ad ad

समाज


अदालतमा प्रतिवादीको बहस : अभियोग नै दन्तेकथा जस्तो भयो, पुष्टि हुने कुनै प्रमाण छैन

अदालतमा प्रतिवादीको बहस : अभियोग नै दन्तेकथा जस्तो भयो, पुष्टि हुने कुनै प्रमाण छैन

फाइल तस्बिर


नेपालखबर
जेठ २४, २०८० बुधबार १४:४४, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा बुधबारदेखि प्रतिवादीहरुको तर्फका वकिलहरूले बहस थालेका छन्। 

आइतबारदेखि मंगलबारसम्म सरकारी वकिल र जाहेरवालातर्फका निजी वकिलले बहस सकेपछि प्रतिवादीतर्फका वकिलहरुले बुधबारदेखि प्रतिरक्षा बहस सुरु गरेका हुन्। 

बुधबार काठमाडौं जिल्ला अदालतमा सबैभन्दा पहिले यो प्रकरणमा बिचौलियाका रुपमा अभियोग लगाइएका केशव दुलालको तर्फबाट ६ जना वकिलले बहस गरेका छन्। 

दुलालको तर्फबाट ६ जनाले  बहस गरिसकेपछि अर्का बिचौलिया सानु भण्डारीको पक्षबाट एकजना वकिल विनोद शर्माले प्रतिरक्षा बहस गरेका छन्। 

केशव दुलाको बचाउ गर्दै विकास भट्टराई, विकास थापा, विश्वास आचार्य, योगेन्द्रबहादुर अधिकारी, नरबहादुर योगी र राजन भट्टराईले बहस गरेका छन्। 

बसहका क्रममा अधिवक्ता विकास भट्टराईले दुलाल आफैं पनि अमेरिका जाने भनेर ठगिएका व्यक्ति भएको जिकिर गरे। 

‘केशव दुलाल आफू पनि अमेरिका जान खोज्दा २५ लाख दिएका व्यक्ति हुन्। कानुनले नमानेको कुरामा जबरजस्ती व्याख्या गर्न मिल्दैन’, उनले बहसमा भने, ‘आफैँ अमेरिका जान खोजेका व्यक्ति भएकाले उनको ठग्ने मनासाय छैन।’ 

दुलासहित ३० जना अभियुक्तविरुद्ध यो प्रकरणमा संगठित अपराध मुद्दा चलाइएको विषयमा पनि भट्टराईले इजलासमा प्रश्न गरे। 

‘यदि यो मुद्दामा अभियोग लगाइ जस्तै आपराधिक समूह हुन् पहिले नै उक्त संगठनमा आवद्ध रहेको हुनुपर्छ’, उनले भने, ‘दुलालको अपराध कहीँबाट पुष्टि हुन सक्दैन। यदि इजलासलाई लाग्छ भने उनलाई सामान्य धरौटी लिएर छाडियोस्। नभए उनी साधारण तारेखमा छाड्नुपर्ने व्यक्ति हुन्। भागिजाने र प्रमाण नष्ट गर्ने अवस्था छैन।’

यो मुद्दामा दुलालको तर्फबाट बहस गरेका अर्का अधिवक्ता विकास थापाले अभियोग नै दन्तेकथा जस्तो रहेको टिप्पणी गरे।

‘दुलालजीलाई लगाइएको अभियोग नै दन्तेकथा जस्तो भयो, प्रमाण केही पनि छैन’, उनले जिकिर गर्दै भने, ‘मिडिया ट्रायल र चोक चोकमा भएको गफलाई अदालतले चिन्ने होइन।’ 

थापाले अहिलेको जमानामा बोराका बोरा पैसा बोकेर हिँड्ने कुरा कल्पनाबाहिरको भएको बताएका छन्।

‘अहिलेको जमानामा एक लाख बोकेर हिँड्न त गाह्रो छ। उहाँहरु बोराका बोरा पैसा लगियो भन्नु हुन्छ। जाहेरवाला पनि भुटानी शरणार्थी भइसकेका छैनन्’, उनले भने, ‘जाहेरवाला आफैँ नक्कली भुटानी शरणार्थी बनाइदेऊ भन्दै आएका हुन्। गैरकानुनी गतिविधि गराउन उनलाई उत्प्रेरित गरेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .