साउन १५ र खीर पर्यायवाची शब्द भएका छन्। यो दिन खीरको चर्चा निकै गरिन्छ। प्रायः नेपालीको भान्छामा खीर पाक्ने गर्छ।
केही वर्ष अघिसम्म गाउँमा साउन महिनाभरि खीर पाक्ने गरेको स्मरण गर्दै मिलन तिमिल्सिना भन्छन्, ‘हाम्रातिर चाहिँ पहिले साउनको १५ मै खीर खानुपर्छ भन्ने थिएन। साउनभर जुनदिन खाए पनि हुन्थ्यो। सबैका घरमा दुहुना नहुने। भए पनि थोरै दूध हुने। वल्लोपल्लो घरबाट जम्मा गरेर एक दिन एउटा घरमा, अर्को दिन अर्कोघरमा खीर खाइन्थ्यो। खीर खान भन्दै पल्लोघरबाट बाल्टीमा दूध ल्याएको दिन दसैँ आएजत्तिकै रमाइलो!’
आज धेरैले खीरसँग जोडिएका यस्तै रमाइला प्रसंगहरू सम्झिरहेका छन्। डा. अरुणा उप्रेती साउन १५ र खीरको सन्दर्भमा नोस्टाल्जिक हुन्छिन्। सुदूरपश्चिमको डोटीमा खाजाका रूपमा खीर खाएको सम्झना गर्छिन्। खीरको सम्झनासँगै उप्रेती डोटीको पुरानो ‘खीरबुढा’ पसल सम्झिन्छिन्। जहाँ साउन १५ का दिन बिहानदेखि बेलुकासम्मै खीर पाक्थ्यो।
उप्रेती भन्छिन्, ‘डोटीमा ‘खीरबूढा’ पसल थियो, जहाँ बिहानदेखि बेलुकासम्म खीर पकाइन्थ्यो। बिहानेदेखि निक्कै भिड हुन्थ्यो।’
पौष्टिकताले भरिपूर्ण खीरलाई उनी अमृतसमान मान्छिन्। भन्छिन्, ‘खीर बालबालिकादेखि वृद्धसम्मका लागि उपयोगी हुन्छ।’
उप्रेतीले आफ्नो भान्छामा पनि साउन १५ मा खीर पकाउने गरेको सुनाइन्। ‘जसको छुट्टै सांस्कृतिक महत्व रहेको छ,’ उप्रेती भन्छिन्, ‘खीर संस्कृति मौसम र शरीरको अवस्थालाई हेरेर सुरु भएको हो।’
साउन १५ र खीर संस्कृति कसरी सुरु भयो होला त? संस्कृतिविद् तुलसी दिवस साउन १५ मा खीर खानु मानवीय रहनसहन र पर्यावरणका कारण सिर्जत खाद्य संस्कृति भएको बताउँछन्। नेपाली कृषकबाटै खीर संस्कृति सुरु भएको उनको भनाइ छ।
‘खीर संस्कृति कृषि र पशुपालनसँग सन्निकट छ। यो धेरै वर्षअघिको कुरा हो, चिसोका कारण साउनमा धेरै मानिसहरू बिरामी परे। त्यसबेला अस्पताल थिएनन्। उपचारका लागि आयुर्वेदिक औषधि प्रयोग गर्नुपथ्र्यो,’ उनी भन्छन्, ‘यसै क्रममा खीर पकाएर खाइयो। जसबाट बिरामीले ऊर्जा पायो र बिरामी निको भयो। कालान्तरमा यो संस्कृतिका रूपमा विकास भएको देखिन्छ।’
असारको तुलनामा साउनमा चिसो बढी हुने भएकाले आयुर्वेदिक मान्यताअनुसार यतिबेला पायस भोजन गर्दा शरीर स्वस्थ हुने र शारीरिक सन्तुष्टि प्राप्त हुने उनको तर्क छ। उनी पायस त्रिलोकमै प्रिय भएको बताउँछन्। खीरलाई पायस भन्ने पनि प्रचलन छ।
धार्मिक सन्दर्भ कोट्याउँदै उनी भन्छन्, ‘देवलोकका शिवलाई पायस मन पर्छ, श्रावणमा शिवलाई पायस चढाउने चलन अझै छ । श्राद्ध गर्दा यमलोकका पितृलाई पायस चढाइन्छ। मर्त्यलोक (पृथ्वी)मा पायस झनै लोकप्रिय छ। उनी खीरको सांस्कृतिक र औषधीय महत्व रहेको बताउँछन्।
खीरसँग गाँसिएका मानिसका आ–आफ्नै कथा छन्। प्रा.डा. शंकर आचार्य खीर संस्कृति पशुपालन युगमा सुरु भएको बताउँछन्। उनी साउनमा माछामासु खान नहुने चलन रहेको सुनाउँदै भन्छन्, ‘मासुको विकल्पका रूपमा पनि खीर खान थालियो। विशेषतः शरीर न्यानो पार्न खीर खाने चलन बसेको हो।’
नेपालमा मात्रै होइन, विश्वमा खीर खाने प्रचलन छ। विश्वमा खीर खाने प्रचलन १४ औँ शताब्दीवाट फैलिएको बताइन्छ र यसको सुरुवात चीनबाट भएको विश्वास गरिन्छ। भारतको गुजरातमा दूधपाक, बंगालमा पायस, श्रीलंकामा क्रीवाथजस्ता नाम दिइएको खीर खासगरी मध्यपूर्व एसिया, उत्तर अफ्रिका, पश्चिम एसिया र सार्क क्षेत्रमा बढी मात्रामा खाइन्छ। युरोप र अमेरिकामा समेत खीर खाइन्छ।
नेपालमा भने यसको प्रचलन परापूर्व कालदेखि नै सुरु भएको संस्कृतिविदहरू बताउँछन्। विशेषतः नेपाल कृषिप्रधान देश भएकोले असार मसान्तसम्म नेपालीहरू हिलोमा धान रोप्छन्। खेती कार्यमा ह्रास भएको शक्ति पुनर्ताजगी गर्न साउनमा खीर खाई स्वास्थ तथा तन्दुरुस्त बन्ने गरिन्छ। खीर स्वस्थकर पौष्टिक खाद्य पदार्थ भएको जनस्वास्थ्यविदहरू पनि बताउँछन्।
पछिल्लो समय असली खीरको स्वाद बिग्रँदै गएकोमा खीर पारखीहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। गाउँघरमा गाईभैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खीरको मौलिक स्वाद पनि हराउँदै गएको उनीहरूको तर्क छ। विगतमा प्रत्येक घरमा गाईभैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएकाले वर्षको एक दिनमात्र परम्परा धान्ने र अरुलाई देखाउनकै लागि भए पनि डेरीको दूधमा खीर बनाएर खाने चलन विकसित हुँदै गएको मकवानपुरका टेक धमला बताउँछन्।
परम्परा धान्ने नाममा साउन १५ मा डेरीबाट दूध किनेर ल्याएर कुकरमा सिठ्ठी लगाएर पकाएको खीरमा पहिलाको जस्तो स्वाद कहाँ पाउनु?’ ६४ वर्षीय धमलाले भने, ‘दूध, दही र मोहीको ठाउँ कोक, ड्यु र फ्यान्टाले लिए। हिजोआजका केटाकेटीलाई खीर कस्तो हुन्छ र केबाट बन्छ भन्ने कुरा पनि थाहैै छैन।’
पोषणविद् प्रा.डा. उमा कोइरालाको घरमा यो दिन प्रायः खीर पाक्छ। उनी नजिकका आफन्तलाई बोलाएर खीर ख्वाउँछिन्। उनले थुप्रै वर्ष आफ्नो भान्सामा पाकेको खीर साथीभाइ र परिवारसँग बसेर खाएकी छिन्। त्यसो त काम व्यस्तताका कारण कुनैकुनै वर्ष यो अवसर गुमेको कोइराला बताउँछिन्। उनी खीरमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, क्याल्सियम र फस्फोरस पाइने बताउँछिन्।
कोइराला भन्छिन्, ‘खीरमा ग्लाइकोजिन पाइन्छ। रोपाइँका बेला कडा परिश्रम गरेकाले ग्लाइकोजिन नष्ट भएको हुन्छ। त्यतिबेला शक्ति क्षय भएको हुन्छ। शक्ति पुनः प्राप्तका लागि खीर खानु उपयुक्त हुन्छ।’
उनले तराईतिर खीर खाने मानिसलाई लामखुट्टेको टोकाइले खासै असर नगर्ने भनाइ समेत सुन्न पाइने बताइन्।
Shares
प्रतिक्रिया