहेका छन्’, उनले भने, ‘तर थोरैथोरै ढुवानी गर्दा समस्या पर्ने भएकाले एकैपटक प्रदेशमा पुर्‍याइदिने भनेका छौँ।’

महाशाखा प्रमुख डा. गौतमका अनुसार हाल देशभर दैनिक २० देखि ३० हजारसम्म जनाले खोप लगाउने गरेका छन्। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा पनि एक महिना पहिला एक दिनमा सय जनाले खोप लगाउँथे भने २० दिनयता ५ सयभन्दा बढी जनाले खोप लगाइरहेको अस्पतालका सूचना अधिकारी भक्तबहादुर खड्काले जानकारी दिए। 

हाल काठमाडौँ जिल्लाका सातवटा स्थानबाट खोप लगाउने क्रम जारी छ। 

‘स्टक’ खोप कति छ? 
खरिद र अनुदान गरेर नेपालमा हालसम्म कोरोनाविरुद्धका खोप ६ करोड ६२ लाख ८० हजार ५५० डोज आइसकेको स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए। 

डा. चौरसियाका अनुसार फाइजर ‘बाइभ्यालेन्ट’ खोप बुस्टरका रूपमा प्रदेश र स्थानीय तहहरूमा पठाइएको छ। देशभर अब ९ लाख खोप ‘स्टक’ छन्।   

‘कोभ्याक्स सुविधामार्फत ल्याइएका ३० लाख ‘बाइभ्यालेन्ट’ खोपमध्ये प्रदेश र हामीसँग (केन्द्रीय स्टोरमा) सात लाख र जिल्लाहरूमा दुई लाख खोप छन्’, उनले भने, ‘खोप कभरेज राम्रै भइरहेको छ। हामीसँग भएका खोप जिल्लाहरूमा पठाउने तयारीमा छौँ।’

बाँकी रहेका खोप सकिन लाग्यो भने अरू खोप ल्याउने पाइपलाइनमा रहेको उनले बताए। 

‘कोभ्याक्समार्फत १५ लाख खोप ल्याइहाल्ने भनिएको छ’, उनले भने, ‘खोपको माग  अझै बढ्यो भने हामी खोप दिनेलाई खबर गर्छौँ र एक महिनाभित्र खोप आइहाल्छ। आवश्यकताअनुसार खोप आइहाल्छ। अब खोपको अभाव हुँदैन।’

परिवार कल्याण महाशाखाको तथ्या‌कअनुसार हालसम्म नेपालको कूल जनसंख्यामध्ये ८३ प्रतिशत नागरिकले पहिलो मात्रा र ८४ प्रतिशत जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन्।  

त्यस्तै बुस्टर डोजको पहिलो मात्रा ३३ प्रतिशत र दोस्रो मात्रा २ प्रतिशत जनाले लगाएको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .