ad ad

समाज


२ दिन अलपत्र पर्दा मिर्गौला प्रत्यारोपण गर्न हिँडेका मानबहादुरले एम्बुलेन्समै त्यागे प्राण

२ दिन अलपत्र पर्दा मिर्गौला प्रत्यारोपण गर्न हिँडेका मानबहादुरले एम्बुलेन्समै त्यागे प्राण

बाढीले बीपी राजमार्गमा ठाउँठाउँमा क्षति पुर्‍याएको छ


नेपालखबर
असोज १३, २०८१ आइतबार २३:१८, काठमाडौँ

महोत्तरीको बर्दिवास नगरपालिका–८, हात्तीलेटका ४५ वर्षीय मानबहादुर सिंजाली अघिल्लो हप्ता मात्रै नेपाल फर्किएका थिए। आज आइतबार आठ दिन मात्रै भयो, उनी भारतबाट आएको।  

वडा नम्बर ८ का वडा अध्यक्ष शमशेर सिंहका अनुसार मानबहादुर झन्डै १२ वर्षदेखि परिवारसहित भारतको दिल्लीमा बस्दै आएका थिए। रोजगारीका लागि भारत गएका उनी र उनको परिवार बेलाबखत घर आउजाउ गर्थे। चाडबाड मनाउन र काम विशेषले घर आउने उनी र उनका परिवार यसपटक भने मनमा ठूलो पीडा बोकेर फर्किएको थियो। 

केही समयअघि मान बहादुरलाई मिर्गौलामा समस्या देखियो। करिब ३/४ महिना उतै उपचार पनि गराए। नियमित डायलासिस भइरहेको थियो। डायलासिसले मात्रै नहुने भयो। मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भयो। आर्थिक संकटसँग जुधिरहेको मानबहादुरको परिवारमा अर्को बज्रपात पर्‍यो। पैसा कसरी जुटाउने? प्रत्यारोपणका लागि मिर्गौला कसले देला? 

आफ्नो सन्तानको माया बा–आमालाईजति अरू कसलाई हुन्छ? ६८ वर्षका बुवा शुक्रमान सिंजालीले छोरालाई मिर्गौला दिने भए। प्रत्यारोपणका लागि बुवाले मिर्गौला दिने भएपछि मानबहादुर नेपाल फर्किए। आइतबार नेपाल फर्किएका उनलाई सोमबार जनकपुर लगियो। प्रादेशिक अस्पतालमा सोचेजस्तो उपचार हुन सकेन। 

बिरामीलाई झन् गाह्रो भएपछि परिवारले उनलाई थप उपचारका लागि काठमाडौँ ल्याउने निर्णय गर्‍यो। 

वडाध्यक्ष सिंहले भने, ‘बिरामीलाई झन् गाह्रो भयो, अब हामी काठमाडौँ लिएर जान्छौँ भनेर उहाँको मिसेस आउनु भएको थियो वडामा। दिल्लीमा डायलसिस हुँदा यस्तो खालको असर देखिएको थिएन, यहाँ त खै कसरी गरिदियो, बिरामीलाई एकदम गाह्रो बनाइदियो भन्ने उहाँको कुरा थियो।’       

श्रीमानको उपचारका लागि काठमाडौँ लैजान विपन्नताको प्रमाणपत्र बनाइदिनको लागि अनुरोध गर्दै मानबहादुरकी श्रीमती हेमाकुमारी बुधबार वडा कार्यालय पुगेकी थिइन्। वडाध्यक्षले विपन्नको प्रमाण दिए। वडाले १० हजार र नगरले २५ हजार गरी ३५ हजार आर्थिक सहयोग पनि दियो। 

विपन्नताको सिफारिस दिएपछि वडाध्यक्षले सोधे, ‘अब कहिले जानुहुन्छ काठमाडौँ?’ हेमाकुमारीले ‘आजभोलिमै जानुपर्नेछ दाइ’ भनिन्। डायलासिसले मात्रै नहुने भएकाले अब प्रत्यारोपण नै गर्नुपर्ने उनले वडा अध्यक्षलाई सुनाइन्। वडा अध्यक्षले फेरि सोधे, कसले दिने भयो त मिर्गौला? 

‘बुवाले दिने कुरा छ’ उनले भनेकी थिइन्।     

नेपालखबरसँगको कुराकानीमा वडाध्यक्ष सिंहले भने, ‘त्यसरी उहाँहरू काठमाडौँ जाने कुरा थियो, ठ्याक्कै शुक्रबारको दिन यहाँबाट हिँड्नुभएछ। नेपालथोक पुगेपछि उहाँहरू जाममा पर्नुभयो।’ 

सिंजालीलाई बर्दिबासकै ज १ च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौँ ल्याइँदै थियो। एम्बुलेन्स चालक उमेश मगरका अनुसार मानबहादुरको उपचार गर्न काठमाडौँको टिचिङ अस्पतालका लागि बर्दिबासबाट एम्बुलेन्स हिँडेको थियो। तर, शुक्रबारदेखि नै सिन्धुलीको सुनकोसी गाउँपालिका–१ दुम्जामा एम्बुलेन्स रोकियो। न काठमाडौँ आउन सक्यो, न बर्दिबास फर्किन। 

मानबहादुरलाई व्यथाले झन् च्याप्यो। उनीसँगै परिवार छट्पटाइरह्यो। काठमाडौँमा उपचार गरेर मिर्गौला प्रत्यारोपण गरी नयाँ जीवन बाँच्ने मानबहादुरको सपना पहिरोले पुरिदियो। आइतबार बिहान २ बजेतिर उनले एम्बुलेन्समै प्राण त्यागे। 

आफ्नै मिर्गौला दिएर छोरालाई बचाउने शुक्रमानको चाहना पनि पूरा हुन पाएन। लामो प्रयासपछि प्रहरीले पहिरोमा रोकिएको एम्बुलेन्स उद्धार त गर्‍यो तर त्यतिबेलासम्म मानबहादुरले संसार छोडिसकेका थिए। नयाँ जीवनको आशा बोकेर शुक्रबार त्यही बाटो काठमाडौं हिँडेको एम्बुलेन्स आइतबार दिउँसो नेपालथोकबाट मानबहादुरको शव लिएर त्यही बाटो बर्दिबासै फर्कियो।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .