ad ad

समाज


देशभर पानी पर्ने, तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

तराईमा हावाहुरीको पनि सम्भावना
देशभर पानी पर्ने, तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
जेठ १०, २०८० बुधबार ७:३२, काठमाडौँ

आज (बुधबार) बिहानैदेखि देशभरको मौसम बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशमा पनि एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो। 

‘देशको पश्चिमी क्षेत्रबाट पश्चिमी न्यून चापीय प्रणाली (वर्षा गराउने मौसमी प्रणाली) छिरेको छ र यो क्रमश: पूर्व सर्ने क्रममा छ’, मौसमविद् अधिकारीले भने, ‘त्यसैले आज देशभरजसो नै पानी पर्ने सम्भावना छ भने केही स्थानमा भारी वर्षा पनि हुने सम्भावना देखिएको छ।’

उनका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षा हुने सम्भावना छ।

‘आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ’, उनले भने, ‘तर यहाँ हल्कादेखि मध्यमसम्मको वर्षा हुने देखिएको छ।’

मौसमविद्का अनुसार १० मिलिमिटरसम्म पानी पर्नुलाई हल्का वर्षा, १० देखि माथि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम र ५० देखि सय मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ। 

यस्तै आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशका तराईमा हावाहुरीको पनि सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए।

मौसमविद् अधिकारीका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम भोलि (बिहीबार) सम्म यस्तै रहने सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाले वर्षासँगै चट्याङ तथा हावाहुरीबाट हुने जोखिम/क्षतिबाट बच्नका लागि सतर्कता अपनाउन सुझाव दिएको छ।

गर्मी घट्ने
मौसमविद् अधिकारीका अनुसार मौसम बदली र वर्षासँगै देशभर केही दिन तापक्रम कम भई गर्मी घट्ने सम्भावना देखिएको छ। 

‘खासगरी पश्चिमी तराईमा तापक्रम निकै बढेको थियो’, उनले भने, ‘मौसम बदली र वर्षा सुरु भएकाले अब तापक्रम घट्नेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .