साइप्रसको लिमासोल सहरमा आफैँले काम गर्ने घरको कोठामा गत माघ ३ गते बुधवार दिउँसो साढे २ बजेतिर युनिशा तामाङलाई रोजगारदाताले मृत फेला पार्यो। मेलम्ची-७ सिन्धुपाल्चोक घर भएकी २७ वर्षीया तामाङ २ वर्षदेखि साइप्रसमा घरेलु कामदारका रूपमा काम गरिरहेकी थिइन्। शव पोस्टमार्टमबाट उनले आत्महत्या गरेको पुष्टि भएको नेपाली राजदूतावासका डा. राम जीवन पञ्जियारले जानकारी दिए।
कतार एयरवेजमार्फत उनको पार्थिव शरीर फागुन ६ गते आइतबार साइप्रसबाट नेपाल पठाइँदै छ। कतारको दोहा हुँदै शव नेपाल पुग्न दुई दिन लाग्नेछ। फागुन ८ गते मंगलबार बिहान १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पुगेपछि बल्ल आफन्तले शव बुझ्नेछन्। पोस्टमार्टम विवरण आउन ढिला भएको र प्रक्रिया पूरा गर्दागर्दै १ महिना लागेको डा. पञ्जियारले बताए।
अढाई महिनाअघि साइप्रसमै आत्महत्या गरेकी पवित्रा घर्तीमगरको शव नेपाल पठाउन पनि झन्डै डेढ महिना लागेको थियो।
युनिशाको मृत्यु रहस्यमय रहेको छिमेकी घरमा काम गर्ने अर्की बहिनीले सामाजिक सञ्जालमार्फत बताएकी छन्।
पवित्राले आत्महत्या गर्दा ‘बाआमाले कति दुःख गरेर पठाएका हामीलाई किन आत्महत्या गर्नुपर्यो’सम्म भनेकी युनिशाले आफैँ ज्यान फालिन् होली भनेर विश्वास गर्दिनन् उनी। तर पोस्टमार्टम रिपोर्टले आत्महत्या घोषित गरिसकेको छ।
पछिल्लो समय साइप्रसमा होटल, रेस्टुरेन्ट, कृषि र घरेलु कामदारको माग बढ्दो छ। नेपालबाट यहाँ आउन त्यति झन्झटलाग्दो पनि छैन, अन्य युरोपेली मुलुकभन्दा चाँडै भिसा लाग्छ।
दलाल कथित एजेन्टले मान्छे बेचेबापत राम्रै मूल्य प्राप्त गर्छन्। घरेलु कामदारका लागि यहाँको भाषा अनिवार्य जान्नुपर्ने हुन्छ, तर दलालले ढाँटछल गरेर दुईचार वाक्य बुझाएपछि पठाइएको पाइन्छ। घरका बूढाबूढी त्यति अंग्रेजी जान्दैनन् र आफ्नै भाषालाई पहिलो प्राथमिकता दिन्छन्।
कामदारलाई युरोप भनेपछि आहा! भइहाल्छ तर वास्तविकता अर्कै छ। सहमति भएको तलब पाउनै मुस्किल। तोकिएको काम र घण्टाभन्दा अधिक खटिनुपर्ने हुन्छ। नयाँ श्रमिकलाई यहाँको सरकारको नियम पनि थाहा हुँदैन।
उजुरी कहाँ गर्ने पत्तो हुँदैन। भन्ने दलाललाई हो, उसले नेपाल पठाइदिन्छ भनेर त्रास देखाइदिन्छ। चर्को ब्याजमा ऋण काढेर युरोप छिरेको व्यक्ति रित्तो हात घर फर्केर जाँदा हाम्रोजस्तो देखासिकी समाजले स्वीकार गर्न अप्ठ्यारो मान्छ। मृत्युपछि थकथक मान्ने मात्रै हो, जिउँदो हुँदासम्म प्वाकप्वाक भन्ने गर्छन्।
अन्य क्षेत्रभन्दा घरेलु कामदारमा आएका दिदीबहिनीलाई मानसिक तथा शारीरिक चाप बढी हुन्छ। ८ घण्टा काम गर्ने सम्झौता भए तापनि १४ घण्टासम्म खट्नुपरेको उनीहरू गुनासो गर्छन्।
हप्तामा एक दिन बिदा भने तापनि महिनामा बल्लबल्ल एकचाेटि बिदा पाइन्छ। जेलजस्तो जीवन। न खानाको परिकार मिल्छ न त भाषा बुझिन्छ। रोजगारदाता जहिल्यै रिसाएजस्ता- जति काम गरे पनि खुसी नहुने। ‘युरोपको नाउँमा कलंक, कुनै सुविधा छैन’ भन्दै धेरैले सामाजिक सञ्जालमा आक्रोश पोखेको देखिन्छ।
आफूसँगै आएका वा पछि आइपुगेका साथीबारे सोध्दाचाहिँ सोचेभन्दा राम्रो काम-दाम पाएको बताइन्छ र घरिघरि साइप्रसका विभिन्न ठाउँमा घुमेका तस्बिर देख्दा पनि वास्तविक पीडितहरूलाई निकै मर्म परेको हुन सक्छ। ‘मनमा पीडा भए पनि मुखमा हाँसो हुनुपर्छ’ भन्दै देखावटीपनमा रमाउन सिकाउने समुदाय छ। जो झुटो हाँस्न जान्दैनन् उनले पो आत्महत्याको बाटो रोज्छन् कि?
हाम्रो देशले मानिसलाई उपभोक्तावादी बनाएको छ। खाडी मुलुकलाई गन्दैनन्। युरोप, अमेरिका, जापान, अस्ट्रेलिया जान नसक्ने परिवारलाई उपेक्षा गरिन्छ।अन्तत: मानिस मानिसकै भीडमा पनि एक्लै हुन्छ। निजी सम्पत्ति जोड्न नसक्ने तिरस्कृत हुने र मृत्युको बाटो रोज्न बाध्य बनाउने स्थिति बन्नुमा कहीँ न कहीँ तपाईं हामी नै दोषी पो छौँ कि?
युरोप भन्नेबित्तिकै अलि विकसित मुलुक र शिक्षित मानिस बसोबास गर्ने ठाउँ भनेर बुझिन्छ। यो सत्य त हो, तर केही व्यक्तिमा लागु हुँदैन। घरेलु रोजगारदाताको चित्त बुझाउन नसक्दा र कामदारले इमिग्रेसनमा शिकायत दर्ता गर्दा चोरीको आरोप लगाई नेपाल पठाउने पनि गरेको पाइएको छ।
साइप्रसमा कतिसम्म भने कुनै बूढो मानिसले महिला कामदारलाई यौन हिंसाको प्रयास गर्न सक्छन्। चुप लागेर बसे ठिकै छ नत्र चोरीको झुटो आरोपमा प्रहरीलाई बुझाइदिने धम्की दिन्छन्। पैसा कमाएर नेपालमा ठूलो घर बनाउने र परिवारलाई खुसी पार्ने सपना बुन्दै साइप्रस छिरेका दिदीबहिनीहरूले मानसिक तथा शारीरिक यातनाका कारण आत्महत्याभन्दा अर्को विकल्प नदेख्ने गरेका हुन् कि?
थाहा पाउनुपर्ने मुख्य कुरोचाहिँ साइप्रस सरकारको नियमविपरीत रोजगारदाताले काम गराइरहेको छ र पारिश्रमिक पनि सहमतिअनुसार दिएको छैन भने इमिग्रेसनमा शिकायत दर्ता गरे यहाँको कानुनबमोजिम कारबाही हुन्छ।
यस्ता महत्त्वपूर्ण जानकारी नपाउँदा पीडा खेपिरहनुपरेको हुन सक्छ। त्यसैले हरेक कदम चाल्दा थाहा पाउन जरुरी हुन्छ। मूल कुरोचाहिँ भनेजस्तो काम नहुनु। सोचजस्तो तलब नपाउनु। देखासिकी समुदायमा घुल्न नसक्नु नै दुःखका कारण हुन्। सम्पत्ति कमाउन नसक्दा समाजले धिक्कार्ने त्रासले मृत्यु नै आखिरी उपाय ठानिएको हो कि?
तर, आत्महत्या समस्याको समाधान कदापि होइन।
Shares
प्रतिक्रिया