समाज


ओली–लेखकविरुद्धको उजुरी तामेलीमा पठाउने प्रहरीको तयारी

आयोगको प्रतिवेदनअघि दुवै पक्षमाथि कारबाही अगाडि नबढ्ने
ओली–लेखकविरुद्धको उजुरी तामेलीमा पठाउने प्रहरीको तयारी

उजिर कार्की
असोज ३०, २०८२ बिहिबार ६:३९, काठमाडौँ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनमा दमन गरेको भन्दै परेको उजुरी तामेलीमा राख्ने तयारी भएको छ।

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले उजुरी दर्ता गरेर तत्काल पक्राउ गर्न भनेपनि सुरक्षा प्रमुखहरूले तत्काल यसो गरे शान्ति सुरक्षाको अवस्था बिग्रने अडान लिएका थिए।

‘सुरुमा उहाँहरू उजुरी दर्ता गरेर तत्काल कारबाही अगाडि बढाउनुपर्छ भन्ने पक्षमै जोड गरिरहनु भएको थियो। तर उहाँहरूले पनि वर्तमान अवस्था र कानुन बुझ्नु भएको छ। हामीले यसरी अगाडि बढ्दा आउन सक्ने अप्ठेराबारे बुझायौँ। सबै सुरक्षा निकाय यसमा एकमत भएपछि उहाँहरू पनि सहमत हुनुभयो’, एक उच्च सुरक्षा अधिकारीले भने। 

उनका अनुसार प्रहरी लामो परामर्श र छलफलपछि तत्काललाई पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, जेनजीको एउटा समूहका अगुवा सुदन गुरुङलगातविरुद्ध यसबिचमा परेका उजुरी तामेलीमा राख्ने निष्कर्ष नजिक पुगेको छ। 

‘जो–जो विरुद्ध उजुरी पर्छ दर्ता गरेर पक्राउ गर्दै जाने हो भने अवस्था कहाँ पुग्छ? यो सरकार र सरकारका प्रमुखहरू पनि सधैँ त रहँदैनन्। उनीहरूलाई पनि भोलिका दिनमा थुन्न माग गर्दै उजुरी पर्‍यो भने के गर्ने यसरी समात्ने बाटो भयाबह छ’, ती अधिकारीले भने, ‘यसरी प्रहरीमा उजुरी आएजति अगाडि बढाउँदै जाने हो भने जाँचबुझ आयोग बनाउनुको अर्थ के त? त्यही भएर आयोगको प्रतिवेदन अगाडि दुवै पक्षमाथि तत्काल कारबाही अगाडि बढाउनु ठिक हुन्न।’

गृहमन्त्री अर्यालले पूर्वसरकार प्रमुखलाई तत्काल पक्राउ गरेर अगाडि बढ्न दबाब दिएपनि जेनजीतर्फ भने कारबाही नगर्न र पक्राउ गरिएकालाई पनि रिहा गर्न आदेश दिएका थिए। अर्यालको आदेशपछि जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेर हिरासतमा राखेका आन्दोलनरत पक्षका झण्डै २ सयलाई रिहा गरिसकेको छ। 

उनीहरूलाई आफन्तको जिम्मा लगाएर रिहा गरिएको र पछि आवश्यक पर्दा फेरि मुद्दा अगाडि बढ्ने प्रहरी स्रोतको भनाई छ। ओली र लेखकविरुद्ध जेनजी समूहका अगुवा सुदन गुरुङले नै प्रहरी परिसर काठमाडौँमा उजुरी दिएका थिए। प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि सुदन र बालेनविरुद्ध पनि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले उजुरी दिएको थियो। यो उजुरी पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ। 

यी सबै उजुरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आगोगमा पठाएको थियो। आयोगले फौजदारी कसुरको उजुरीमा कारबाही गर्न प्रहरीलाई बाधा नपर्ने जवाफसँगै उजुरी फिर्ता गरिदिएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसरमा यी सबै उजुरी होल्ड छन्। 

यी उजुरी कसरी अगाडि बढाउने भन्ने विषयमा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुखसहितसँग पनि छलफल गरेको थियो। 

‘हामीले सबै पक्षसँग छलफल गरिरहेका छौँ। यसका विभिन्न कानुनी पाटो पनि हेरिरहेका छौँ। यसमा केही विकल्पहरू सुझाइएको छ। एउटा उजुरी दर्ता गरेर पक्राउ नगरी अनुसन्धान अगाडि बढाउने कि भन्ने पनि छ। अर्को भनेको उजुरी तामेलीमा राखिदिने भन्ने हो। दोस्रो विकल्पमा जानुपर्छ कि भन्नेमा छौँ, निर्णय भने गरिसकेको छैन’, प्रहरी उच्च स्रोतले भन्यो। 

यसअघि गतसाता ओली र लेखकविरुद्ध उजुरी गर्दै जेनजीका अगुवाहरूले दबाब बढाएपछि सरकारले सबै सुरक्षा प्रमुखलाई बोलाएर मध्यरातसम्म छलफल गरेको थियो। छलफलमा प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले तत्काल पक्राउ गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए। तर त्यसरी अगाडि बढे शान्ति सुरक्षाको स्थिति बिग्रने र अन्य धेरै व्यक्ति पक्राउ गर्नुपर्ने अवस्था आउने बताएपछि सरकार तत्काल पक्राउ नगर्न सकारात्मक भएको हो। 

अहिले प्रहरीले गर्ने निर्णयमा गृहमन्त्री अर्याल पनि सकारात्मक नै रहेको सुरक्षा अधिकारीहरूको भनाई छ। 

‘उहाँले कानुन बुझ्नु भएकै छ। अप्ठेरो अवस्था आइपरे उहाँलाई पनि पर्ने हो’, ती उच्च सुरक्षा अधिकारीले भने, ‘भोलि अर्को आन्दोलन होला, त्यतिबेला पनि गोलि चलाउनु पर्ला, मान्छे मर्लान् अनि अहिलेका सरकार प्रमुख र गृहमन्त्रीलाई पनि थुन्ने हो भने मात्रै यो बाटो अगाडि बढ्नु ठिक छ। होइन भने आयोगको प्रतिवेदन कुर्नैपर्छ।’

यसअघि मंगलबार अनशन बसेका युवालाई अनसन तोडाउने क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीले जाहेरी दर्ता गरेर अगाडि नबढाएको भन्दै असन्तुष्टि जनाएका थिए। 

अनशनरत युवाले कारबाहीमा ल्याउन गरेको मागबारे जवाफ दिँदै गृहमन्त्री अर्यालले भनेका थिए, ‘यो जाहेरी परिसकेको छ। जाहेरी परिसकेपछि केही असहज परिस्थिति आएको हो। यो असहज परिस्थिति कसले ल्याउनु भयो के के गर्नु भयो। सरकार के चाहन्थ्यो त्यो यहाँहरूले पनि बुझिसक्नु भएको छ। यो थाहा पाउँदै गर्नुहोला, इतिहासले यसको मूल्यांकन गर्छ। हामी अहिले पनि प्रयासरत छौँ। न्याय माग्ने पीडितको अधिकार हो। पीडितले जुन संयन्त्रबाट गर्छु भन्छ त्यही संयन्त्र क्रियाशील हुने हो। पीडितले आयोगबाट न्याय माग्छ कि नियमित फौजदारी प्रणालीबाट न्याय माग्छ। पीडितले ल्याइसकेपछि कानुनसम्मत जवाफ दिनुपर्छ।’

गृहमन्त्री अर्यालले दर्ता नगर्ने हो भने त्यसको जवाफ दिन र नतिजा भोग्न तयार हुनु पर्ने चेतावनी दिएका थिए। 

‘दर्ता गर्ने भए दर्ता गर्नु पर्यो। दर्ता नहुने हो भने कसैले हिम्मत छ भने लेख्नु पर्‍यो, यो कारणले दर्ता भएन भन्न सक्नु पर्‍यो। त्यसको परिणाम पनि भोग्नु पर्‍यो। यदि न्यायको बाटो कसैले अवरोध गर्छ भने त्यो अवरोध गर्ने मान्छे चिनिनु पर्‍यो’, अर्यालले भने। 

यसबारे ती प्रहरी अधिकारीले भने, ‘नेताहरूले माहोल हेरेर बोल्छन्। यसलाई त्यसै अनुसारले बुझिदिनुपर्छ।’ 

जेनजी समूह ओली र लेखकविरुद्ध उजुरी लिएर पुगेपछि एमाले र कांग्रेस निकट युवाहरूले सिंहदरबारसहित आगजनी र तोडफोडको कसुरमा कारबाही माग गर्दै काठमाडौँसहित विभिन्न जिल्लामा जाहेरी दिएका छन्। तर प्रहरीले कुनै पनि जिल्लामा जाहेरी दर्ता गरेको छैन। 

जेनजी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर करिब ४० जनाको र अरुको अन्य कारणले मृत्यु भएको प्रहरी प्रवक्ता विनोद घिमिरेले बताए। उनका अनुसार आगोमा जलेर २० जनाको मृत्यु भएको छ। तीन जना प्रहरीको जेनजीले कुटेर हत्या गरेका छन्। थुनाबाट भाग्ने क्रममा १० जना कैदीबन्दीको मृत्यु भएको छ। करेन्ट लागेर र भवनबाट हामफाल्दा एक एक जनाको मृत्यु भएको छ।

आन्दोलनका क्रममा संघीय संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास, शीतल निवास लगायत सयौँ सरकारी कार्यालय, निजी घर तथा व्यवसायिक भवनहरू आगजनी र तोडफोड भएका छन्। 

यी सबै घटनाको जाँचबुझ गरी कारबाही सिफारिस गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा समिति बनाएको छ। प्रहरीले यही समितिको सिफारिस कुर्ने भएको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad