समाज


जसले जीवित पतिको मृत्यु दर्ता गरेर बुझिन् भत्ता, अहिले भयो ३ महिना जेल

जसले जीवित पतिको मृत्यु दर्ता गरेर बुझिन् भत्ता, अहिले भयो ३ महिना जेल

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०८० मंगलबार १८:२३, काठमाडौँ

जीवितै रहेका आफ्ना पतिको मृत्यु दर्ता गराएर एकला महिला भत्ता खाने एकजनालाई ३ महिना जेल सजाय भएको छ। 

रामेछापको मन्थली नगरपालिका-३ बस्ने रामबाबु खत्रीको मृत्यु दर्ता गराएर करिब १२ महिनासम्मको एकल महिला भत्ता खाएको प्रकरणमा निर्मला खत्री दोषी ठहर भएकी हुन्। 

उनलाई आफ्ना जीवित पतिलाई मृत्यु भएको भनी विवरण पेश गरी गलत लिखत बनाएर मृत्यु दर्ता गरी एकल महिला भत्ता खाएको प्रकरणमा दोषी ठहर गर्दै विशेषले ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो।

उता तत्कालीन वडासचिव शिवकुमार महतोलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ को कसुरमा सोही दफा बमोजिम ३ महिना कैद र १० हजार जरिवाना भएको छ। 

तत्कालीन वडा सचिव महतोले २०७८ साल भदौ २१ गते नै एकल महिला भत्ताको परिचयपत्र  त्यही दिनदेखि लागू हुनेगरि बनाइदिएका थिए। महतोले निर्मलालाई दिएको परिचय पत्रमा बुवाआमाको मात्र नाम खुलाएका थिए। त्यसमा पतिको नाम खुलाइएको थिएन।

आफ्नो मृत्यु दर्ता प्रमाणपत्र दर्ता गराएका खत्री जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला कारागार रामेछापमा कार्यरत थिए। 

पत्नीलाई एकल महिला भत्ता खुवाएको खुलेपछि कारबाही छल्न उनी जिल्ला कारागार सरुवा भएका थिए। त्यसको केही समयमै उनले राजीनामा दिए। कारबाहीको डरले चाँडै राजीनामा दिएको चर्चा त्यसबेलै चलेको थियो। 

मन्थली नगरपालिकाबाट निर्मलाले २०७९ माघ सम्म १५ महिनाको सामाजिक सुरक्षा भत्ता बुझेकी थिइन्। निर्मलाका पति जीवितै रहे पनि उनले एकल महिला भत्ता लिइरहेको तथ्य बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .