दोलखाको कालिञ्चोक गाउँपालिका–७ सुनखानीका दिलबहादुर खुलालको मनमा हिजोआज डर मडारिइरहन्छ। उनकी ३० वर्षीया छोरी मीरा खुलालका दुवै मिर्गौला र कलेजोले काम गर्न छाडेको छ। मीराको अवस्था अहिले गम्भीर छ। उनी डाक्टरको नियमित निगरानीमा डायलासिस गराइरहेकी छिन्।
मीराका बुवा दिलबहादुर आफ्नो मिर्गौला दिएर छोरीको जीवन बचाउन चाहन्छन्। त्यसैले अहिले उनी काठमाडौँमै बसेर मिर्गौला ट्रान्स्प्लान्टका लागि गर्नु पर्ने परीक्षण गराइरहेका छन्। अहिलेसम्मको परीक्षणमा छोरीलाई मिर्गौला दिन मिल्ने रिपोर्ट प्राप्त भएको छ। तर, अझै ३० प्रतिशत परीक्षण हुनै बाँकी छ। त्यही कारण उनलाई डर लागिरहन्छ।
‘आमाको कलेजो र मेरो मिर्गौला दिएर उसलाई बचाउँला भन्ने थियो। ५० वर्ष कटेकाले कलेजो दान गर्न नमिल्ने रहेछ,’ हतास मुद्रामा दिलबहादुरले भने, ‘कलेजो त भाइको मिल्ने भयो, मिर्गौलाको अझै टुङ्गो लागेको छैन।’
मध्यमवर्गीय दिलबहादुरको परिवारले यसअघि यस्तो कठिन परिस्थितिको सामना गर्नु परेको थिएन। ६४ वर्षीय दिलबहादुर अवकाशप्राप्त शिक्षक हुन्। उनले शिक्षण पेसा गरेर नै आफ्ना ६ सन्तानलाई पढाए। अहिले बिरामी परेकी मीरा उनकी साइँली छोरी हुन्।
‘घरमा कोही गम्भीर बिरामी नहुँदासम्म हाम्रो जिन्दगी ठिकठाक थियो। अहिले आर्थिक अभावले उपचारमै समस्या भएर सहयोग माग्नु परेको छ,’ मीराकी दिदी जमुना खुलालले सुनाइन्।
जमुनाका अनुसार मिर्गौला र कलेजो प्रत्यारोपण गर्न ५० लाख खर्च लाग्छ। तर, उनीहरूसँग यति ठूलो रकम छैन। केही सहयोग रकम पनि संकलन पनि भइरहेको दिलबहादुरले बताए।
उनी भन्छन्, ‘छोरीका स्कुल, कलेज तथा अफिसका साथीहरूले सहयोग अभियान चलाएका थिए। त्यही अभियानमा जापानमा रहेका केही सहयोगीहरू पनि जोडिनु भयो। ११ लाखजति सहयोग रकम संकलन भएको छ। छोरीको उपचारका लागि अझै धेरै पैसा चाहिन्छ। मेरो मिर्गौला मिल्यो भने बाँकी पैसा ऋण गरेर पनि उपचार गर्नु हुन्थ्यो। मिलेन भने डोनर खोज्न गाह्रो छ।’
२०७९ साल चैतमा एकाएक मीराको रक्तचाप उच्च भयो। डाक्टरले औषधि खान भने। उनलाई यति कलिलै उमेरमा प्रेसरको औषधि खान मन लागेन। अन्य शारीरिक परीक्षणमा लागिन्। उनलाई मुटुमा समस्या छ कि भन्ने शंका लाग्यो। उनी बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रमा मुटुको परीक्षण गराउन पुगिन्। परीक्षणका क्रममा दुवै मिर्गौलामा स्टोन भएको आशंकामा नेफ्रोलोजिस्टकहाँ रिफर गरियो।
टिचिङ अस्पतालमा पुगेर उनले मिर्गौला परीक्षण गराइन्। उनका दुवै मिर्गौलामा स्टोन थियो। डाक्टले भने, ‘स्टोन निकाल्न सकियो भने तपाईंको किड्नी बचाउन सक्ने चान्स छ। किड्नीमा केही असर परिसकेकाले स्टोन हटाउन सकेको खण्डमा पनि किड्नीले १० वर्षभन्दा धेरै काम गर्न सक्दैन।’
२०८० साल साउनमा उनको पहिलो सर्जरी भयो भने दोस्रो पटक कात्तिकमा। दुवै पटक उनको बायाँ मिर्गौलाको स्टोन निकालियो। दुवै पटकको सर्जरी सामान्य भयो। उनको स्वास्थ्यमा थप जटिलता आएन। उनको बायाँ मिर्गौलाकै स्टोन सकिएको थिएन। लगातार एउटैमा अप्रेसन गर्दा समस्या आउला भनेर डाक्टरले दायाँ मिर्गौलाको सर्जरी सुरु गरे।
गत वर्ष पुसमा उनको तेस्रो पटक सर्जरी भयो। यसपटक उनलाई सहज भएन। अप्रेसनपछि वान्ता भइरह्यो। उनका दुवै मिर्गौलाले काम गर्न छोडिसकेका थिए। उनको मिर्गौलाको डायलासिस सुरु भयो। २५ औँ डायलासिसपछि डाक्टरले भने, अब मिर्गौलाले पूर्ण रूपमा काम गर्दैनन्, प्रत्यारोपण गर्नु पर्छ। जसका लागि बुवा परीक्षणमा छन्।
कलेजो भने उनका २१ वर्षीय भाइ विशाल खुलालले दिने भएका छन्। उनीहरू दिदीभाइको सबै परीक्षण मिलेको छ। बुवाको मिर्गौला नमिलेको खण्डमा अर्को डोनर खोज्नु पर्ने चिन्ता एकातिर छ, आर्थिक संकट अर्कोतिर। उनीहरू अहिले आर्थिक सहयोगका लागि पनि अपिल गरिरहेका छन्।
उनको तेस्रो सर्जरीपछि मात्रै २० लाख खर्च भइसकेको छ। बाँकी उपचारका लागि आर्थिक संकट परेकाले सहयोग गर्न सक्ने र चाहनेलाई सहयोग गर्न मीराका बुवा दिलबहादुरले अनुरोध गरेका छन्। प्रभु बैंकमा रहेको मीरा खुलालको खाता नम्बर ०१५०१३५१८५६०००११ सहयोग गर्न सकिन्छ।
Shares
प्रतिक्रिया