ad ad

समाज


राजीनामा फिर्ता गराएर कर्णाली पठाइएका डीआईजी ठकुरी ४ महिनामै तानिए

राजीनामा फिर्ता गराएर कर्णाली पठाइएका डीआईजी ठकुरी ४ महिनामै तानिए

ठकुरी तानिएपछि कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी डीआईजी जनक भट्टराईले पाएका छन्


नेपालखबर
असोज ७, २०८१ सोमबार २०:४४, काठमाडौँ

राजीनामा फिर्ता गराएर प्रदेश प्रमुखको जिम्मेवारी दिइएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरी चार महिनामै फिर्ता भएका छन्। 

आइतबार गृहमन्त्री रमेश लेखकले चन्दलाई कर्णाली प्रदेश प्रमुखको जिम्मेवारीबाट हटाउने निर्णय गरेका हुन्। डीआईजी चन्दले आचरणविपरीत गतिविधि गरेको पाइएपछि उनलाई हटाउने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। 

ठकुरीलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ। कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी डीआईजी जनक भट्टराईले पाएका छन्। 

यसअघि उनले मधेस प्रदेशको कमान्ड गरिसकेका छन्। २०८० वैशाखमा भट्टराईलाई मधेस प्रदेशको जिम्मेवारी दिइएको थियो। 

डीआईजी ठकुरी भने यसअघि विमानस्थल प्रमुख हुँदा पनि विवादमा तानिएका थिए। विमानस्थलमा कर्मचारीसँगको विवादका कारण उनले राजीनामा नै दिएका थिए। तर प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर लगायतका अधिकारीले सम्झाई बुझाई राजीनामा फिर्ता गराएर सेवामा फर्काएका थिए। 

डीआईजी चन्द त्यतिबेलै राजीनामा दिएर बिदामा बसेका थिए। ठकुरीले आफू प्रदेश प्रहरी प्रमुख भएर जान पाउनु पर्ने माग गर्दै आएका थिए। आईजीपी कुँवरले उनलाई प्रदेश प्रमुखको जिम्मेवारी दिने वचन दिएपछि उनी राजीनामा फिर्ता गरेर काममा फर्किन तयार भएका थिए। 

राजीनामा फिर्तापछि उनलाई तत्कालका लागि प्रदेश समन्वय विभागमा सरुवा गरिएको थियो। तर गत जेठ १६ गते तत्कालीन गृहमन्त्री रवि लामिछानेले उनलाई कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिएका थिए।

 चन्दलाई कर्णालीमा पठाउनकै लागि त्यतिबेला डीआईजी लालमणि आचार्यलाई ५ महिना नपुग्दै सरुवा गरिएको थियो। कर्णालीबाट छिट्टै सरुवा गरिएका डीआईजी आचार्य सबैभन्दा आकर्षक मानिने मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन्। 
हालका डीआईजीमा भट्टराई र आचार्य दुवैले मधेस प्रदेश र कर्णाली प्रदेश प्रहरी प्रमुख भएर काम गर्न पाउने भएका हुन्। 

हाल कोसी प्रदेश प्रहरी प्रमुखमा चन्द्र कुबेर खापुङ, मधेस प्रदेशमा लालमणि आचार्य, बागमतीमा कृष्णहरि शर्मा पोखरेल, गण्डकीमा दुर्गा सिंह, लुम्बिनीमा कुबेर कडायत र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा डीआईजी रवीन्द्र केसी कार्यरत छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .