समाज


मध्यराति ६ वर्षकी छोरी छिमेकीलाई जिम्मा लगाएको परिवार बिहानै मृत फेला

मध्यराति ६ वर्षकी छोरी छिमेकीलाई जिम्मा लगाएको परिवार बिहानै मृत फेला

नेपालखबर
मंसिर ७, २०८० बिहिबार २२:१२, काठमाडौँ

धनकुटाको निगालेका टिकाराम गुरुङले मध्यराति ६ वर्षकी छोरी छिमेकीकोमा पुर्‍याए। राति पौने १ बजेतिर सोही घरको अर्को कोठामा डेरा बस्ने महिलाकोमा लगेर टिकारामले भनेका थिए, ‘बाहिर जानु पर्ने भयो, छोरी सुताइदिनुस्।’

त्यसपछि उनले ६ वर्षकी छोरीलाई ती महिलाको कोठामा छाडिदिए। ती महिलाले उनकी छोरीलाई आफूसँग सुताइन्। 

यसअघि पनि गुरुङ परिवार बाहिर हिँड्दा उनैकोमा लगेर छोरी राख्थे। ती महिलाले प्रहरीलाई दिएको जानकारी अनुसार गुरुङ परिवारमा पटक पटक झगडा भइरहन्थ्यो।

तर बुधबार राति भने त्यस्तो झगडा केही पनि सुनिएको थिएन।

तर बिहीबार बिहान ६ वर्षकी छोरी उठेर आफ्नो कोठामा गइन्। उनले आमा र दाजु खाटमा सुतिरहेको देखिन्।

बुबा कोठामा झुण्डिएका थिए। टिनको टहरोको एकापट्टी गुरुङ परिवार र अर्कोतर्फ अरु नै डेरामा बस्थे। 

ती नाबालिका गएर आमा र दाजुलाई बोलाइन्। बोल्दै बोलेनन्। त्यसपछि अर्को कोठाकी महिलाकोमा पुगेर आमा र दाजु सुतिरहेको आफूले जति बोलाउँदा पनि बोल्दै नबोलेको सुनाइन्। 

लगत्तै अर्को कोठामा रहेकी महिला पुगेर हेर्दा ओछ्यानमै दुई जना मृत भेटिए। टीकारामकी श्रीमती ३६ वर्षीया भीमा गुरुङ र १० वर्षका छोरा आयुष गुरुङको शरीरमा कुनै चोट देखिँदैनथ्यो।

घरमुली ३५ वर्षीय टीकाराम गुरुङ झुण्डिएको अवस्थामा मृत फेला परे। 

त्यसपछि गाउँमा हल्लाखल्ला भयो। गाउँले जम्मा भएर हेरेपछि प्रहरीलाई खबर गरे। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाको नेतृत्वमा टोली पुग्यो। 

घटनास्थल हेर्दा टीकारामले श्रीमती र छोराको हत्या गरेर आफूले आत्महत्या गरेको देखिने एसपी कोइरालाले बताए।

‘घटनास्थलको प्रारम्भिक अनुसन्धानले टीकारामले श्रीमती र छोराको हत्या गरेर पछि आफूले आत्महत्या गरेको हाम्रो अनुमान छ। तीन जनाकै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको छ। पोष्टमार्टम हुँदैछ, अन्य कारण भए थाहा होला’, एसपी कोइरालाले घटनास्थलबाट फर्किएपछि नेपालखबरसँग भने। 

टीकारामले अत्याधिक रक्सी पिउने र परिवारमा झगडा हुने गरेको खुलेको छ।

प्रहरीका अनुसार यसअघि पनि सोही कारण यो परिवारमा पटक पटक झगडा हुने गरेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .