समाज


कोरोना आशंका गरिएका बिरामीको नमूना संकलन गर्न १ सय किमी टाढा पुगे बागलुङका स्वास्थ्यकर्मी

कोरोना आशंका गरिएका बिरामीको नमूना संकलन गर्न १ सय किमी टाढा पुगे बागलुङका स्वास्थ्यकर्मी

नेपालखबर
चैत १८, २०७६ मंगलबार ३:९,

कोरोना भाइरस संक्रमित बागलुङकी २२ युवतीसँग सम्पर्कमा आएका ११ जनाको नमूना संकलन गरिएको छ।

चैत ४ मा संक्रमित युवतीसँगै एयर अरेबियाको एउटै जहाजमा आएका ढोरपाटन नगरपालिकाका एक युवक, बागलुङ नगरपालिका गौँडाकोटकी एक महिला र कुँडुलेकी युवतीको परिवारका सात सदस्यको नमूना संकलन भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

ती युवतीसँगै काठमाडौँदेखि बागलुङ बजारसम्म यात्रा गरेका काठेखोला गाउँपालिका घर भई बागलुङ बजारमा बस्दै आएका अर्का एकको समेत कोरोना परीक्षणका लागि स्वाब संकलन भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए।

स्वाब आज (मंगलबार) दिउँसो पोखरा पठाउने तयारी भइरहेको छ। स्पेनबाट आएका काठेखोला गाउँपालिकाका अर्का एक युवकमा समेत कोरोनासँग मिल्दो लक्षण देखापरेकाले उनको समेत स्वाब लिएर सबै नमूना एकैसाथ परीक्षणका लागि पठाइनेछन्।

बुर्तिबाङमा रहेका युवाको स्वाब संकलनका लागि भने स्वास्थ्य कार्यालयका प्राविधिक डिल्ली आचार्य उनको गाउँमै पुगेका छन्। उनको घर सदरमुकामबाट झण्डै एक सय किलोमिटर टाढा छ।

बागलुङ नगरपालिका-४ की ती युवतीको कोरोना परीक्षण गर्दा गत शनिबार नतिजा पोजेटिभ आएको थियो।

‘हामीले फोन ट्रेसिङ गरिरहेका छौंँ, संक्रमितसँग एकदमै नजीक रहेकाहरुलाई परीक्षण गरिहाल्ने योजना छ’, गुरौले भने, ‘प्रोटोकलअनुसार लक्षण देखापरेपछि मात्रै अन्य सम्भावितको जाँच हुन्छ।’

पछिल्लो समय जाँचका लागि पठाइएका १० जनासहित बागलुङमा कोरोना जाँच हुनेको सङ्ख्या १३ पुगेको छ। यसअघि नमूना पठाइएका बागलुङ नगरपालिकाकै दुई जनाको नतिजा भने नेगेटिभ आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .