समाज


कसैले जरुरी पर्‍यो एकछिन मोबाइल दिनुस् न भन्दा दिने बानी छ? पढ्नुस् यो खबर

कसैले जरुरी पर्‍यो एकछिन मोबाइल दिनुस् न भन्दा दिने बानी छ? पढ्नुस् यो खबर

नेपालखबर
चैत १, २०८० बिहिबार १९:४३, भैरहवा (रुपन्देही)

माघ २९ गते पल्सर मोटरसाइकलमा आएका दुई युवकले अति आवश्यक परेको भन्दै एकछिनका लागि मोबाइल मागेपछि मायादेवी गाउँपालिका-३, बरेवा बस्ने १९ वर्षीय राजु भरले दिए। मोबाइल पाउनेबित्तिकै ती युवक मोटरसाइकल हुइँक्याएर भागे।

जिल्ल परेका राजु तत्काल नजिकैको प्रहरीकहाँ पुगेर त्यो मोटरसाइकलको विवरण र ती युवकको हुलियासहित आफूलाई परेको समस्या जानकारी गराए। 

प्रहरीका लागि भने यो घटना पहिलो थिएन। यसअघि गत माघ ४ गते रोहिणी गाउँपालिकाका दीपेन्द्र चौधरी, माघ १६ गते ओमसतिया गाउँपालिकाका सन्दिपकुमार पासी र माघ १७ गते भैरहवाकै सावित्रा कान्दुका मोबाइल पनि मोटरसाइकलमै आएका युवकले खोसेर भागेको भनी उजुरी प्रहरीमा परेका थिए। 

विभिन्न बहानामा मोबाइल चोरी गरेर भाग्ने युवकको खोजीमा प्रहरी पहिलेदेखि लागिरहेको थियो।

‘यसका लागि विशेष टोली गठन गरी प्रहरी अनुसन्धानमा थियो। सीसीटीभीलगायतबाट अनुसन्धान गरिरहेका थियौँ’, रुपन्देही प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले भने, ‘बुधबार यस घटनाबारे थप खबरसँगै मोटरसाइकल विवरण पायौँ।’

भट्टले मोबाइल खोसेर भाग्ने गिरोह पक्राउ गरेको बताउँदै आज उनीहरूलाई सार्वजनिक गरिएको जानकारी दिए। उनका अनुसार सिद्धार्थनगर नगरपालिका–७ का २५ वर्षीय मनीष हरिजन, वडा नं ३ का २४ वर्षीय देवान गुरुङ, वडा नं १३ का २४ वर्षीय रोमन घर्ती र चोरीको मोबाइल खरिद गर्ने सियारी गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहम्मद रसिद मुसलमान पक्राउ परेका छन्। 

यही समूहले रुपन्देही जिल्लाका विभिन्न भागमा केही समयदेखि मोबाइल चोरी गरेको प्रहरीको दाबी छ।

‘एक्लै देखेका व्यक्तिको नजिक गएर एक्कासि मोबाइल खोसेर भाग्ने गरेका थिए वा अति आवश्यक परेको बताउँदै मोबाइल लिएर फरार हुने गरेका थिए’, प्रनाउ भट्टले भने, ‘प्रारम्भिक अनुसन्धानमा निजहरुले लागुऔषध खरिद गर्ने र सेवन प्रयोजनका लागि चोरी गरेको देखिएको छ।’

पक्राउ परेकाहरु यसअघि पनि लागुऔषध र चोरीलगायत मुद्दामा सजाय पाएका युवाहरु रहेको भट्टले जानकारी दिए। उनका अनुसार आरोपितबाट प्रहरीले विभिन्न कम्पनीका आठ थान मोबाइल र लु ५६ प ७१७ नं को मोटरसाइकलसमेत बरामद गरेको छ। 

सबैलाई जिल्ला अदालतबाट थप अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद थप गरेको प्रनाउ भट्टले बताए। ‘गिरोहका अन्य सदस्य पनि छन् कि भन्ने विषयमा सूक्ष्म अनुसन्धान गरिरहेका छौँ’, उनले भने। 

मुलुकी अपराधसंहिता २०७४ अनुसार कसुरको अवस्था हेरी चोरी प्रमाणित भए दुई वर्षदेखि सात वर्षसम्म कैद र रु २० हजारदेखि रु ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .