ad ad

समाज


नेपाल एयरलाइन्सका वरिष्ठ पाइलटद्वय लामा र पन्त यसकारण परे क्यानको कारबाहीमा

नेपाल एयरलाइन्सका वरिष्ठ पाइलटद्वय लामा र पन्त यसकारण परे क्यानको कारबाहीमा

नेपालखबर
जेठ २२, २०८१ मंगलबार ७:४०, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुईजना वरिष्ठ  पाइलटलाई ‘एक्टिभ ड्युटी’बाट हटाएको छ। 

उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले वरिष्ठ पाइलट विजय लामा र भावना पन्तलाई अनुसन्धान अवधिभरिका लागि ‘ग्राउण्डेड’ गरिएको जानकारी प्राधिकरणले सोमबार दिएको छ। 

नेपाल वायुसेवा निगम (नेवानि) का दुवै वरिष्ठ र अनुभवी पाइलट हुन्।

पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन्। 

लामा र पन्तले उड्डयन सुरक्षा व्यवस्था उल्लंघन गरेको आरोप क्यानले लगाएको छ। सोही कारण उनीहरुलाई जहाज उडाउन अनिश्चितकालीन प्रतिबन्ध लगाइएको जानकारी क्यानले दिएकाे छ।

क्यानका एक अधिकारीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा फोटो खिच्ने र भिडिओ अन्तर्वार्ता दिएपछि उनीहरू कारबाहीमा परेका हुन्। 

वाइडबडीको प्रशिक्षक पाइलटसमेत रहेका लामाले केही दिनअघि मात्रै जहाजको ककपिट नजिकै फोटो खिचेर फेसबुकमा पोस्ट गरेका थिए। पाइलट पन्तले भने केही दिनअघि जहाजको छेवैमा बसेर टेलिभिजन च्यानललाई भिडियो अन्तर्वार्ता दिएकी थिइन्।

क्याप्टेन लामा यसअघि पनि एकपटक आपत्तिजनक अभिव्यक्ति र अर्को पटक विमानको ककपिटमै  बसेर भिडिओ अन्तर्वार्ता दिएपछि निलम्बनमा परेका थिए। 

क्यानको प्राविधिकतर्फका प्रवक्ता देवेन्द्र पुनका अनुसार नियामक निकायले दुवै पाइलटलाई जहाज उडाउन प्रतिबन्ध लगाएको छ। 

जिम्मेवार हुनुपर्ने पाइलटबाटै लापरबाही भइरहँदा उडान सेवा नै असुरिक्षत बनेको दाबी क्यानले गरेको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .