समाज


घटनास्थलमा ‘क्लु’ फेला नपर्दा जटिल बन्दै अनुसन्धान

सीआईबीले डीएसपीको कमाण्डमा पठायो टोली
घटनास्थलमा ‘क्लु’ फेला नपर्दा जटिल बन्दै अनुसन्धान

नेपालखबर
कात्तिक २०, २०८० सोमबार १२:५०, काठमाडौँ

मुगुमा एकै परिवारका चार जनाको हत्या भएको १३ दिन बित्दा पनि प्रहरीले कुनै क्लु फेला पार्न सकेको छैन। सुरुमा जिल्ला प्रहरी कार्यालय मुगु र प्रदेश प्रहरी कार्यालय कर्णालीले अनुसन्धान गरिरहेको यो घटनाको अनुसन्धान जटिल देखिएपछि प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) खटाएको छ।

अनुसन्धानका लागि सहयोग माग गर्दै प्रहरी प्रधान कार्यालयमा जिल्ला र प्रदेशले पत्र पठाएका थिए। त्यसपछि सीआईबीले प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्म भण्डारीको कमाण्डमा टोली पठाएको हो। टोली अहिले नेपालगञ्ज पुगेको छ। अब सीआईबीको टोलीले घटनास्थलदेखि अहिलेसम्मको अनुसन्धानलाई केलाउने छ।

कात्तिक ८ गते एकै परिवारका ४ जनाको बीभत्स हत्या भएको थियो। मुगुको छायानाथरारा नगरपालिका–६, मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, ८ वर्षीया छोरी अप्सरा र ८ महिनाका रहरको हत्या भएको थियो।

घटना भएको दुई दिनपछि मात्रै स्थानीयले थाहा पाएका थिए। ८ गते हत्या गरिएका उनीहरूको शव १० गते प्रहरीले फेला पारेको थियो।

१० गते नै जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाको नेतृत्वमा टोली खटिएको थियो। भोलिपल्ट ११ गते प्रदेश प्रहरी कार्यालय कर्णालीबाट कुकुरसहितको टोली अनुसन्धानका लागि लगिएको थियो। तर कुकुरले पनि कुनै क्लु दिन सकेन।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकाल पनि कात्तिक १२ गते घटनास्थल पुगेका थिए। उनले समेत घटनास्थल हेरिसकेपछि केन्द्रबाट अनुसन्धानमा सहयोग मागिएको हो।

यसबीचमा प्रहरीले शंका लागेका व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ। तर त्यसबाट पनि कुनै क्लु मिल्न नसकेको अनुसन्धानमा संलग्न अधिकारीले बताए।

डीआईजी भीम ढकालले पनि घटनाको अनुसन्धान भइरहेको र अहिलेसम्म केही भन्न सकिने अवस्थामा नपुगेको बताए।

‘घटनाको जानकारी आएदेखि नै हामी गम्भीर रूपमा अनुसन्धान गरिरहेका छौँ। यसमा सबै कोणबाट अनुसन्धान भइरहेको छ। तर अहिले केही भन्न सक्ने अवस्था छैन’, ढकालले सोमबार बिहान नेपालखबरसँग कुरा गर्दै भने।

मृतक श्रीदेवीका श्रीमान् भने घटना हुँदा घरमा थिएनन्। रोजगारीका लागि कतारमा रहेका दीपक बोहोरा कात्तिक ११ गते नेपाल आएका थिए।

उनी पुगेपछि चारै जनाको शव उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो।

सुरुमा दीपकले हत्यारा पत्ता नलागेसम्म शव बुझ्न नमान्दा पोष्टमार्टम हुन सकेको थिएन। पछि प्रहरीले उनलाई सम्झाइबुझाइ गर्दै हत्यारा पत्ता लगाउन लागिरहेको बताएपछि दीपकले शव बुझेर दाहसंस्कार गरेका थिए।

तर, हत्या भएको केही दिनपछि मात्रै थाहा पाउनु र हत्याराले घटनास्थलमा कुनै क्लु नछाड्दा प्रहरीलाई अनुसन्धानमा सकस परेको अनुसन्धानमा संलग्न बताउँछन्।

‘प्रायः यस्तो घटनामा कुनै न कुनै क्लु फेला पर्छ। यो घटनामा त्यस्तो केही फेला पर्न सकेको छैन। जटिल देखिएको छ तर ढिलो चाँडो पत्ता लगाउँछौं’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .