समाज


गोठाटारका युवा व्यवसायीको शंकास्पद मृत्यु, घटनाअघि सँगै मदिरा पिउने चार साथी पक्राउ

गोठाटारका युवा व्यवसायीको शंकास्पद मृत्यु, घटनाअघि सँगै मदिरा पिउने चार साथी पक्राउ

नेपालखबर
माघ २१, २०८० आइतबार १७:४, काठमाडौँ

काठमाडौंको गोठाटारका एकजना युवा व्यवसायीको शंकास्पद मृत्युलाई लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

गोठाटारमा मृत भेटिएका ३३ वर्षीय दिलिप कट्टेलको प्रकरणमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।

नयाँ बानेश्वर प्रहरी बृत्तका डीएसपी शिवराज बुढाथोकीका अनुसार घटना शंकास्पद देखिएपछि अनुसन्धान थालिएको छ।

'घटनाअघि कट्टेल र उनका चारजना साथीहरू बसेर मदिरा खाएको देखिन्छ', बुढाथोकीले नेपालखबरसँग भने, 'त्यसपछि कट्टेल एक्लै हिँड्दै गएको सीसीटीभी क्यामेरामा पनि देखिएको छ। तर, उनको साइकल झाडीमा कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।'

बुढाथोकीका अनुसार मदिरा पिएपछि कट्टेल सडकको छेउकुना गर्दै, लर्बरिँदै गएको सीसीटीभी फुटेजमा देखिएको छ।

घटना शंकास्पद देखिएपछि कट्टेलसँगै मदिरा पिउने चारजनालाई नियन्त्रणमा लिइएको बुढाथोकीले बताए। 

प्रहरीले नियन्त्रणमा लिएकाहरूमा घनश्याम धमला, राम कटवाल, विदुर धमला र डेकराज सुवेदी छन्। उनीहरूले प्रहरीसँग कट्टेलसँगै बसेर मदिरा पिएको स्वीकारेका छन्। तर मदिरा पिइसकेपछि कट्टेल एक्लै घर जान्छु भनेर हिँडेको बयान उनीहरूले प्रहरीलाई दिएका छन्।

उनीहरूमध्ये घनश्यामले साइकल आफूले फालेको स्वीकार गरेको प्रहरी वृत्त बानेश्वरका डीएसपी बुढाथोकीले जानकारी दिए। 

आफ्नो फार्ममा उत्पादित दूध बेचेर घर फर्किने क्रममा सम्पर्कविहीन भएका कट्टेललाई बिहीवार मध्यरात प्रहरीले बेहोस अवस्थामा उद्धार गरेको थियो।

त्यसपछि उपचारका लागि वीर अस्पताल भर्ना गरिएका कट्टेललाई शुक्रबार बिहान चिकित्सकले मृत घोषणा गरेका थिए। 

प्रहरी नियन्त्रणमा रहेका घनश्यामसँग कट्टेलको लेनदेनको कारोबारसमेत रहेको खुल्न आएको छ। तर उनले साइकल किन झाडीमा फ्याकेभन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चारैजना युवाहरू अहिले प्रहरी वृत्त नयाँबानेश्वरमा छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .