जुम्लाका जयबहादुर सिकर्मीलाई अक्सर काठमाडौँका साँघुरा गल्लीमा भेट्न सकिन्छ। मूल सडक र ठूलो बजारमा उनी विरलै निस्किन्छन्। उनको काँधमा हमेसा छुट्दैन कालो रंगको पुरानो झोला। जुन झोलामा बोकेका हुन्छन् जुम्ला, कालीकोट लगायतका जंगलमा र पहाडमा संकलन गरिएका जडीबुटी।
जुम्लाको कनकासुन्दरी गाउँपालिकाका जयबहादुरका लागि सहरमा झोला बोकेर हिँड्नु रहर होइन, बाध्यता हो। रहर त उनको कृषि जेटीए बन्ने थियो। एसएलसीपछि जेटीएको १८ महिने कोर्स पूरा गर्दा उनी २ सन्तानका पिता भइसकेका थिए।
‘आफ्नो सपना पूरा गर्न हिँड्दा भाउ भोकै पड्ने भया,’ काठमाडौँको अनामनगरमा भेटिएका जयबहादुरले सुनाए।
जयबहादुर सिकर्मी अहिले २६ वर्षका भए। ३ सन्तान छन्। ३ वर्षअघि कान्छो छोरो जन्मिएपछि उनले स्थायी बन्ध्याकरण गराए। उनको गाउँमा अहिले पनि स्थायी बन्ध्याकरण गराउने प्रचलन खासै छैन। उनकै आमाबुवाले पनि ५ भाइ छोरा र २ बहिनी छोरीलाई ईश्वरका वरदानका रूपमा स्वीकार गरेका थिए। सन्तान हुर्काउन बुवाले गरेको संघर्ष हेर्दै हुर्किएका जयबहादुरले उस्तै संघर्ष अलि थोरै गर्ने निश्चय गरेर स्थायी बन्ध्याकरण गराएका हुन्।
उनलाई पनि बन्ध्याकरणका लागि घरबाट अनुमति थिएन। एकदिन साथीहरूसँग मिलेर भारत गए। १५–१६ जनाको टोली बनाएर गएका उनका अन्य १३ जना साथीले पनि बन्ध्याकरण गराए। २ जना साथीले उनीहरूको सेवा गरे। केही दिनको भारत बसाइपछि उनीहरू गाउँ फर्किए। साथीहरूप्रति उनी निकै कृतज्ञ सुनिन्छन्।
‘साथी नहुने हो भने बिरानो ठाउँमा भोकै मरिन्छ। साथी छन् र जहाँ पुगे पनि भर पाएका छौँ,’ जयबहादुरले जोसिलो पारामा सुनाए।
उनका पिता धनसुर कामीको जीवन भारतका विभिन्न सहर डुलेरै बित्यो। बर्खायाममा गाउँकै जिम्दारका घरमा काम गर्ने धनसुर हिउँद लागेपछि उसैगरी झोलाभरी बोक्थे जडीबुटीका पोका र निस्कन्थे भारतका गाउँहरूमा। केही महिना बिताउँथे र फर्कन्थे केही रूपैयाँ, लत्ताकपडा र आमाका लागि चुरा–पोते बोकेर।
एसएलसी दिएलगत्तै जयबहादुर पनि बुवाकै साथ लागेर भारतका गाउँ पसे। ४ महिना बसे। १६ हजार भारु कमाए। त्यसपछि थुप्रै वर्ष उनले भारतकै गाउँमा जडीबुटी, राडी–पाखी र गलैँचाको व्यापार गरे। उनी जडीबुटीको झोला बोकेर काठमाडौँ पसेको भर्खरै मात्रै हो।
यो काठमाडौँमा पनि उनलाई भरदिने उनकै गाउँले साथी गोर्ख र ललिजन छन्। उनीहरू भक्तपुर सल्लाघारीमा डेरा गरेर बस्छन्। मौका पर्दा जडीबुटी बेच्छन्। धेरै समय लोकसेवाको तयारीमा बिताउँछन्। जयबहादुरले उनीहरूकै कोठामा आश्रय लिएका छन्।
भारततिर कमाइ पनि राम्रो थियो। तर, भाषाको समस्याले उनी सहजता खोज्दै गत वर्षबाट काठमाडौँ पसेका हुन्।
‘हिमाली जिल्लाबाट जडीबुटी खरिद गरेर पहिले भारतमा लगेर बेच्थेँ,’ उनले भने, ‘अघिल्लो वर्षबाट भारत जान छोडेर यहाँ जडीबुटीको व्यापार थालेको छु।’
भारतमा व्यापार गर्दा उनले दैनिक २ हजार कमाइ गर्थे। यता उनको कमाइ घटेको छ। काठमाडौँमा ५ सयदेखि १ हजार रूपैयाँसम्म कमाइ हुन्छ। कहिलेकाहीँ त व्यापार नै हुँदैन।
‘अहिले त मानिसका हातमा पैसा हुँदैन रहेछ। ग्राहकसँग मोबाइलमा पैसा छ, मसँग पैसा पठाउन मिल्ने मोबाइल छैन,’ जयबहादुर ठट्यौली शैलीमा सुनाउँछन्, ‘मेरो कमाइ त यसरी पनि घटेको छ।’
उनको कमाइको कुनै टुंगो छैन।
‘व्यापार भनेको जुवाजस्तै हो, कहिले कमाइ हुन्छ, कहिले हुँदैन, कुनै दिन धेरै हुन्छ, कुनै दिन केही पनि हुँदैन,’ उनी भन्छन्, ‘आज कमाइ भएन भनेर मन मार्न थाल्यो भने काम गर्न सकिँदैन। ग्राहकलाई आफूले ल्याएको जडीबुटीबारे जानकारी दिएर मनाउन समय लाग्छ।’
जुम्लाबाट उनले तितो, कटुको, गदानो, पदमचाल, हिङ, शिलाजित, जेठी मधु, कालो नुन, सतुवा र जडीबुटी तेल ल्याएका छन्। जडीबुटीका साथमा उनीसँग मार्सी चामल र कालो सिमीको दाल पनि छ। यही व्यापारबाट उनले ३ छोराछोरी, श्रीमती र आफ्नो पूरै खर्च व्यहोर्दै आएको बताए।
‘जडीबुटीकै व्यापारबाटै छोरीलाई स्कुल हालेको छु। छोराहरू स्कुल जान सक्ने भएका छैनन्,’ उनले भने, ‘जोई कमजोर होली भनेर आफैँले बन्ध्याकरण गराएँ। ऊ निरोगी छ। घरको काम उसैले धानेकी छ।’
उनले सबैभन्दा धेरै बिक्री गरेको जडीबुटी हो– शिलाजित। एक किलो शिलाजित बेच्दा उनलाई तीन हजार रूपैयाँजति आउँछ। यसलाई टुक्रा पारेर स–सानो पोको बनाएर बेच्ने हो भने कमाइ अझै राम्रो हुने उनको भनाइ छ। उनका अनुसार अप्ठेरा पहाडका ढुंगा रसाएर एकै ठाउँमा शिलाजित जमेर बसेको हुन्छ, निकाल्न सहज हुँदैन। भिरमह काढेजस्तै अल्लोको डोरीको सहारा लिएर डोकोमा मान्छे बसेर भीरमा जानुपर्छ।
‘हामी ८–१० जना साथी मिलेर जान्छौँ। जमेको शिलाजितलाई छिनोले खनेर निकाल्छौँ,’ उनी भन्छन्, ‘शिलाजित बाह्रैमास पाइन्छ, तर साउन–भदौतिर हिउँ पग्लेको हुन्छ। खुट्टा चिप्लिँदैनन्। यो सिजनमा हामी शिलाजित खोज्न जान्छौँ।’
अहिले उनीजस्तै थुप्रै युवा सिजनमा शिलाजित खोज्न जान्छन्। उनका बुवाको पालमा जस्तो ठूलो मात्रामा पाइँदैन। उनी गाउँमै अरुले खोजेर ल्याएको शिलाजित किनेर पनि बेच्न ल्याउँछन्।
खास उनलाई गीत गाउने रहर छ। त्यही रहरले भारतको बजार छोडेर काठमाडौँ पसेका हुन्। यता व्यापार थालेलगत्तै उनका बुवा धनसुरको मृत्यु भयो।
‘यो वर्ष बुवाको शोक बोकेर बसेको छु,’ जयबहादुरले रहर सुनाए, ‘अर्को साल गीत गाउने हुँ।’
कमाइ थोरै भएपनि आफ्नै देशमा व्यापार गर्न पाउँदा उनी खुसी देखिन्छन्।
‘भारत अर्काको देश हो, त्यहाँ डराइडराई व्यापार गर्नुपथ्र्यो,’ थोरै कमाइमा पनि खुसी देखिनुको रहस्य उनले खोले, ‘यहाँ व्यापार गर्न डराउनु पर्दैन, भाषाको समस्या छैन, सबैले भनेको कुरा बुझ्छन्, कोहीकोही जडीबुटी बेच्छौ, लाइसेन्स छ भनेर हप्काउने पनि भेटिन्छन् तर त्यस्ताको वास्ता गर्दैनौँ, आफ्नैै तरिकाले व्यापार गर्छौं।’
Shares
प्रतिक्रिया