क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको तयारी भएको छ। बहस सकिएपछि फैसला लेखनलाई अन्तिम रुप दिने काम भइरहेको छ।
यही आइतबारदेखि जारी सुनुवाइका क्रममा दुवै पक्षको बहस सकिएसँगै काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिराज ढकालले फैसला सुनाउन लागेका हुन्।
त्यसअघि उनले इजालसमै सन्दीप र गौशाला २६ बसेको भनिएको सिनामंगलको होटलको सीसीटीभी फुटेज हेरेका थिए।
सरकारी वकिलहरूले अन्तिममा जवाफी बहस गर्नुअघि वादी र प्रतिवादी दुवै पक्षलाई इजालसमै राखेर न्यायाधीश ढकालले होटलको सीसीटीभी फुटेज हेरेका थिए।
न्यायाधीश ढकालले इजलासमा प्रोजेक्टर जोडेर सिनामंगलस्थित घटना भएको भनिएको होटलको सीसीटीभी फुटेज हेरेका हुन्।
उनले सन्दीप र पीडित भनिएकी किशोरी गौशाला २६ उक्त होटलमा पसेको, सन्दीपले गाडी पार्किङ गरेको र गौशाला २६ रिसेप्सनबाट चाबी लिएर होटलको कोठाको ढोका खोलेर गएको दृश्य पनि त्यहाँ देखाइएको थियो।
त्यसैगरी गौशाला २६ ले सुरुमा पसेको कोठामा एसी बिग्रिएको भन्दै अर्को कोठामा गएको फुटेज पनि इजलासमा देखाइएको थियो।
त्यसपछि न्यायाधीश ढकालले घटना भएको भनिएको भोलिपल्ट बिहान चेकआउट भएर सन्दीप र गौशाला २६ गाडीमा सँगै जाँदासम्मको भिडिओ हेरिएको थियो।
त्यसअघि सरकारी वकिल सुरबहादुर परियारले अन्तिमको जवाफी बहस गरेका थिए। अन्तिममा किशोरीका निजी वकिलले बहस गरेका थिए। अब यो मुद्दामा न्यायाधीश ढकालले शुक्रबार नै फैसला सुनाउँदैछन्।
यसअघि शुक्रबार नै सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ र अधिवक्ता सरोजकृष्ण घिमिरेले बहस गरेका थिए।
२०७९ भदौ ५ गते राति सन्दीपले आफूलाई सिनामंगलको एक होटलमा बलात्कार गरेको भन्दै ती किशोरीले जाहेरी दिएकी थिइन्।
Shares
प्रतिक्रिया