‘तिम्रो पढाइ पनि राम्रो छैन, व्यापार व्यवसायमा लाग्नू,’ बुवाको यो बोली पुकारचन्द्र श्रेष्ठको मनमै गड्यो।
बाल्यावस्थामा रहेका पुकारलाई लाग्यो, ‘पढ्यो भने राम्रो जागिर पाइन्छ, पढ्न नसक्नेले व्यापार गर्ने रहेछ।’
त्यतिन्जेल जसोतसो कक्षामा उत्तीर्ण मात्रै हुँदै आएका उनलाई त्यसपछि पढाइप्रति बेग्लै हुटहुटी जाग्यो। कक्षा ८ मा अध्ययनरत उनी ९ मा पुग्दा तेस्रो भए। केही नम्बरले कक्षा १० को अन्तिम परीक्षा (एसएलसी) मा बोर्ड फस्ट हुन पाएनन्।
एसएलसी बोर्ड फर्स्ट हुन नसके पनि अहिले उनी आफ्नो कार्यक्षेत्रमा धेरै कुराका लागि पहिलो बनेर कीर्तिमान राखेका छन्। खासगरी नेपालको अंग प्रत्यारोपण चिकित्सामा एक महत्त्वपूर्ण खम्बा नै बनेका छन्।
२०१९ सालमा बागलुङमा जन्मिएका पुकारलाई व्यापार व्यवसायमा लगाउने सपना थियो बुवाको। तर, पुकारको सपना भने अर्कै बन्यो।
सन् २००८ मा बेलायतबाट मिर्गौला, कलेजो र प्यांक्रियाज प्रत्यारोपण पढेर नेपाल आएका उनले वीर अस्पतालबाट पहिलोपटक मिर्गौला प्रत्यारोपण सुरु गरेका थिए। त्यसयताका १७ वर्ष अंग प्रत्यारोपणमै खर्चिए। केही दिनअघि मात्र उमेर हदका कारण अवकाश पाएका छन्।
बागलुङदेखि बेलायतसम्मको यात्रा
एमबीबीएसपछि नेपाल आएर सरकारी सेवामा जोडिए, मेडिकल अफिसरका रुपमा। वीर अस्पतालमा जनरल सर्जरी (एमएस) विषयमा स्नाकोत्तर गरे।
पढाइपछि उनले बुटवलको तत्कालीन लुम्बिनी अञ्चल अस्पतालमा २ वर्ष काम गरे। जनरल सर्जन भएर काम गर्दा मिर्गौला, कलेजो आदि फेल भएका धेरै बिरामी जीवनको याचना गर्दै आइपुग्थे। तर, प्रत्यारोपण सेवा सुरु नभएका कारण पुकार केही गर्न सक्दैनथे। आँखै अगाडि धेरैले मृत्युवरण गरेको अहिले पनि उनी झलझली देख्छन्।
युवावस्थाकै कयौँ बिरामीले ज्यान गुमाउँदा उनलाई निकै दुःख लाग्थ्यो। भारतमा पनि कलेजो प्रत्यारोपण नभएका कारण धेरै नेपाली त्यसबेला उपायविहीन थिए।
त्यो देखेर पुकार नेपालमै प्रत्यारोपण सेवा सुरु गर्ने दृढ संकल्प लिएर लागे बेलायत।

बेलायत छाडेर नेपाल यात्रा
डा पुकार एमबीबीएस र एमएस तहको अध्ययनपछि बेलायत गएका थिए। त्यहाँ उनले रोयल कलेज अफ इडिनबराबाट सन् २००३ मा एमआरसीएस तहको अध्ययन पूरा गरे।
उनले सन् २००२ देखि २००८ सम्म बेलायत सरकारको न्यासनल हेल्थ सर्भिस अन्तर्गत रहेर काम गरे। त्यसै क्रममा बेलायतको फ्री म्यान अस्पतालमा सिनियर रजिस्ट्रारको रूपमा काम गरे।
बेलायतमा अंग प्रत्यारोपणको काममा अनुभवी भएका उनले त्यहाँ राम्रो जागिर खाइरहेका थिए। तर, देशमै केही गर्ने सोचले उनी आफ्ना प्राध्यापकसँग सल्लाह गरेर नेपाल फर्किन खोजे। नेपालमा प्रत्यारोपण सुरु नभएका कारण बेलायतमै बस्न ती प्राध्यापकहरुले सुझाव दिएका थिए।
‘तिम्रो देशमा त प्रत्यारोपण सुरु भएको छैन्, यहाँ नै बस,’ भनेर अफर गरेको उनी सम्झिन्छन्।
नेपालमा नै प्रत्यारोपण सेवा सुरु गर्ने अठोटसहित उनी फर्किएरै छाडे।
नभन्दै सन् २००८ मा बेलायतबाट पुकार फर्किएपछि स्वदेशमै अंग प्रत्यारोपण सेवा सुरू भयो। मिर्गौला, कलेजो र प्यांक्रियाज प्रत्यारोपणसम्बन्धी अध्ययन गरेर आएका उनले अन्य चिकित्सकहरूको समन्वयमा सन् २००८ को डिसेम्बरमा वीर अस्पतालमा पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपण गरेका थिए। प्रत्यारोपणमा वरिष्ठ चिकित्सकहरू डा विजयकुमार शर्मा, डा रजनी हाडा, डा राजेन्द्र अग्रवाल, डा ब्रह्मदेव झा लगायतले समन्वय गरेका थिए।
वीरमा स्वास्थ्य मन्त्रालयले प्रत्यारोपण युनिट स्थापना गरेको थियो। तर, जनशक्ति र स्रोत साधनको अभावमा सञ्चालन हुन सकेको थिएन। प्रशासनिक उल्झनका बीच पहिलो प्रत्यारोपण सुरू गर्न हारगुहार गर्नुपरेको डा श्रेष्ठ सम्झन्छन्।
हप्ताको एकपटक मिर्गौला प्रत्यारोपण गर्ने प्रयास उनले थाले। तर, वीर अस्पतालमा शल्यक्रिया कक्ष कम भएकाले महिनामा एक वा दुई मात्र गर्न पाए। कहिले प्रत्यारोपण गर्न पाउँछु होला भन्दै कुरेर बस्ने बिरामीको लस्कर हुन्थ्यो। महिनामा १ बाट सुरु भएको उनको यात्रा पछि महिनाको ३० वटा सम्म पुग्यो, भक्तपुरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापनापछि।
वीर अस्पतालमा काम गरिरहेका उनलाई २०६८ सालमा स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको नवनिर्मित भवनमा मानव अंग प्रत्यारोपण केन्द्र सञ्चालनको जिम्मा दियो। तत्कालीन स्वास्थ्य सचिव डा प्रवीण मिश्रले उक्त जिम्मेवारी दिएपछि उनले त्यहाँ काम त थाले तर त्यसबेला प्रत्यारोपण केन्द्रमा न जनशक्ति थियो, न त स्रोत–साधन नै। कानुनी पूर्वाधार पनि पर्याप्त बनिसकेको थिएन।
मन्त्रालयले केन्द्रलाई अघि बढाउन डा पुकारलाई फोकल पर्सन बनाएको तीन महिनामा उनको समूहले संस्था सञ्चालनका लागि विधान बनायो। अन्ततः सरकारले ११ वैशाख २०६९ मा गठन आदेश जारी गरेपछि मानव अंग प्रत्यारोपण केन्द्र स्थापना भयो।
कर्मचारीलाई आकर्षक सेवा–सुविधा नहुँदा टिकाएर काम गराउन समस्या भएको डा पुकार सम्झन्छन्। यति हुँदाहुँदै केन्द्रले जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण पनि २०७३ मंसिरदेखि थाल्यो। उनी नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण गर्ने चिकित्सक पनि हुन्।
२०७४ पुसमा मानव अंग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गरी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र बनाइयो।
केन्द्र स्थापना भएको ६ महिनामा मिर्गौलाको डाइलासिस सेवा र १० महिनामै प्रत्यारोपण सेवा सुरू भएको थियो। त्यसपछि प्रत्यारोपण सेवाले तीव्रता पाएको डा पुकार बताउँछन्। उनका अनुसार, मिर्गौला प्रत्यारोपणमा ९९ प्रतिशत सफलता मिलेको छ।
विगतमा नजिकका सीमित नातेदारले मात्रै अंगदान गर्न सक्ने कानुन थियो। त्यो प्रावधानले प्राविधिक रूपले अंग नमिल्नाले प्रत्यारोपणमा असहजता थियो। त्यस्तो कानुन परिमार्जन गरेर जुनसुकै नातेदारले पनि अंगदान गर्न सक्ने व्यवस्था राख्न पनि डा पुकारले नै पहल गरेका थिए। अहिले नातेदारको परिभाषा विस्तार भएको छ र दुई उस्तै बिरामीका आफन्तबीच मिर्गौला साटासाट गरेर पनि मान्छे बचाउने कार्यमा नयाँ आयाम थपिएको छ।
अबको योजना
१७ वर्ष लामो अंग प्रत्यारोपण पेसामा लागेका डा श्रेष्ठले एक साताअघि अवकाश पाएका हुन्। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मात्र उनले १२ वर्षमा १ हजार ५ सय व्यक्तिको मिर्गौला प्रत्यारोपण गरेका छन्। ३७ जनाको कलेजो प्रत्यारोपण गरेका छन्।
एक व्यक्तिमा कलेजो र मिर्गौला प्रत्यारोपणदेखि विश्वमा नै जटिल मानिने एकै व्यक्तिमा तीनपटक मिर्गौला प्रत्यारोपण गरेर नेपालको अंग प्रत्यारोपणको इतिहास फराकिलो बनाएका छन्।
उमेर हदका कारण सरकारी सेवाबाट अवकाश पाए पनि अझै जोश जाँगर नमरेको डा पुकार बताउँछन्। बरु जोस छँदै अवकाश पाउँदा नरमाइलो अनुभव भएको उनी सुनाउँछन्।
‘तर, उमेर न हो। स्वाभाविक रुपमा एक न एक दिन छाड्नैपर्थ्यो,’ उनी भन्छन्।
३४ वर्ष चिकित्सा पेसामा बिताएका डा श्रेष्ठको प्रत्यारोपण क्षेत्रमा अझै केही गर्ने भोक भने मरेको छैन। त्यसैले गैरसरकारी संस्था खोलेर प्रत्यारोपणलाई निरन्तता दिने योजना बनाएका उनले।
‘गैरनाफामूलक संस्था बनाएर अझ बढी सेवा गर्न मन छ। प्रत्यारोपण केन्द्रमा जोडिएको साढे १२ वर्ष भयो, अझै काम गर्न मन छ,’ उनको जोस उस्तै छ।
बल्ल जुरेको छ दसैँ
कलेजो र मस्तिष्क मृत्युबाट आएको अंग एकै व्यक्तिमा प्रत्यारोपण गरेकोदेखि एकै व्यक्तिमा तीनपटक मिर्गौला प्रत्यारोपण गर्न सफल भएको कीर्तिमान पनि उनले राखेका छन्। केही केसले त विश्व रेकर्ड नै राखेको उनी गर्वसाथ सुनाउँछन्।
शून्यबाट सुरु भएको प्रत्यारोपणलाई जीवन्त बनाउने श्रेय उनलाई नै जान्छ।
उनलाई याद छन्, ती पुराना दिनहरु जतिखेर अनिश्चितता र अन्योल नै बोकेर नेपाल फर्किएका थिए। सुरुका दिनमा प्रत्यारोपण गर्न बिरामी नै नपाएको समय पनि याद छ। पाटन अस्पतालमा काम गर्ने नर्सको छोराको पहिलो मिर्गौला प्रत्यारोपण गरेका थिए उनले। नर्स आफैँ विश्वास गरेर आएकी र सफल पनि भएको उनी सुनाउँछन्।
‘प्रत्यारोपणका लागि विदेशबाट समेत चिकित्सक ल्याएको थिएँ। किनभने, सबैको मन र विश्वास जित्नुपर्ने बाध्यता थियो,’ उनी भन्छन्।
आफ्नो करिअर सुरु हुँदा होस् या उत्कर्षमा पुगेको बेला, उनले परिवारको साथमा चाडपर्व भने मनाउन पाएनन्। उनको अगाडि काम नै पहिलो प्राथमिकता बन्यो। घर, परिवार र चाडपर्व कहिल्यै प्राथमिकतामा परेन।
विदाको दिनमा पनि अस्पताल पुग्थे उनी। विदेश गएर आए भने पनि उनी सिधै अस्पताल पुग्थे। नेवार समुदायमा म्हः पूजाको निकै महत्त्व छ। उनको परिवार म्हः पूजाको तयारी गरिरहँदा उनी भने कयौंपटक प्रत्यारोपणमा हुन्थे।
नेपालमा मात्र होइन। बेलायतमा रहँदा पनि उनको प्राथमिकता काम मात्रै थियो। त्यहाँ दसैँकै मेसोमा एउटा नेपाली परिवारले घरमा बोलाएको थियो। जाँदाजाँदै उनलाई खबर आयो– अस्पतालबाट ब्रेन डेथको केस आएको छ, चारवटा प्रत्यारोपण गराउनुपर्नेछ। भोजमा हिँडेका उनी बीच बाटोबाटै अस्पताल पुगे।
यस्ता कयौँ घटना छन् उनीसँग, जो खाइरहेको खाना थालमै छाडेर अस्पताल हिँडेका छन्। भेट्न आएका आफन्तलाई राम्रोसँग नमस्कार पनि नगरी अपरेसन थिएटरमा कुदेका छन्। पारिवारिक जमघटमा गैरहाजिर भएका घटना त कति छन्, कति।
यसपटक भने घर–परिवारसँगै दसैँ मनाउँदै छन् डा पुकारले। किनभने, सरकारले उमेर पुग्यो भनेर उनलाई बिदा दिएको छ।
Shares

प्रतिक्रिया