आज बिहानैदेखि देशभरको मौसम बदली (आकाशमा बादल) भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक/दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ।
महाशाखाका अनुसार दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै कोसी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
महाशाखााका अनुसार आज राति पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
यस क्रममा राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
मौसमविद्का अनुसार आजदेखि मनसुनसँगै बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको पनि प्रभाव परेकाले देशभर मौसम बदली र वर्षा बढ्ने भएको हो।
मौसम महाशाखाले हिजै साँझ विशेष बुलेटिन जारी गरी आजदेखि ५ दिनसम्म देशव्यापी रूपमा मौसम बदली र व्यापक वर्षाको सम्भावना रहेको जानकारी दिएको थियो।
Shares
प्रतिक्रिया