समाज


मिर्गौला रोगीलाई निःशुल्क बस सेवा

मिर्गौला रोगीलाई निःशुल्क बस सेवा

नेपालखबर
चैत २६, २०७६ बुधबार १४:४०,

लकडाउनका कारण सवारीसाधन नचल्दा मिर्गौलाको डायलोसिस गर्नुपर्ने बिरामी समस्यामा परेपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले निःशुल्क बस सञ्चालन गर्ने भएको छ। दुई वर्षदेखि नवलपरासीको बर्दघाट, तिलोत्तमाको मणिग्रामसम्म दैनिक निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको अस्पतालले बिहीबारदेखि कपिलवस्तुको बाणगंगा नगरपालिकाको बनगाईसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको हो।

नियमित रुपमा मिर्गौलाको डायलोसिस गर्न आउने कतिपय बिरामी लकडाउनका कारण महँगो भाडा तिरेर एम्बुलेन्समार्फत अस्पताल आउनुपरेको थियो भने कतिपय बुटवलमै कोठा भाडामा लिएर बस्न बाध्य थिए। हप्तामा दुईपटक डायलोसिस गराउनुपर्ने भए पनि कतिपय कपिलवस्तुका बिरामी लकडाउनका कारण अस्पतालमा बस्न बाध्य भएपछि बस सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ।

अस्पतालका अध्यक्ष एजाज आलमले अधिकांश बिरामीले हप्तामा दुई दिन मिर्गौला डायलोसिस गर्नुपर्ने अवस्था भएकाले हरेक साता बिहीबार र सोमबार कोइली बनगाईसम्म बस सञ्चालन गर्न लागिएको जानकारी दिए।

डायलोसिसका लागि बिहान अस्पताल ल्याइएका बिरामीलाई डायलोसिस गरिसकेपछि साँझ बनगाईसम्म छाड्ने व्यवस्था गरिएको अध्यक्ष आलमले बताए। कपिलवस्तुसम्म बस सेवा सञ्चालन हुने भएपछि बुटवलदेखि पश्चिम सैनामैना, सालझण्डी, रुद्रपुरसमेतका सबै बिरामीलाई राहत मिल्ने छ। हाल बुटवलदेखि पश्चिम कपिलवस्तुसम्मका ६४ बिरामी नियमित डायलोसिसका उक्त अस्पतालमा आउने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .