दशकअघि गायक बद्री पंगेनीले श्रीमान् गुमाएका छोरीहरूलाई सम्बोधन गर्दै गीत गाए, ‘लाऊ चेली सिन्दूर लाऊ, निको पार हृदयको घाउ।’ गीत लोकप्रिय भयो। सिन्दूर पुछिएका थुप्रै महिला यही गीत सुन्दै सुँकसुँकाए। तर, उनीहरूले सिन्दूर लगाउने हिम्मत भने गर्न सकेनन्। समाज फेरिँदै जाँदा एकल महिलाका परिवारले नै बुहारीको विवाह गराइदिएका एकाध घटना सार्वजनिक भए।
एकताका एकल महिला सञ्जालले रातो अभियान नै सञ्चालन गर्यो। एकल महिला समूहकी अध्यक्ष लिली थापाले ‘रातो टीका चुनौती’ नाममा चलाएको उक्त अभियानमा थुप्रै एकल महिला जोडिए। श्रीमानको मृत्युपछि श्रीमानको छातीमा राखेर जलाएको रातो टीका लगाए।
२०५८ सालबाट सुरु भएको यो अभियान पनि रातो टीकामा मात्रै सीमित भयो। उनीहरूले सौभाग्यका सामग्री भनेर तोकिएका सिन्दूर र पोते भने लगाउन सकेनन्।
रातो टीका अभियानको २ दशकपछि सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा रातो तस्बिरले धेरैको ध्यान खिचेको छ। त्यो तस्बिर हो, १ वर्षअघि श्रीमान् गुमाएकी कालीकोटकी भूमिका पोखरेलको।
विवाहमा आफ्ना दिवंगत श्रीमान् भानु पौड्यालले दिएका सौभाग्यका सबै सामग्री लगाएको तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छिन्, ‘तिथि अनुसार यही असार ५–६ गते जेठ शुक्ल त्रयोदशीका दिन मेरो श्रीमानले हामीलाई छोडेर जानुभएको १ वर्ष पुग्यो र उक्त तिथिको कामपछि घरमा पूजा गरी उहाँले मलाई विवाहमा दिनुभएको उपहार सिन्दूर, पोते र चुरामा मलाई मेरी सासूआमाले सजाउनु भयो।’
यसपछि २८ वर्षीया भूमिकाको हिम्मतको मानिसहरूले खुलेर तारिफ गरिरहेका छन्। समाजले तोकेको नियमभन्दा माथि उठेर आफ्नी बुहारीको भावनालाई महत्व दिएकी ६२ वर्षीया विष्णु पौड्यालको कदमलाई धेरैले हिम्मतिलो कदम भनिरहेका छन्।
इलाम फाकफोकथुमकी विष्णु पौड्याललाई यो निर्णय लिन त्यति भने सहज थिएन। सामान्य साक्षर उनले बाहिरको दुनियाँ राम्रोसँग न पढ्न पाइन्, न देख्न नै। समाजले जेलाई संस्कार भनिदियो त्यसैलाई अँगालिन्, जेलाई कुसंस्कार भनेर परिभाषा दियो, त्यसको विपक्षमा उभिएर ६ दशक जीवनका यामहरू गुजारिन्।
आफ्ना सन्तान आफ्नै वरिपरि रहून्, विष्णुले देखेको सुखको सपना त्यसभन्दा बढी थिएन। उनी चाहन्थिन्, आफू मरेको दिन छोराहरूले काँध दिऊन्। तर, उनले आफ्नो जवान छोराको अन्तिम बिदाइको साक्षी बस्नु पर्यो। सायद त्यसैले होला उनलाई समाजको पर्वाह नगरी हिँड्न सक्ने आँटिली बनायो।
गत वर्ष जेठ १९ गते काठमाडौँबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को जिप सुनकोसीमा खस्यो। बा १ झ ७४६७ नम्बरको जिप बीपी राजमार्गअन्तर्गत गोलान्जोर गाउँपालिका–७ को लौकुनमा दुर्घटना भएको थियो। उक्त जिपमा सवार सीटीईभीटीका ३ कर्मचारीको मृत्यु भयो। विद्युत् प्रशिक्षक ३२ वर्षीय भानु पौडेल पनि सोही दुर्घटनामा मारिए।
विवाह गरेको एक वर्षमै २६ वर्षिया भूमिका पोखरेलले पति गुमाइन्। कालीकोटकी भूमिका र इलामका भानुबीच २०७९ साल वैशाखमा विवाह भएको थियो। यी दुईको भेट सीटीईभीटीमै भएको थियो। भूमिका र भानुले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका थिए। तर, जिन्दगीको लामो यात्रा सँगै गर्न निस्किएकी भूमिकाले छोटो समयमै एक्लो हुनु पर्यो।
कलिलो उमेरमा श्रीमान् गुमाएकी उनले यो वर्ष कहालीलाग्दो तरिकाले बिताइन्। हरेक दिन श्रीमानको सम्झनाले उनको मुटुमा गाँठो पारिरह्यो। त्यसभन्दा धेरै उनलाई श्रीमानले दिएका वस्तुहरूको माया लाग्यो। श्रीमानसँग गाँसिएका हरेक चिज हेर्न थालिन्।
‘भानुले दिएको सामान साथमा हुँदा पनि ऊ साथमै भएको महसुस हुन्थ्यो,’ भर्खरै श्रीमानको वर्षदिनको काम सकेर घरमै बसिरहेकी भूमिकाले फोन संवादमा सुनाइन्।
एकदिन उनी आफ्नै विवाहको भिडिओ हेर्दै थिइन्। सिन्दूर हालिदिएपछि पुरोहितले छोपिदिन भने। सिन्दूरे रुमाल भेटिएन। रुमाल नभेटिँदासम्म भानुले आफ्नो हत्केलाले भूमिकाको सिउँदो छोपिरहे। यो दृश्य हेरेर भूमिकाले सँगै हुँदा भानुलाई थुप्रै पटक प्रश्न गरेकी थिइन्, ‘किन यसो गरेको?’
भानु भन्थे, ‘अरुलाई देखाउनु हुँदैन अरे त्यसैले।’
सँगै हुँदासम्म भूमिकालाई भानुको यो वाक्य सामान्य लाग्थ्यो। यसपटक भने भानुले भनेको त्यही एउटा वाक्यमा उनले जिन्दगीभरीको प्रेम र लगाव देखिन्। त्यसपछि भूमिकालाई भानुले दिएका हरेक सौभाग्यका सामग्री आफैँसँग राख्ने मन भयो। उनलाई रङसँगै श्रीमानको सम्झना बोकर बाँच्न मन लाग्यो।
यो एक वर्षमा समाजले एउटी एकल महिलालाई हेर्ने दृष्टिकोणका बारेमा पनि भूमिका धेर–थोर जानकार भइन्। लगातार उनको मनमा ऊ नभए पनि उसले माया गरेर दिएको सिन्दूर, पोते लगाउँछु भन्ने आइरह्यो। एकदिन आफ्नी फूपुसासू टीका आत्रेयलाई भनिन्, ‘दिदी म भानुसँग दोस्रो विवाह गर्न चाहन्छु।’
टीका निकैबेर बोल्न सकिनन्। लगभग १ वर्षदेखि भूमिका राम्रोसँग पूरा वाक्य बोल्न सकेकै थिइनन्। बोल्न खोज्थिन्, बोलीभन्दा पहिला आँसु र हिक्का आउँथ्यो। बुहारीको पीडा देखेर प्रश्न गर्नै बिर्सिएकी टीकाले त्यसदिन प्रश्न गरिन्, ‘के भनेको नानी?’
‘पहिलो विवाह उसको शरीरसँग गरेँ। दोस्रो विवाह उसको आत्मासँग गर्न चाहन्छु।’
टीका एक्लैले हुन्छ भनेर हुनेवाला केही थिएन। उनले आफ्ना आमा–बुवा र भानुको आमा–बुवासँग सल्लाह गर्न भनिन्। त्यसपछि भूमिकाले विष्णु (सासू)लाई फोन गरिन्। भनिन्, ‘आमा म भानुको वार्षिकीमा उसले दिएको सिन्दूर, पोते लगाउँछु। ती सामान मलाई यसपटक तपाईंले लगाइदिनू।’
जीवनको उर्जावान समय कुसंस्कारको चपेटामा बिताएकी विष्णुले पनि तत्काल हुन्छ भन्न सकिनन्। छोराको सम्झनाले हो वा बुहारीको छोराप्रतिको समर्पणले विष्णुको गला अवरुद्ध भयो। खेतबारी, गाईगोठमा जीवन गुजारेका उनका श्रीमान गोपाल पौडेलले पनि यसै भन्न सकेनन्। विष्णुले नन्द टीकालाई नै फोन गरेर भनिन्, ‘बुहारीले ममी मलाई सिन्दूर–पोते लगाइदिनु भनेकी छ, के पो गर्ने हो?’
‘मसँग पनि भनेकी थिइन्। लगाइदिनू भाउजू केही फरक पर्दैन। उसले सिन्दूर, पोते लगाउँदा आफूलाई सहज महसुस गर्छिन्, सुरक्षित महसुस गर्छिन भने लगाइदिनू,’ टीकाले भनिन्।
त्यसपछि गत असार ६ गते विष्णुले छोराको बरखीको भोलिपल्ट बुहारीको सिउँदो दोस्रो पटक रंगाइदिइन्। उनले संस्कार, समाज र कथित परम्पराको वास्ता नगरी आफ्नो भावनालाई साथ दिएकी सासू र परिवारलाई धन्यवाद दिइन।
यसपछि आएका प्रतिक्रियाले उनलाई व्यस्त बनाएको छ। एकातिर श्रीमानको सम्झनाले झन् धेरै आक्रान्त पारेको छ। अर्कोतिर हेर्नै नभ्याउने गरी फोन र म्यासेज आएका छन्। खास सामाजिक सञ्जालसँग भूमिकाको उति धेरै निकटता थिएन।
‘मलाई अब मन लागेको बेला सिन्दूर पोतेमा सजिनु थियो। त्यसैले मैले दोस्रोपटक पनि विधिपूर्वक यी सामग्री लगाएको छु भनेर थाहा दिनु थियो,’ भूमिका भन्छिन्, ‘मलाई रङमा देख्दा आफ्नाले अचम्म भावले नहेरुन् भनेर जानकारी दिनु थियो। तर, पोस्ट यसरी सेयर होला, धेरैमाझ पुग्ला भन्ने त मैले कल्पना नै गरिनँ। गरेको भए म भानुसँगैको फोटो राख्ने थिएँ। मलाई म एक्लै पूर्ण लाग्दैन।’
भूमिकालाई आफूले भन्दा ठूलो क्रान्ति सासूले गरेकी हुन् भन्ने लाग्छ।
‘मैले भन्दा ठूलो क्रान्ति ममीले गर्नु भएको हो। संस्कार र बच्चाको मनको चपेटामा पर्दा पनि विचलित नभई मलाई साथ दिनुहुने आमाको विद्रोहका अगाडि मैले त मेरो रहर मात्रै पूरा गरेकी हुँ,’ भूमिकाले मलिन स्वरमा भनिन्।
Shares
प्रतिक्रिया