समाज


‘सिधाकुरा प्रकरण’मा नाफिजले गर्‍यो ध्यानाकर्षण

‘सिधाकुरा प्रकरण’मा नाफिजले गर्‍यो ध्यानाकर्षण

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १८:२५, काठमाडौँ

‘सिधाकुरा’ अनलाइनको ‘द डार्क फाइल’ शृंखलामा प्रकाशित समाचारजन्य सामग्रीलाई लिएर विकसित घटनाक्रमप्रति नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नाफिजले विज्ञप्ति जारी गर्दै ‘सिधाकुरा’का समाचारजन्य सामग्रीलाई लिएर सोमबार सर्वोच्च अदालतबाट भएको आदेशले प्रेस स्वतन्त्रताप्रति चिन्तित हुने अवस्था सिर्जना भएको जनाएको हो। 

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानले मौलिक हक र कर्तव्य (भाग ३) अन्तर्गत धारा १९ मा सञ्चारको हकसम्बन्धी व्यवस्था गर्दै सोही धाराको उपधारा १ मा ‘विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्वप्रतिबन्ध लगाइनेछैन’ भनी स्पष्ट किटान गरेको सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट ‘सिधाकुरा’का उक्त सामग्रीलाई लिएर सोमबार भएको आदेशले प्रेस स्वतन्त्रताप्रति चिन्तित हुने अवस्था सिर्जना भएको हाम्रो ठहर छ।’

विशेष गरी अनुसन्धान, छानबिन नै नगरी समाचार हटाउन र तत्सम्बन्धी सामग्रीको प्रकाशनपूर्व नै बन्देज लगाउने गरी भएको आदेशलाई संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्न नसकेको जनाइएको छ। 

‘समाचारजन्य सामग्रीको प्रकाशन र प्रसारणमा चित्त नबुझे, कैफियत भेटिए त्यसको अनुसन्धान र छानबिन गर्न तथा कारबाही समेत गर्ने छुट्टै निकाय (प्रेस काउन्सिल नेपाल) र कानुनी व्यवस्था समेत भएको सन्दर्भमा हतार हतार भएको सक्रियता र त्यसपश्चातका घटनाक्रमप्रति हामी चासो व्यक्त गर्दछौँ’, नाफिजले भनेको छ, ‘साथै, यससम्बन्धी जिम्मेवार निकाय प्रेस काउन्सिलले समेत उक्त सामग्रीको अनुसन्धान नै नगरी एक पक्षीय उजुरीकै आधारमा तत्कालै समाचार सामग्री हटाउन दिएको २४ घण्टे निर्देशनप्रति हाम्रो आपत्ति छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .