ad ad

समाज


सरकारसँग चारबुँदे सहमतिपछि बिनु यादवले तोडिन् अनशन, गृहमन्त्री श्रेष्ठले पिलाए जुस

सरकारसँग चारबुँदे सहमतिपछि बिनु यादवले तोडिन् अनशन, गृहमन्त्री श्रेष्ठले पिलाए जुस

बिनु यादवलाई जुस पिलाउँदै गृहमन्त्री श्रेष्ठ। तस्बिर : रासस


नेपालखबर
जेठ ११, २०८० बिहिबार ६:१९, काठमाडौँ

पन्ध्र दिनदेखि अनशनरत बिनु यादव र सरकार पक्षबीच चारबुँदे सहमति भएको छ। योसँगै यादवले अनशन तोडेकी छन्। 

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले यादवको माग सम्बोधनका लागि आश्वासन दिएपछि बुधबार जुस पिलाएर यादवको सत्याग्रह तोडिएको हो।

बिनु यादवको सत्याग्रहका मागमध्ये आफूलाई पवन कठायतले जबर्जस्ती करणी उद्योग गरेको मुद्दाको निवेदनउपर कारबाहीका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय पठाउने सहमति भएको छ। 

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले सरकारले यादवको माग सम्बोधनका लागि सम्पूर्ण प्रयत्न गर्ने आश्वासन दिए। ‘कत्रोकत्रो केसको अनुसन्धान गरिरहेका छौँ भने यो केस अनुसन्धान गर्न सक्दैनौँ र’, उनले भने, ‘जहाँ अन्याय र पीडा छ त्यसलाई सम्बोधन गर्नुपर्छ भनेर हामी लागिरहेका छाैँ। तपाईंलाई हाम्रो सम्पूर्ण प्रयत्नका साथ न्याय दिन्छौँ।’ 

यादवले सहमतिअनुसार आफ्नो माग पूरा गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठसँग अनुरोध गरिन्। ‘सरकारसँग भएको सहमतिअनुसार मेरो माग पूरा नभए म आत्मदाहको बाटोसमेत रोज्नसक्छु’, उनले भनिन्। 

अदातलमा विचाराधीन विषय अदालतबाट न्यायिक निरुपण हुने, अन्य मागका सम्बन्धमा क्षेत्राधिकार रहेको सम्बन्धित निकायमा लेखी पठाउने, यादवको स्वास्थ्योपचार गर्ने र उनको जीविकोपार्जनका लागि आवश्यक सहयोग गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लेखी पठाउने सहमति भएको छ। 

यादव १५ दिनदेखि कालीमाटी प्रहरीलाई विसं २०७५ मा दिएको जबर्जस्ती करणीको उजुरी फिर्ता गर्न लगाउने तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीविरुद्ध कारबाही र अन्य विभिन्न पाँचबुँदे मागसहित माइतीघर मण्डलामा अनशनमा बसेकी थिइन्। उनले न्यायाधीश बद्रीप्रसाद ओली र यादवको काका ससुरा पवन कठायतलाई कारबाहीको माग गरेकी छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .