‘केटीकेटीको माया पनि टिक्छ र!’, ‘केटीकेटी पनि एक रथका दुई पाङ्ग्रा हुन सक्छन् र!’ मान्छेहरु सोध्थे। उनीहरु सँगै बसेको, सँगै हिँडेको देखेर कुरा काट्थे। उनीहरु आफैँलाई पनि थाहा थिएन सहयात्रा कहाँसम्म पुग्छ।
हुन पनि लैंगिक अल्पकसंख्यक समुदायका जोडी छोटो समयमै टुटिरहेका हुन्थे। जहाँसम्म पुगिन्छ, त्यहाँसम्म सँगै हिँडौँ भनेर उनीहरुले सहयात्रा थालेका थिए।
तर, दाङको तुलसीपुरमा जन्मिएका पवित्रा परियार र विमला विश्वकर्माले एक रथको दुई पाङ्ग्रा भएर हिँड्न थालेको २७ वर्ष बितिसकेको छ। यो सहयात्रामा उनीहरुले नखाएको कुनै हण्डर छैन, नभोगेको कुनै विभेद छैन। समाज र आफन्तले खिसी मात्रै होइन, कतिपय ठाउँमा बहिष्कार नै गरे। तर, उनीहरुले एकअर्काको साथ छाडेनन्। बरु सँगै बाँच्न थुप्रै काममा हात हाले। कतै पनि सफल हुन सकेनन्। तर, पछिल्लो समय मादलले उनीहरुको जीवनको ताल फेरिदिएको छ।
मादल व्यवसाय थालेपछि केही वर्षयता उनीहरुको गुजारा सहज भएको छ।
मादल बनाउने सीप पवित्राको हो। उनी वर्षमा १ सय ५० वटाभन्दा बढी मादल बनाउँछिन्। मादल बनाउन आवश्यक पर्ने कच्चा पदार्थ जोरजाम र आकार पाएका मादल बिक्री वितरणमा विमला साथ दिन्छिन्। मादल बनाउन चाहिने कच्चा पदार्थ राम्रो काठ, छाला र खरी हो। खमारी प्रजातिको काठ मादलका लागि उपयुक्त मानिन्छ। यद्यपि, अन्य रुखका काठबाट पनि मादल निर्माण गर्न सकिन्छ। मादलको खरी भागमा प्रयोग गरिने छाला बाख्राको हुन्छ।
पवित्राले बनाएका मादलको मुख्य बजार तुलसीपुर हो। काठलाई मादलको आकार दिन चाहिने एउटा मेसिनका लागि लुम्बिनी प्रदेश सरकारले सहयोग गरेको पवित्रा सुनाउँछिन्।
‘मेसिन आएपछि हातले गर्नुपर्ने काम घटेको छ। तर, बाँकी काम पनि धेरै हुने भएकाले ती सबै आफैँ गर्छु,’ पवित्रा भन्छिन्।
मादलले सधैँ बजार पाउँदैन। चाडपर्वमा भने मादलको माग बढ्छ। त्यही बेलाको माग पूर्तिका लागि पवित्रा हरेक दिन मादल बनाउने काम गरिरहेकी हुन्छिन्।
भन्छिन्, ‘दिनमा २ देखि ३ वटा मादल निर्माण हुन्छन्।’
मादलको मूल्य आकार र गुणस्तरका आधारमा तय गर्छिन्। भन्छिन्, ‘मैले २ हजारदेखि १२ हजार सम्मका मादल बनाएको छु।’
पवित्रा मादल बनाउँछिन्। उनकी जीवनसाथी विमला घरव्यवहार चलाउँछिन्। घरायसी काम गर्छिन् र पवित्रालाई मादल बनाउन चाहिने कच्चा पदार्थ जोरजाममा सहयोग गर्छिन्। पवित्रा कामको चाप बढेको बेला एकजना कामदार समेत राख्छिन्। अरुबेला पवित्रा एक्लै मादल निर्माण गर्छिन्।
थुप्रैपटक पेट मारेर हिँडेकी पवित्रा भन्छिन्, ‘जीवन चलाउन कहाँ सजिलो छ र? यही मादल बनाउने काम पनि सजिलो छैन। मादलका लागि चाहिने सबै सामग्री किनेर ल्याउनुपर्छ। त्यसमा आफ्नो ज्याला समेत जोडेपछि मादलको मूल्य तय हुन्छ। खर्च कटाउँदा धेरै आम्दानी हुँदैन।’
पवित्राको मादलको बजार पोखरादेखि पश्चिम पहाडका गाउँगाउँ बिस्तार भएको छ। मादल बनाउने कच्चा पदार्थमध्ये छालामा सबैभन्दा धेरै पैसा खर्च हुन्छ। पवित्रा सस्तोमा छाला पाइने ठाउँको खोजीमा छिन्।
पवित्राले आफ्नो मादलको ब्रान्ड बनाउन सकेकी छैनन्। त्यसैले उनले निर्माण गरेका मादलको बजार ठूलो छैन। माग पनि उच्च होइन।
भन्छिन्, ‘मादल धेरै बनाउँदैमा धेरै बिक्री हुने होइन। आफ्नो उत्पादनको ब्रान्ड निर्माण गर्न सकेकी छैन। कसरी ब्रान्ड बनाउने भनेर पनि बुझेकी छैन।’
सुरुमा जातीय विभेद त्यसपछि फरक लैगिंकताका कारण विभेद भोगेका उनीहरुलाई माया गर्नेहरु पनि बढ्दै गएका छन्। अहिले मादल खोज्दै घरसम्म पुग्ने ग्राहकको संख्या पनि बढ्ने क्रममा छ। विमला र पवित्राको जोडी खुसी छ।
यी दुईको प्रेमकहानी पनि अनौठो छ। प्रायः प्रेम कहानीमा केटा र केटी जोडिएर आउँछन्। समलिंगी प्रेमका लागि समाज उदार छैन। यी दुईको प्रेममा पनि थुप्रैपटक बाधा आए। तर उनीहरुले निरन्तर एकअर्कालाई साथ दिइरहे। अहिले त परिवार र समाजले पनि दाङ तुलसीपुरका ५१ वर्षीया पवित्रा परियार र सोही ठाउँकै ५० वर्षीया विमला विश्वकर्माको प्रेमलाई स्वीकार गरेको छ।
विगततिर फर्केर हेर्दा पवित्रालाई कहिलेकाहीँ कहाली लाग्छ। दुई केटी एकसाथ बस्ने, केटासँग विवाह नगर्ने कुराले उनको परिवारभित्र कस्तो हलचल ल्यायो, त्यसको कुनै लेखा नै छैन।
विमला र पवित्रा बाल्यकालदेखिकै साथी हुन्। वयष्क हुँदै गर्दा प्रेममा परे। एकले अर्कोलाई स्वीकार गरे। तर उनीहरुको प्रेममा परिवार र समाज तगारो बन्दियो। उनीहरूलाई पनि समाजको डर थियो। अहिले त्यो डरलाई जितेर धेरै पर पुगेका छन्।
विमला भन्छिन्, ‘एकअर्काको बलियो साथले नै हामीले समाजको डरलाई जित्न सक्यौँ। जहाँ आत्मविश्वास, माया र साहस हुन्छ, त्यहाँ जीवन स्वर्गीय आनन्दले भरिएको हुन्छ। त्यसैले कुनै विग्रह वा अन्य कुराहरूले हामीलाई फरक पारेन।’
पवित्रालाई जीवनसंगिनी विमलाको घरमा वर्जित गरिएको छ। दुवैले दलित समुदायको प्रतिनिधित्व गर्छन्। तर, दलित समुदायभित्र पनि धेरै प्रकारको विभेद अझै रहेको पवित्रा सुनाउँछिन्। विभेदमा परेका जातिले समेत यस्तो कुप्रथा अझै मानिरहेकोमा उनको असन्तुष्टि छ।
उनका अनुसार जातीय विभेद हिजोआज केही घटेको छ। छोएकै खान हुँदैन भन्ने मान्यता हराउँदै गएको छ। तर, पवित्राले जातीय विभेदको चरम रुप देखेकी छन्। विमलाको घरमै भोगेकी छन्। तर, जीवनभर छुट्नै नसक्ने प्रेम कहानी दुवैबीच रहेका कारण यी सामाजिक अप्ठ्यारा सजिलै पार गर्न सकेको पवित्रा सुनाउँछिन्।
‘मेरोभन्दा विमलाको जात ठूलो थियो। विमलाको घर जाँदा भित्र प्रवेश दिइँदैनथ्यो, अनि बाहिरै बस्न मात्रै नभएर सुत्नु पनि पर्थ्यो। म एक्लै सुतेको देखेर विमला पनि मसँगै बाहिर सुत्थिन्। हामी छुट्नै नसक्ने प्रगाढ मायामा थियौँ,’ पवित्रा भन्छिन्।
जातीय विभेद पहिलाको तुलनामा अहिले निकै कम भएको पवित्राले महसुस गरेकी छिन्। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिलाई एकआपसमा विवाह गर्न भने अझै पनि समाजमा निकै गाह्रो रहेको उनीहरुको अनुभव छ।
‘विशेषगरी दलित र गैरदलितबीचको बिहेवारी पुरुष–महिलामा समेत सामान्य रूपमा चलेको छैन भने समलिंगी विवाह सहज हुने कुरा भएन। कतिपय त जातीय रूपमा अझै कट्टर छन्,’ पवित्रा सुनाउँछिन्।
विवाह गर्न जात भन्दा धेरै मन मिल्नु पर्ने पवित्राको कथन छ। भन्छिन्, ‘दुःखसुख गरेर हामी रमाएर बसेकै छौँ। केटीकेटी बसेर के गर्न खोजेको हो? बुढेसकालमा के गर्ने हो? केटीकेटी के गर्छौ भनेर हाँस्ने र हेपेर बोल्नेहरु आज पनि समाजमा प्रशस्तै छन्।’
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूका लागि मात्रै होइन पवित्राले सबैका लागि दिने एउटै सुझाव छ। ‘ कसले के भन्छ भनेर हेर्ने र सुन्ने होइन। आफ्नो लक्ष्यमा अघि बढिरहने गर्नुपर्छ। दुनियाँमा जति नै ठूला गफ गरेर हिँडे पनि जीवन चलाउन मेहनत नै गर्नुपर्छ। बोलेर मात्रै, माया प्रेम गरेर मात्रै केही पनि हुँदैन। जीवन भनेको संघर्ष हो,’ उनी भन्छिन्, ‘जस्तो परिवार परिवेश, समाजमा बसे पनि प्रत्येक मान्छेले संघर्ष गर्नुपर्छ। एउटा बच्चा पनि अनेकन संघर्ष गरेर जन्मेको हुन्छ। जन्मेका जति सबै बाँच्दैनन्। बाँच्न वा युवा हुन पनि धेरै प्रकारका संघर्ष गर्नुपर्छ। जीवन ठ्याक्कै त्यही हो।’
अहिले पनि लैंगिक तथा यौनिक अल्पसंख्यक भएकै कारण समाजमा आफ्नो वास्तविक पहिचान लुकाएर बस्न बाध्य धेरै मानिस छन्। थुप्रैले राम्रोसँग व्यापार-व्यवसाय गर्न सकेका छैनन्।
‘यो समुदायका मानिस आफ्नो पहिचान देखाएर आफ्नै व्यवसाय गर्ने धेरै कम छन्। तर, पवित्रा र विमलाले गरेको व्यवसाय यी समुदायका मानिसलाई प्रेरणादायी मान्न सकिन्छ,’ लैंगिक तथा यौनिक अल्पसंख्यकको क्षेत्रमा काम गर्दै आएको संस्था मितिनी नेपालकी कार्यक्रम अधिकृत विमला गुरुङ भन्छिन्।
Shares
प्रतिक्रिया