ad ad

समाज


राति पाँच प्रदेशमा पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ उपत्यकामा?
राति पाँच प्रदेशमा पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना

फाइल फाेटाे


नेपालखबर
असार ७, २०८१ शुक्रबार १९:५६, काठमाडौँ

यतिबेला (शुक्रबार बेलुका ७:४० बजे) देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बाक्लै बादल) छ भने तराई क्षेत्रमा आंशिक बदली (पातलो बादल) देखि मौसम मुख्यतया सफा (लगभग आकाश खुला) छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले दिएको जानकारीअनुसार यतिखेर कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मात्र हल्का वर्षा भइरहेको छ। 

मौसम महाशाखाले शुक्रबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली, लुम्बिनी प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा गण्डकी प्रदेशका केही स्थान, कोसी, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैबीच आज राति काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना देखिएको मौसमविद् लामिछानेले बताए। ‘काठमाडौँ उपत्यकामा पनि वर्षा हुने थोरै सम्भावना छ’, उनले भने। 

मौसम महाशाखाले भने राति काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना ४० प्रतिशत रहेको जनाएको छ। 

मौसम महाशाखाका अनुसार हाल कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनको प्रभाव छ भने देशका बाँकी स्थानमा भने स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव छ।

राति भन्नाले मौसम महाशाखाले भोलि शनिबार बिहान ६ बजेसम्मको अवधिलाई मानेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .