समाज


पर्वतका दम्पती हत्या गाउँकै दुई युवाबाट : भागेर पोखरा पुगे, बाग्लुङमा बेचे लुटेको सुन

पर्वतका दम्पती हत्या गाउँकै दुई युवाबाट : भागेर पोखरा पुगे, बाग्लुङमा बेचे लुटेको सुन

उजिर कार्की
बैशाख २०, २०८१ बिहिबार २०:१३, काठमाडौँ

पर्वतको जलजला गाउँपालिका २ सानो दहका एक दम्पतीको हत्या सोही गाउँका दुई युवाले गरेको खुलेको छ। २०८० चैत २० गते ६९ वर्षका सूर्यबहादुर घर्ती र उनकी श्रीमती ६३ वर्षकी गमला घर्ती आफ्नै घरभित्र मृत फेला परेका थिए।

उनीहरुको हत्या जलजला गाउँपालिका २ नेपानेका ३२ वर्षीय कृष्णबहादुर विश्वकर्मा र कुस्मा नगरपालिका २ खुर्कोट घर भई जलजला गाउँपालिका २ बौर बस्ने ३२ वर्षीय दीपक दर्जीले गरेको निष्कर्षमा प्रहरी पुगेको हो।

उनीहरुले लुट्नकै लागि दम्पतीको हत्या गरेको प्रहरीको निष्कर्ष छ। हत्यापछि लुटिएको सुन, नगद र रिचार्ज कार्ड पनि प्रहरीले बरामद गरेको छ। उनीहरुले लुटेको सुन गाल्ने र किन्ने अरु दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसालले बताए।

सुन गाल्ने जलजला गाउँपालिका १ घर भई हाल पोखरा महानगरपालिका २५ हेम्जा बस्ने ६० वर्षका कर्णबहादुर विक र लुटेको सुन किन्ने बाग्लुङ नगरपालिका २ लोकतान्त्रिक चोकको पूर्णिमा सुनचाँदी पसलका सञ्चालक परशुराम विकलाई पनि प्रहरीले पक्राउ गरेको छ।

एक महिनाको निरन्तर अनुसन्धानपछि प्रहरीले दम्पती हत्यामा संलग्न पत्ता लगाएको हो।

हत्यारासम्म पुग्न प्रहरीलाई निकै सकस पर्‍यो। घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, संघीय प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट अनुसन्धान टोली परिचालन गरिएको थियो।

अप्रेसन लालीगुँरास नाम दिइएको अनुसन्धानका क्रममा डग स्निफिङ, विशेषज्ञ चिकित्सकको पनि सहयोग लिएको थियो। अनुसन्धानका क्रममा २ हजार बढी मानिसहरुसँग सोधपुछ गरेको डीएसपी भुसालले बताए। यस्तै ४५ जनासँग घटना विवरण कागज नै गराएको छ। लामो अनुसन्धानबाट पनि हत्यारासम्म पुग्न नसकेपछि प्रहरीले यसअघि गम्भीर अपराधमा संलग्न भई कारागारबाट छुटेका र खराब आचरण भएका उक्त गाउँ र आसपासका व्यक्तिहरुको विवरण संकलन गरेर अनुसन्धान गरेको थियो।

हतियार बनाउने आरन र अन्य कारखानाबाट विवरण संकलन गरेर पनि प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको थियो। मोबाइल लोकेसन, सीसीटीभी फुटेजदेखि अन्य भौतिक सबुत परीक्षण पनि गरेको थियो। एक महिनापछि प्रहरीले उनीहरुलाई पोखरा, पर्वत र बाग्लुङबाट पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ।

अघिल्लो दिन रेकी, भोलिपल्ट राति हत्या
घर्ती दम्पतीको हत्यामा संलग्न हुन् कृष्णबहादुर विश्वकर्मा र दीपक दर्जी। उनीहरु दुवै जना पहिले जिप चलाउँथे। त्यही क्रममा उनीहरुको चिनजान भएको थियो। उनीहरु दुवैको आर्थिक अवस्था कमजोर थियो र दुवै जना लागुऔषध सेवन गर्थे।

पहिले वैदेशिक रोजगारीमा गएका उनीहरु फर्किएर गाउँमा बसेपछि महिला तथा वृद्धहरुलाई लुट्ने योजनामै रहेको प्रहरीको भनाइ छ। दीपक दर्जी विगत १४÷१५ वर्षदेखि पर्वतको जलजला गाउँपालिका २ बेनीस्थित बौर बजारमा घर बनाएर बसेका थिए। पारिवारिक झगडाका कारण घटनाको एक हप्ताअघि मात्रै त्यहाँबाट कास्कीको पोखरा महानगरपालिका ८ नयाँ बजारमा डेरा गरी बस्न थालेका थिए। उनले आफ्नी श्रीमती र छोराछोरी पनि उतै लगेका थिए।

घटनाको १०-१५ दिनअगाडि कृष्णबहादुर र दीपक दर्जीबिच भेटघाट भएको थियो। मादक पदार्थ सेवन गरेर उनीहरुले घटना घटाउने विषयमा कुराकानी गरेको प्रहरी समक्ष बताएका छन्।

चैत १८ गते दीपक दर्जी पोखराबाट पर्वत जलजला गाउँपालिका २ बौर बजार गए। बेनी बसपार्कमा दुई जनाले भेटघाट गरे र सँगै बसेर रक्सी खाए। रक्सी, चाउचाउ र चटपटे किनेर कालीगण्डकी नदीको किनारमा बसेर खाएका थिए। उनीहरु दिउँसो ४ बजेतिर राममन्दिर हुँदै मृतक दम्पतीको घरमा पुगे।

उनीहरु पुग्दा सूर्यबहादुर गाई दुहुँदै थिए। गमला पसलमा थिइन्। पसलमा आधा घण्टाजति बसेर उनीहरुले चुरोट खाए। त्यसक्रममा उनीहरुले सूर्यबहादुर र गमलासँग कुरा गर्दै घरको अवस्था, आउने–जाने बाटो रेक्की गरे। करिब साढे ५ बजेतिर उक्त घरबाट निस्किएर कृष्णबहादुर विश्वकर्माको घरमा गए। बेलुकाको खाना खाएर दुवै जना भान्साकोठामा सुते।

१९ गते बिहानको खाना खाएर कृष्णबहादुर विश्वकर्मा र दीपक दर्जी निलो रङको हातेझोलामा कृष्णबहादुरका दुईवटा प्यान्ट, हँसिया र माछा मार्ने बल्छी बोकेर तिल्किनीस्थित कालीगण्डकीमा माछा मार्न गए।

तर दिनभरमा उनीहरुले माछा मार्न सकेनन्। दिउँसो ४ बजेतिर तिल्किनी बजारबाट चाउचाउ, चुरोट र रक्सी किनेर कालीगण्डकी नदीबाट घुमाउने तालको पुल हुँदै दहतर्फ उकालो लागे।

बेलुका करिब ८ बजेसम्म जंगलमै बसेर रक्सी, चुरोट र चाउचाउ खाए। उनीहरुले गाँजा पनि सेवन गरे। साढे ८ बजेतिर जंगलबाट सिँचाई कुलो हुँदै बाटो लागे। घर्ती दम्पतीको घरमाथि पुग्दा जंगलमा आगलागी भइरहेको थियो। सूर्यबहादुर लगायत गाउँका मानिसहरु आगो निभाइरहेका थिए। उनीहरु भने त्यहाँभन्दा डेढसय मिटर अगाडि गएर बसे।

करिब १० बजेतिर आगो निभाउने मान्छेहरु गए। उनीहरुले भने सूर्यबहादुरको घरमा गएर मान्छे सुते नसुतेको यकिन गरे। कृष्णबहादुरले चुरोट किन्ने बहनामा सूर्यबहादुरलाई ‘हजुरबुबा, म कृष्ण हो मलाई चुरोट दिनुस्’ भन्दै बोलाए। पसलबाहिर रहेको बत्तीको बल्ब निकालेर फालिदिए।

भित्रको बत्ती बालेर सूर्यबहादुरले पसलपट्टिको ढोका खोलेर चुरोट निकाले। दीपकले सूर्यबहादुरलाई ७० रुपैयाँ दिए। सूर्यबहादुरले बाहिरको बत्ती किन बलेन भन्दै हेरे। त्यसै क्रममा कृष्णबहादुर विश्वकर्माले आफ्नो हातमा भएको लाठीले सूर्यबहादुरको टाउकोमा प्रहार गरे।

लाठी टाउकोमा बज्रिएपछि उनी चिच्याउन थाले। श्रीमती गमला उठेर कराउन थालिन्। दीपक दर्जीले लात्ताले हान्दा मूल ढोकाको गरालो भाँचियो। त्यसपछि उनले लाठी र लात्ताले गमलालाई प्रहार गरे र पछि हँसियाले रेटे। सूर्यबहादुरलाई पनि पछि घाँटी र टाउकोमा हँसियाले हानेर हत्या गरे।

हत्या गरेपछि गमलाले लगाएका सुनका गहना, पसलमा भएको नगद र रिचार्ज कार्ड समेत लुटे। त्यसपछि बाहिर निस्किएर ढोकोको ताल्चा लगाए। चाबी, हँसिया घरदेखि पर लगेर पाखामा फालिदिए। उनीहरु फर्किंदा पनि केही मान्छेहरु जंगलमा लागेको आगो निभाउँदै गरेको देखे। त्यसपछि उनीहरु मृतकको घरतिरै फर्किएर राममन्दिर झरेर कालीगण्डकी नदीको किनारबाट पर्वतपट्टिको कच्ची मोटरबाटो हुँदै मालढुंगा पुगेर बस चढेर पोखरातर्फ गए।

चैत २० गते बिहान करिब ७ बजेतिर पोखरा बाग्लुङ बसपार्कमा ओर्लिएर लुटेर लगेका गरगहनामा लागेको रगत पखाले। त्यसपछि दुई जनाले बाँडेर आ आफ्नो घरतर्फ लागे।

कृष्णबहादुरले आफ्नो भागमा परेका गहना माइलाबा नाता पर्ने कर्णबहादुर विश्वकर्मालाई गाल्न लगाए। गालिसकेपछि सुन बाग्लुङका परशुराम विकलाई बेचेको थिए। उनीहरुलाई पक्राउ गरेसँगै उक्त सुन पनि बरामद भएको छ।

कृष्णबहादुर १५ वर्ष पहिले रोजगारीका लागि कतार गएका थिए। उनी कतारमा साढे तीन वर्ष काम गरेर नेपाल फर्किएका हुन्। २०६९ मा मल्लाज बेनी बजारमा बोलेरो जिप चलाउँथे। तर पछिल्लो एक वर्षदेखि गाडी चलाउन पनि छाडेका थिए। उनी गाउँघरमै बसेर खेती किसानी गर्दै आएका थिए। गाडी चलाउँदा उनलाई २०७३ सालमा जिल्ला प्रहरी कार्यालय बाग्लुङले सवारी ज्यान मुद्दा चलाएको थियो।
 
दीपक दर्जी पनि ४ वर्षपहिले कतारबाट फर्किएका हुन्। उनी कतारमा ६ महिना मात्रै बसेर फर्किएका थिए। कतारबाट फर्किएपछि उनी पोखरा मुस्ताङ चल्ने टाटा सुमो चलाउँदै आएका थिए।

उनी लागुऔषध दुर्व्यसनका कारण २०८० साउनदेखि माघसम्म ६ महिना बाग्लुङस्थित नवजीवन सुधार गृहमा ६ महिना बसेर फर्किएका हुन्। उनीहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अगाडि बढाएको पर्वतका प्रहरी प्रमुख डीएसपी खुमलाल भुसालले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .