काठमाडौँ उपत्यकाका नदी तटको दायाँ–बायाँ थप २० मिटर क्षेत्रमा भौतिक संरचना नबनाउनु भन्ने सर्वोच्च अदालतको आदेशले एक साताअघि राजनीतिक माहौल तातिएको थियो।
खासगरी सर्वोच्चले २०७६ साउन २० गते जारी गरेको १२ बुँदे अन्तरिम आदेशमै नदी तटको मापदण्ड थप २० मिटर कायम गर्न भनेको थियो। उक्त आदेशलाई नै निरन्तरता दिएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएपछि काठमाडौँ महानगरका मेयर बालेन शाहले त्यसलाई कार्यान्वयन गर्न सूचना जारी गरे। त्यसैले हो, खल्बली मच्चाएको।
अनि सुरू यभो, मेयर बालेनको निर्णयको विरोध, सर्वोच्चको फैसलाविरुद्ध राजनीतिक दलको विरोध अभियान अनि फैसलाविरुद्ध ‘भ्याकेट’मा जाने प्रधानमन्त्री ओली नेतृत्वको सरकारको तयारी।
तर, शुक्रबार र शनिबार आएको भीषण वर्षाका कारण काठमाडौँसहित देशभर आएको बाढी–पहिरोले पुर्याएको क्षतिपछि सर्वोच्चको आदेश र बालेनको सूचनाबारे गरम प्रतिक्रिया दिनुअघि ठण्डा दिमागले सोच्नुपर्ने अवस्थामा सबैलाई पुर्याएको छ।
सर्वोच्चको आदेश- बागमतीछेउका सुकुम्वासीलाई अपार्टमेन्टमा सार, नदी किनारा खाली गर
बाढी–पहिरोले पुर्याएको क्षतिलाई नियाल्दा नदी तटीय क्षेत्रलाई जबरजस्ती साँघुरो पार्दै बसेका बस्तीहरूमा नै बाढीले धेरै असर गरेको देखिन्छ।
नदी किनारा मिचिएको ठाउँमा बढी क्षति
ललितपुरको च्यासलस्थित खोला किनारमै रहेको नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय यो वर्ष मनोहरा नदीको चपेटामा पटक–पटक पर्यो। त्यहीँको फुटबल मैदानको हाल पनि त्यस्तै रह्यो।
काठमाडौँको थापाथली–यूएन पार्क क्षेत्रमा रहेको एपीवान टेलिभिजनमा बागमती नदीको बाढी पस्दा टेलिभिजन प्रसारण नै बन्द भएको छ।
ललितपुरको नख्खु खोला क्षेत्रमै रहेको कवाड व्यवसायीहरूको छाप्रो बाढीको भेलकाबीचमा पर्यो। ज्यान जोगाउन गुहार माग्दै ४ जना छाप्रोको छतमा पुगे। प्रहरीले समेत उर्लंदो भेलका बीचमा पुगेर उद्धार गर्ने साहस देखाएन। केहीबेरमै छाप्रो पनि बाढीले बगायो, त्यहीसँगै उनीहरू पनि बगे।
तर, काभ्रे घर भएका चणिकलालले हिम्मत देखाएर बच्चसहित दुई जनाको उनले ज्यान जोगाए। अर्को एकजनालाई अलि तल पुगेपछि उद्धार गरियो। एकजना बच्चा भने बेपत्ता छन्। नख्खु खोलाले बिगार गर्दा त्यो क्षेत्रमा अरु थुपै्र घर डुबानमा परेका छन्।
ललितपुरकै कर्मनासा र गोदावरी खोलामा आएको बाढीले पनि धेरै क्षति पुर्यायो। महालक्ष्मी नगरपालिकामा ९ जनाको मृत्यु भयो। मेयर हरिगोविन्द श्रेष्ठका अनुसार कर्मनासा र गोदावरी खोलाले विध्वंस मच्चाउँदा करिब ५ सय घर डुबानमा परेका छन्।
काभ्रेको रोशी खोलामा पनि ठूलो बाढी आयो। रोशी खोलाले पनौती नगरपालिको मल्पीमा भर्खरै बनाएको पक्की घर बगाएको दृश्य अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ छ। मेयर रामशरण भण्डारीका अनुसार त्यस क्षेत्रबाट १७ जना बेपत्ता भएकोमा अहिलेसम्म ५ जनाको शव फेला परेको छ।
रोशी खोलाको डिलमै रहेको नार्के बजार क्षेत्रमा पनि बाढीले ठूला–ठूला घर बगाएको छ। रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नार्के बजारका १२ घर बाढी–पहिरोले बगाएको छ। ११ जनाको मृत्यु भएको छ।
त्यस्तै सिन्धुलीको मूलकोट र खुर्काेटमा पनि सुनकोसी नदीले ठूलो क्षति पुर्याएको छ। नदीमा आएको बाढीले मूलकोटको पशुपति प्रावि, त्यहाँका दर्जनौँ घर र रिसोर्ट डुबानमा परेका छन्। खुर्कोटमा बसपार्क, सशस्त्र प्रहरीको बेस क्याम्प र दर्जनौँ घर तथा होटलहरू डुबानमा परेका छन्।
यी घटनाले पहिलेको २० मिटरमा थप २० मिटर छोड्नुपर्ने अदालतको फैसला सान्दर्भिक रहेको भन्ने पुष्टि गरेको काठमाडौँ महानगरका मेयर बालेन शाहका कानुनी सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्याल बताउँछन्।
‘फैसलाको औचित्यलाई प्रकृतिले नै पुष्टि गरिदिएको छ,’ नेपालखबरसँग उनले भने, ‘दर्ता गरे पनि, नगरे पनि नदीको अधिकार खोसेर बस्ती बसेको छ। नदी बग्ने ठाउँ र मान्छे बस्ने ठाउँ एकै हुनुहुँदैन। नदी बग्ने ठाउँ छोडेर बस्ती बस्नुपर्छ भन्ने कुरा अदालतले भनेको हो।’
नदीको बहाव क्षेत्रमा भएका जग्गाको अवमूल्यन हुनुपर्ने र ती क्षेत्रमा अब चाहिँ निर्माण निषेध गर्नुपर्ने सर्वोच्चको फैसलाको सार भएको अर्याल बताउँछन्।
बाढी नियन्त्रणका तीन विकल्प
नदी तटीय क्षेत्रमा बाढी नियन्त्रणका धेरै उपाय रहेको बताउँछन्, जापान निवासी एनआरएनए नेता एवं इन्जिनियर महेश श्रेष्ठ। उनी तीन विकल्प अघि सार्छन् :
नदी किनारा चौडा वा गहिराइ बढाउने
‘नदी किनारा चौडा बनाउने, गहिराइ बढाउने वा बाँध बाँधेर पनि बाढी नियन्त्रण गर्न सकिन्छ,’ उनको भनाइ छ, ‘जसले गर्दा भारी वर्षात् भएको बेला बढी पानीको प्रवाह पनि सम्भव बनाउँछ र नदीले बगाउन सक्ने जोखिम कम गर्छ।’
पानीको भण्डार र पम्पिङ स्टेसन निर्माण
‘वर्षा पानीको भण्डार र पम्पिङ स्टेसनहरू बनाउन सकिन्छ,’ श्रेष्ठ भन्छन्, ‘जसले अत्यधिक वर्षा हुँदा अतिरिक्त पानी भण्डारण र नियन्त्रण गर्न मद्दत गर्छ। अनि, सुख्खा मौसममा सिँचाइ गर्न पनि सहयोग पुग्छ।’
खुला स्थानमा मात्रै नभई, प्रत्येक घर–घरमा पनि त्यस्ता पानी पानीको भण्डार र पम्पिङ स्टेसनहरू बनाउन सकिने उनको भनाइ छ।
पानीको बहाव मूल्यांकन
घना सहरी क्षेत्रभन्दा बाहिरका नदी तटीय क्षेत्रमा पानीको बहाव मूल्यांकन गर्दै त्यस अनुसार खोलाको चौडाइ र गहिराइ तोकेर जान सकिने श्रेष्ठ बताउँछन्।
‘ठाउँ र परिवेश अनुसार बाढी–पहिरो नियन्त्रणमा फरक तरिका अपनाउन सकिन्छ,’ उनी भन्छन्, ‘पानीको बहाव मूल्यांकन गरेर नदीको चौडाइ र गहिराइ पनि निर्धारण गर्न सकिन्छ।’
Shares
प्रतिक्रिया