ad ad

समाज


शरणार्थी प्रकरण : अदालतमा केशव दुलाल र सागर राईको बयान

शरणार्थी प्रकरण : अदालतमा केशव दुलाल र सागर राईको बयान

फाइल तस्बिर


नेपालखबर
जेठ १२, २०८० शुक्रबार १७:२८, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १७ जनामध्ये शुक्रबार जिल्ला अदालत काठमाडौंमा दुईजनाले बयान दिएका छन्।

जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार मुद्दा पेश गरेपछि शुक्रबारदेखि अभियुक्तहरुसँग बयान थालिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार दिउँसो पक्राउ परेका १६ जना अभियुक्तलाई अदालतमा पेश गरेको थियो।

अदालतमा पेश गरिएकामध्ये जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा शुक्रबार सागर राई र केशव दुलालको बयान भएको हो। 

यी दुईजनाको बयान चल्दै गर्दा शुक्रबार दिउँसो प्रहरीले यी प्रकरणमा फरार सूचीमा रहेकी ललितपुरकी ३२ वर्षीया लक्ष्मी महर्जनलाई पक्राउ गरेको छ।

कांग्रेस कार्यकर्तासमेत रहेका केशवले यो प्रकरणमा एमालेका साधारण कार्यकर्तादेखि उच्च तहका नेतालाई पोलेका छन्। 

आफूबाट करोडौं रुपैयाँ लिएर एमाले उपाध्यक्ष बादल र अख्तियार प्रमुख प्रेमकुमार राईसहितले ठगी गरेको दाबी उनको बयानमा छ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयमा बयान भए पनि न्यायाधीशले इजलासमा पनि अलग्गै बयान लिन्छन्। 

शुक्रबारदेखि बयान सुरु भएकाले महर्जनसहित पक्राउ परेका १७ जनाकै बयान सक्न कम्तीमा एक साता लाग्न सक्छ। 

सबैको बयान सकिएपछि अभियुक्तहरुलाई थुनामा पठाउने कि बाहिर राख्ने भन्ने आदेश अदालतले दिने छ। पक्राउ परेकाहरु सबैको बयान सकेर थुनछेक आदेश आउने छ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३० जनालाई प्रतिवादी बनाइएको छ। ती मध्ये १७ जना हिरासतमा छन्। बाँकी १३ जना फरार छन्।

रायमाझी र खाँणसहित पूर्वसांसद आङटावा शेर्पा, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, गृहमन्त्रीका पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप रायमाझी, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ, सागर राई, रामशरण केसी, गोविन्द चौधरी र लक्ष्मी महर्जन पक्राउ परेका छन्।

अहिलेसम्म पूर्वगृहमन्त्री रामबाहदुर थापा बादलका छोरा प्रतीक र उनका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईका छोरा निरजसहित १३ जना फरार छन्।

उनीहरुविरुद्ध ठगी, लिखित कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा दायर गरिएको छ। एकीकृत कसुरमा थप सजायसमेत हुनेछ।

यो कसुरमा अदालतले थुनाबाहिर पठाउने आदेश गरे उनीहरुलाई सम्पत्ति शुद्धिकरण र भ्रष्टाचारको कसुरमा पक्राउ गरेर अनुसन्धान सुरु गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .