समाज


तत्कालीन मन्त्री शाही र महाप्रबन्धकसहित ३२ जनाविरुद्ध १ अर्ब ४७ करोडको मुद्दा

तत्कालीन मन्त्री शाही र महाप्रबन्धकसहित ३२ जनाविरुद्ध १ अर्ब ४७ करोडको मुद्दा

तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही र निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार


नेपालखबर
चैत २२, २०८० बिहिबार १५:२६, काठमाडौँ

 नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

करिब २४ अर्ब रुपैयाँका ती दुई जहाज खरिदका क्रममा एक अर्ब ४७ करोड अर्ब रुपैयाँ ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो। 

अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव एवम् नेवानिका तत्कालीन  संचालक समिति अध्यक्ष शंकरप्रसाद अधिकारी, नेवानिका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन र तत्कालीन कायममुकायम निर्देशक रवीन्द्र श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ।

त्यसैगरी निगमका निर्देशकत्रय उपेन्द्र पौडेल,  उमेश पौडेल र श्रवण रिजाललाई पनि यो भ्रष्टाचार मुद्दाको प्रतिवादी बनाइएको छ।

अख्तियारले निगमका तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल र वर्तमान उपनिर्देशक बृहत्तमान तुलाधारविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ।

यस प्रकरणमा त्यसबेला जहाज खरिदमा परामर्शदाताको भूमिका खेलेका सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन महानिर्देशक एवम् नेवानि सञ्चालक समितिका तत्कालीन सदस्य जीवनप्रकाश सिटौला र नेपाल नागरिक उड्ययन प्राधिकरणका तत्कालीन सञ्चालक समिति सदस्य अच्युतराज पहाडीविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ।

त्यसैगरी भन्सार विभागका तत्कालीन महानिर्देशक एवम् नेवानि सञ्चालक समिति सदस्य शिशिरकुमार ढुंगाना, पर्यटन मन्त्रालयका सहसचिव एवम् निगमका तत्कालीन सञ्चालक समिति सदस्य बुद्धिसागर लामिछाने, नेवानिका तत्कालीन सञ्चालक समिति सदस्य निमानुरु शेर्पा, टेकनाथ आचार्य र मुक्तिनाथ पाण्डेविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलेको छ। 

निगमका तत्कालीन कायममुकायम निर्देशक रामहरि सेढाई, वर्तमान नायव महाप्रबन्धक जनकराज कालाखेती, तत्कालीन उपनिर्देशक प्रभाशकुमार आचार्य पनि यो भ्रष्टाचार प्रकरणमा मुछिँदै विशेष अदालतमा मुद्दा चलाइएको छ।

त्यस्तै निगमका तत्कालीन निर्देशक गणेबहादुर चन्द, तत्कालीन कामु निर्देशक कर्णबहादुर थापा र तत्कालीन निर्देशक तथा हालका वरिष्ठ क्याप्टे सुवास रिजालविरुद्ध पनि यो प्रकरणमा मुद्दा दर्ता भएको छ। 

प्रमुख आयुक्त प्रेमकुमार राईको अध्यक्षतामा बिहीबार बसेको अख्तियारको बैठकले अनुसन्धान अधिकृतको प्रतिवेदनअनुसार मुद्दा चलाउने निर्णय गरेको थियो। त्यहीअनुसार अख्तियारले मुद्दाको फाइल विशेष अदालतमा पेश गरिसकेको छ।

अख्तियारले जहाज खरिद प्रकरणमा मुछिएका कांग्रेस नेता एवम् तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३२ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दर्ता गराएको हो। 

निगमले पाँच वर्षअघि वाइडबडी विमान खरिद अघि बढाएपछि कानुनसम्मत नभएको भन्दै अख्तियारमा उजुरी दर्ता भएको थियो। 

उजुरी परे पनि अख्तियारले यस प्रकरणको छानबिनलाई अघि बढाएको थिएन।

अख्तियारले यस प्रकरणमा गत मंसिरमा सार्वजनिक सूचना नै जारी गरेर जहाजर खरिद प्रकरणमा संलग्न तीनवटा विदेशी कम्पनीका सञ्चालक र प्रतिनिधिलाई बयानका लागि बोलाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .