समाज


नेकपा माओवादीका नाममा पूर्वका शैक्षिक संस्थामा चन्दा आतंक, २ जना पक्राउ

नेकपा माओवादीका नाममा पूर्वका शैक्षिक संस्थामा चन्दा आतंक, २ जना पक्राउ

नेपालखबर
फागुन १, २०८० मंगलबार १६:१५, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा पूर्वका केही जिल्लाका शैक्षिक संस्थाहरुमा चन्दा माग गर्दै धम्की दिने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इलामको माम्सेबुङ गाँउपालिका १ गजुरमुखी घर भई हाल काठमाडौंस्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षका प्रविण मिश्र र पाँचथरको याङवरक गाउँपालिका १ बस्ने अन्दाजी ३० वर्षीय विपिन अधिकारी हुन्।

उनीहरुले विगत केही समयदेखि मोरङ लगायतका जिल्लामा रहेका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनका नाममा चन्दा माग गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

महासचिव महावीरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको लेटरप्याड प्रयोग गरी चन्दा माग गर्ने र नदिए ध्वांसात्मक कार्य समेत गर्ने धम्की दिएको प्रहरीले जनाएको छ।

चन्दा माग गरिरहेको सूचनापछि सादा पोसाकमा ब्यापक प्रहरी खटाइएको थियो। सीसीटीभी फुटेजका आधारमा धाकधम्की दिई जबरजस्ती चन्दा माग गर्ने समूहको पहिचान गरिएको र पक्राउ गरेको प्रहरीले जनाएको छ।

चन्दा अशुल गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो। उनीहरुले शैक्षिक संस्थाहरुलाई त्रसित बनाउन प्रेशर कुकरमा बम बनाई विराटनगर महानगरपालिका ३ स्थित घरेलु तथा साना उद्योग कार्यालय परिसर नजिकै राखेका थिए।

कार्यालयबाट २०० मीटर पश्चिममा रहेको खाली चौरमा प्रेसर कुकर बम जस्तो देखिने विष्फोटक पदार्थ राखेको भेटिएको थियो। उक्त वस्तु नेपाली सेनाको वम डिस्फोजल टोलीले मंगलबार बिहान डिस्पोज गरेको थियो।

कुकरभित्र रहेका वस्तु परीक्षणका लागि प्रयोगशालामा पठाइएको मोरङ प्रहरीले जनाएको छ।

प्रविण मिश्रको साथबाट प्रहरीले बिष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ ईन्च लम्बाई रहेको डेडकर्ड र विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सोडा बरामद भएको छ।

सहयोग रसिदको ठेली २ थान, खाली खाम ४ थान, आर्थिक सहयोग सम्बन्धी लेखिएको महावीर महासचिव भन्ने नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) लेखिएको पत्र ५ थान, मुक्ती नाथ प्रकासन गृहको प्रेस आईडी कार्ड, डायरी र मोबाइलहरू बरामद भएको छ।

विपिन अधिकारीले साथबाट काटिएको रसिदको ठेली एउटा र नकाटिएको सहयोग रसिद ठेली एउटा बरामद भएको छ।

आर्थिक सहयोग सम्बन्धी लेखिएको महावीर महासचिव भन्ने नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) लेखिएको पत्र ४ थान, मुक्तिनाथ प्रकासन गृहको प्रेस परिचयपत्र बरामद भएको छ।

डायरी थान १, नेपाल एसबीआई बैंकको चेकबुक १ थान, डिजिटल स्टाम्प १ थान तथा मोबाइल र सिम बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .