हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइएको छ।
बिहान ८ बजेर २६ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो। काठमाडौँको हनुमानढोकामा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको छ।
हनुमानढोकामा रहेको लिङ्गो ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ। इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ। यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो।
इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ। इन्द्रजात्रा काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा/आराधना गरी परम्परागत रूपमा नेवारी समुदायले मनाउने जात्रा हो।
यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो।
इन्त्रजात्राको प्रमुख कार्य नै लिङ्गो (ध्वजा) स्थापना हो। १२ औँदेखि १८ औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो।
भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरु भई यँलागाः चौथी अर्थात इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।
इन्द्रजात्रा र लिङ्गो (ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, वृहत्संहीता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ।
Shares
प्रतिक्रिया