प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छन्। प्रधानमन्त्री कार्कीले मास्केलाई आफ्नो निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा ओढाएर सम्मान गरेकी हुन्। उनीहरूबीच केहीबेर भलाकुसारी पनि भएको थियो।
‘तपाईँले निःस्वार्थ रूपमा लामो समयदेखि सामाजिक काम गर्दै आउनुभएको भन्ने थाहा पाएको थिएँ। एकपटक भेट्ने इच्छा थियो। आज पूरा भयो। सरकारका तर्फबाट धेरै केही गर्न नसके पनि भेटेर सम्मान प्रकट गरौँ भनेर यो कार्यक्रम गरिएको हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यहाँलाई सम्मान गर्न पाउँदा हामी पनि सम्मानित भएको महसुस भएको छ। यहाँको निःस्वार्थ भावनाबाट समाजमा सत्कार्यका लागि अरूलाई पनि प्रेरणा मिलिरहेको हामीले ठानेका छौँ।’
काठमाडौँको ताहाचल निवासी मास्के विगत २७ वर्षदेखि दिदीबहिनी नभएका र भएर पनि भाइटीकाका दिन भेट्न नभएका दाजुभाइहरूको निधार खाली नहोस् भनेर टीका लगाइदिएका कारण परिचित छिन्। उनले वीर अस्पतालमा बेवारिसे तथा विपन्न बिरामी र तिनका कुरुवाका लागि निःशुल्क खानपिनको व्यवस्था गरिदिएर पनि समाजमा योगदान गरेकी छन्।
काष्ठमण्डपमा सामूहिक व्रतबन्धको व्यवस्थापन पनि उनले गर्दै गर्दै आएकी छन्। यी सबै काम उनले आफ्नै निजी खर्चमा गर्दै आएको पनि प्रधानमन्त्रीसमक्ष जानकारी गराइन्।
‘मैले कसैसँग केही अपेक्षा राखेर यी काम गर्दिनँ,’ ८२ वर्षीया मास्केले भनिन्, ‘जे सक्छु, आफ्नै खर्चमा गर्छु। अहिले छोरा कमाउने भएपछि सोचेको काम गर्न थप सजिलो भएको छ।’
मास्केले सरकारबाट पनि कुनै अपेक्षा नराखेको प्रतिक्रिया दिइन्। ‘मलाई केही चाहिएको छैन। हामीले आ–आफ्नो ठाउँबाट सकारात्मक काम गर्दै जानुपर्छ। एकले अर्कालाई सघाउनुपर्छ,' उनले भनिन्, 'सबैले अरूको सेवा गरून्। सेवाको भावना राखेर काम गरून्। सरकारसँग हामीले अपेक्षा राख्ने होइन, सरकारलाई हामीले सघाउनुपर्छ। अनि सरकारबाट देशको कल्याण हुन सक्छ।’
प्रधानमन्त्री कार्की देशकै पहिलो महिला प्रधानमन्त्री बनेको सुनेकै दिनदेखि निकै खुसी र भरोसा जागेको पनि मास्केले बताइन्। अफ्ठ्यारो परिस्थितिमा देश सम्हाल्न आउनुभएको भन्दै प्रधानमन्त्री कार्कीप्रति मास्केले कृतज्ञता पनि गरिन्।
‘यहाँ प्रधानमन्त्री हुँदा हामी सबै महिला सम्मानित भएको महसुस भएको छ। भेट्ने कत्रो इच्छा थियो, आज पूरा भयो’ उनले भनिन्।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतम, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको पनि उपस्थित थिए।
Shares

प्रतिक्रिया