गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परिवारका ८ जना गुमाएका काभ्रेको तेमाल गाउँपालिका–२ का माइला तामाङको उद्धार भएको छ।
पहिरोमा ८ जनाको परिवार गुमाएका माइला तामाङ शनिबार साँझ अविरल वर्षा र पहिरोका कारण उद्धार हुन सकेको थिएन। उनको आइतबार दिउँसो ४ बजे हेलिकप्टरबाट उद्धार गरेर धुलिखेल अस्पतालमा उपचारका लागि पुर्याइएको वडाध्यक्ष देवराज तामाङले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार, अहिले माइलाको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुँदै गइरहेको छ। शनिबार राति उनलाई गाउँलेले त्यहाँबाट उद्धार गर्न नसकेपछि छिमेकीकोमा राखेका थिए।
घरसहित परिवारका ८ जनालाई नै पहिरोले बगाउँदा माइलालाई भने जस्ताले थिचेको अवस्थामा गाउँलेले निकालेका थिए। तर अस्पतालतर्फ लैजाँदै गर्दा वर्षा र जताततैबाट पहिरो जान थालेपछि उनीहरू पनि छाडेर फर्किएका थिए।
उनको टाउको र खुट्टामा चोट छ।
माइला तामाङकी श्रीमती, बुबा ७५ वर्षीय सानुमान तामाङ र ७२ वर्षकी आमा, भाइ ३२ वर्षका मानजित लामा, बुहारी, भाइका छोरी छोरी ३ जनालाई पहिरोले बगाएको थियो।
Shares
प्रतिक्रिया