आज (मंगलबार) बारामा भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाको अपराह्न ५:२८ बजेसम्मको विवरणअनुसार पछिल्लो ६ घण्टामा सबैभन्दा ठूलो वर्षा बाराको कलैयामा भएको हो। त्यहाँस्थित स्वचालित वर्षा मापन केन्द्रले ६६.४ मिलिमिटर वर्षा भएको देखाएको हो।
५० मिलिमिटरभन्दा माथि सय मिलिमिटरभन्दा मुनिसम्मको वर्षालाई भारी वर्षा भनिन्छ।
यसपछि पछिल्लो ६ घण्टामा सबैभन्दा बढी वर्षा मकवानपुरमा भएको छ। मकवानपुरको रजैयास्थित स्वचालित वर्षा मापन केन्द्रका अनुसार त्यहाँ ४०.८ मिलिमिटर वर्षा भएको छ।
यसैगरी सिन्धुलीको हरिहरपुर गढी उपत्यकामा ३९.८ मिलिमिटर, सिन्धुलीकै सिन्धुलीमाढीमा ३८ मिलिमिटर, सिन्धुलीकै नेपालथोकमा ३५.४ मिलिमिटर वर्षा भएको छ।
महाशाखाको विवरणअनुसार पछिल्लो ६ घण्टामा सिन्धुलीका सात ठाउँमा मध्यम वर्षा भएको छ। १० मिलिमिटरभन्दा माथि ५० मिलमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा भनिन्छ।
यस्तै पर्साको वीरगन्जमा ४५ मिलिमिटर वर्षा भएको छ भने ओखलढुंगा, धनकुटा, मकवानपुरमा पनि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।
यस्तै काठमाडौँ उपत्यकाअन्तर्गत सबैभन्दा बढी वर्षा ललितपुरको गोदवारीमा ३४.६ मिलिमिटर वर्षा भएको छ। यस्तै पछिल्लो ६ घण्टामा काठमाडौँको कीर्तिपुरमा २.४ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाको विवरणले देखाएको छ।
आज लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ। प्रदेशका हिसाबले सबैभन्दा धेरै बागमती प्रदेशमा पानी परेको छ।
माथि उल्लिखितबाहेक धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ।
Shares
प्रतिक्रिया