ad ad

समाज


मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

नेपालखबर
साउन १४, २०८१ सोमबार १८:२, म्याग्दी

मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ। चराविद् सञ्जय था श्रेष्ठ र शंकर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पारेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ। 

नेपाल बर्ड रेकर्ड कमिटी (चरा अभिलेख तथा प्रमाणीकरण गर्ने समिति) का अध्यक्ष डा तुल्सी सुवेदीले श्रेष्ठ र तिवारीले उक्त तिनधर्से अर्जुनक जातको चरा नेपालमा पहिलो पटक भेटिएको विज्ञप्तिमार्फत जानकारी दिए।

स्पोटेड फ्लाइक्याचर (Spotted Flycatcher) अंग्रेजी नाम भएको उक्त चराको वैज्ञानिक नाम मुसिकापा स्ट्रिएटा (Muscicapa Striata) रहेको कमिटिका अध्यक्ष सुवेदीले जानकारी दिए।

समुन्द्री सतहबाट तीन हजार छ सय ५० मिटर उचाइमा यही साउन २ गते बिहान पदयात्राका क्रममा श्रेष्ठ र तिवारीले खिचेको सो चराको तस्विर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटिमा पठाएका थिए।

उपलब्ध प्रमाण, विवरण अध्ययन र राष्ट्रिय अन्र्तराष्ट्रिय पन्छीविद्सँगको सुझावका आधारमा तालुधर्से अर्जुनक भएको पुष्टि गरी नेपालमा पाइने चराको अभिलेखमा प्रजाति थप गरिएको अध्यक्ष सुवेदीले बताए।

धर्से अर्जुनकसहित नेपालमा चरा प्रजातिको सङ्ख्या आठ सय ९६ वटा पुगेका छन्। अर्जुनक प्रजातिको सङ्ख्या २४ पुगेको छ। नेपालबाट सबैभन्दा नजिक मङ्गोलिया, उत्तरी चीनको विभिन्न ठाउँ, पश्चिमतर्फ अफगानिस्तान, पाकिस्तानमा यो चरा पाइन्छ।

जाडो याममा यिनीहरु नियमित रुपमा दक्षिणतिर बसाइँ सर्छन्।

मुस्ताङमा भेटिएको यो चरा बसाइँसराईको क्रममा बाटोमा फिरन्ते रुपमा आइपुगेको हुन सक्ने अनुमान गरिएको चराविद् सञ्जय था श्रेष्ठले बताए।

‘देशका लागि नयाँ चरा पहिचान गर्न सकेकामा खुसी लागेको छ’, वाइल्डलाइफ फोटोग्राफरसमेत रहेका श्रेष्ठले भने, ‘यसले चरा पर्यटनमा लाग्न उत्साह थपिएको छ। चराका फोटो खिच्न उत्प्रेरित गरेको छ।’

नेपाल बर्ड रेकर्ड कमिटीले नेपालमा नयाँ चराको अभिलेख राख्ने गर्दछ। श्रेष्ठले सन् २०२० मा मनोहरामा सेतोजुँगे बगेडी चरा मुलुकका लागि पहिलो पटक अभिलेख गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .