समाज


भूकम्पपीडित चिउरीवासी भन्छन्- जमिन नै चिराचिरा परेको छ, बस्ती सुरक्षित ठाउँमा सार्नुपर्छ

भूकम्पपीडित चिउरीवासी भन्छन्- जमिन नै चिराचिरा परेको छ, बस्ती सुरक्षित ठाउँमा सार्नुपर्छ

गत कात्तिक १७ गते रातिको भूकम्पले जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १, चिउरी गाउँमा भत्किएको घर।


नेपालखबर
मंसिर ७, २०८० बिहिबार १९:५४, जाजरकोट

कात्तिक १७ गतेको भूकम्पले क्षति पुर्‍याएको जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १, चिउरीका बासिन्दाले बस्ती नै अन्य सुरक्षित स्थानमा सारिदिन आग्रह गरेका छन्। 

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा चिउरी गाउँमा मात्रै १३ जनाको मृत्यु भएको थियो। अधिकांश दलितको बसोबास रहेको चिउरी, एउटै गाउँमा सबैभन्दा बढी मानवीय क्षति भएको गाउँ पनि हो। 

भूकम्पका कारण यहाँ सबैजसो घर काम नलाग्नेगरी भत्किएका छन्। स्थानीयका अनुसार भूकम्पले जमिन पनि चिराचिरा परेकाले बस्ती नै सार्नुपर्ने अवस्था छ। 

स्थानीय कमला विकको १ वर्षअघि मात्र बनाएको घर भूकम्पले पूर्ण रूपमा ध्वस्त भएको छ भने भोगचलन गर्ने गरिएको जमिनसमेत ठाउँ ठाउँमा चिरा परेको छ। उनी भन्छिन्, ‘१ वर्षअघि ऋण गरेर बनाएको घर त ढल्यो नै, घर बनाउने जग्गासमेत चिरा परेको छ, अब हामी कहाँ बस्नु!’

कमलाले चिउरीमा बस्ने अवस्था नरहेकाले बस्ती नै सार्दिन आग्रह गरिन्।   भूकम्पले भत्किएका संरचनाहरूको भग्नावशेष हटाउन र पीडितहरूका लागि अस्थायी टहरा निर्माण गर्न चिउरीगाउँ पुगेका एमालेका स्वयंसेवकहरूसँग उनले बस्ती नै सारिदिन माग गरेकी हुन्। 

एमालेको केन्द्रीय विपद् व्यवस्थापन विभागका प्रमुख किरण पौडेलको नेतृत्वमा पुगेको टोलीसँग अर्का स्थानीय लालसरी विकले भनिन, ‘भूकम्पले जमिन फाट्यो, अब यहाँ बस्न नै गाह्रो भयो। हामीलाई कतै सुरक्षित ठाउँमा सारिदिन पर्‍यो।’ 

पीडितहरूलाई सान्त्वना दिँदै पौडेल नेतृत्वको एमाले टोलीले जोखिममा रहेका बस्ती सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायसँग समन्वय गर्ने आश्वासन दिएको छ। 

यसरी बाँच्न सफल भयो कमलाको परिवार
कात्तिक १७ गते राति आफ्नै घरमा मस्त निद्रामा थिइन् कमला विक। निदाएकै बेला राति ११ः४७ बजे उनीमाथि सिंगो घर खस्यो।कमलासँगै सुतेका ६ जनामाथि घरको छानो बजारियो।

घरको धुरबलो उनीहरूमाथि अडियो, जसका कारण कसैको शरीरमा ढुंगामाटोले लाग्न पाएन। उनीहरूलाई सामान्य चोट मात्र लाग्यो। 

भूकम्प रोकिएपछि भत्किएको घरले पुरिएकी कमला सानो प्वाल पारेर पहिले आफू बाहिर निस्किन् र निस्केपछि अन्य ४ जनालाई पनि त्यसैगरी बाहिर निकाल्न सफन भइन्। 

तर आफ्नो घरमा पाहुना आएका ३ वर्षका भतिजोलाई निकाल्न सकिनन्। भतिजोको खुट्टा त्यही धुरबलोले चापिएकाले आफू एक्लैले निकाल्न नसकेको उनी बताउँछिन्। 

‘हामी ५ जना बाहिर निस्केपछि भतिजोलाई निकाल्न खोजेँ‘, कमलाले सुनाइन्, ‘उसको खुट्टा धुरबलोले च्यापिएकाले एक्लै बलो उठाएर निकाल्न सकिनँ। चिच्याएपछि गाउँले आएर भतिजोलाई निकाल्न सफल भयौँ।’

भूकम्पबाट कमलाको परिवारमा कसैको ज्यान त गएन तर न बस्ने घर छ न नयाँ बनाउन सुरक्षित जमिन नै। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .