२०५३ सालको कुरा हो। सुर्खेतको बराहतालका शेरबहादुर ओली खेतमा रोपाइँ गरिरहेका थिए। त्यही क्रममा आँखामा हिलो पस्यो। उनले दुइटै आँखाको दृष्टि गुमाए।
त्यतिबेला ओली मात्र २९ वर्षका थिए।
आँखाका लागि दुई वर्षसम्म नेपालगन्ज फत्तेबाल आँखा अस्पतालमा धाए। तर, कुनै सुधार भएन।
अब कता जाने, के गर्ने केही थाहा नभएपछि निराश हुँदै उनी घर फर्किए। त्यसपछिका ६ महिना घरमै अन्धकार जीवन बिताए।
आफू आँखा नदेख्ने भएपछि घरमा रेडियो सुनेर बस्ने गरेका ओलीले एक शनिबार प्रसारण भएको ‘आँखा सेवा कार्यक्रम’ सुने। कार्यक्रममा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले आँखा दान गरेका कारण उनको मृत्युपश्चात दृष्टिविहीन व्यक्तिमा आँखा प्रत्यारोपण गरियो भनेको सुने।
आँखा दिन मिल्ने कुरा हो भन्ने थाहा पाएपछि ओली दम्पतीको मनमा आशाको किरण पलायो। श्रीमतीले उनलाई भनिन्, ‘हामीले आँखा किन्न सकेनौँ भने म एउटा आँखा दिएर भए पनि तपाईंलाई संसार देखाउँछु।’
अनि उनी श्रीमानलाई लिएर तिलगंगा आँखा अस्पताल पुगिन्।
अस्पताल पुगेपछि सुरुमै ओलीले डा सन्दुक रुइत र डा रिता गुरुङलाई भेटे। डाक्टरले उनको दुवै आँखाको नानी फेर्नुपर्ने बताए।
‘आँखाको नानी निःशुल्क पाइन्छ, उपचार पनि हुन्छ। अब आँखा देख्ने–नदेख्ने कुरा तपाईंको शरीरमा पनि भर पर्छ। तर बस्ने व्यवस्था भने यहाँ हुँदैन,’ डाक्टरले उनलाई भने।
ओली दाम्पती नजिकैको होटेलमा बसे। र, १९ दिन पर्खिएपछि शेरबहादुरको आँखा प्रत्यारोपणको पालो आयो। विसं २०५६ सालमा उनको बायाँ आँखा प्रत्यारोपण भयो। उनले ३२ वर्षको उमेरमा पुनः संसार देख्ने मौका पाए।
बायाँ आँखा प्रत्यारोपण भएको ६ महिनापछि शेरबहादुरको दायाँ आँखा पनि प्रत्यारोपण भयो।
यसपछि भने ओलीको दैनिकी राम्रै चलिरहेको छ।

उनले आँखाको नानी प्रत्यारोपण भएको ५ वर्षपछि २०६० सालमा स्थायी शिक्षकमा नाम नकाले। ओली श्री विजयश्वरी माध्यमिक विद्यालयमा प्राथमिक तहमा अध्यापन गर्छन्।
आँखाको आशै मारिसकेको अवस्थामा प्रत्यारोपण, अनि स्थायी शिक्षकमा नाम निकालेपछि आफ्नो जीवनले नयाँ मोड लिएको उनको भनाइ छ।
लामो समयपछि साधारण जीवनमा फर्किएका ओलीले शिक्षण पेसा, बालबालिकाको शिक्षा–दीक्षा, पालन–पोषण र घर व्यवहार पनि सम्हाल्न थाले।
तर, उनलाई आँखाले दुःख दिन भने छाडेन। प्रत्यारोपण भएको एक वर्षपछि दुवै आँखामा मोतीबिन्दु भयो। उनले तिलगंगामा गएर ६ महिनाको अन्तरालमा दुइटै आँखाको मोतिविन्दुको शल्यक्रिया गराए।
नानी प्रत्यारोपणको १२ वर्षपछि २०६८ सालमा फेरि उनको दाहिने आँखाले ज्योति गुम्यो। दोस्रो पटक उनले आँखाको नानी प्रत्यारोपण गराए।
उनको आँखाको समस्या यहीँ सकिएन। २०७८ सालमा दोस्रो लकडाउनपछि आफ्नै हातबाट आँखामा चोट लाग्यो। दुई महिना काठमाडौँ बसेर ओलीले आँखाको उपचार गराए।
दाहिने आँखाको नानी तीन पटक फेरेका ओलीको देब्रे आँखाले भने प्रत्यारोपण गरेको २६ वर्षसम्म पनि राम्रोसँग काम गरिरहेको छ।
दृष्टि गुमेपछि उनले अनेक कुरा सुन्नुपर्यो। कोही ‘पूर्वजन्मको पाप’ले यस्तो भयो भन्थे। ‘अब यसलाई श्रीमतीले छाडेर जान्छे’ भन्नेहरू पनि थिए।
बच्चाबच्ची सानै थिए। यस्ता कुराले उनलाई पीर पर्थ्यो।
उनले भने परिवारलाई पढाइमा जोडबल दिइरहे। एसएलसी उत्तीण उनकी श्रीमतिीअहिले बालविकास शिक्षिका छिन् भने जेठो छोरा भारतीय सेना र कान्छो छोरा इन्जिनियर बनेका छन्।
हाल उनको जीवन सामान्य अनि सहज तरिकाले चलेको छ। गाउँमा यदि कसैको आँखामा चोटपटक लाग्यो वा आँखा नदेख्ने भयो भने पनि तिलगंगा आँखा अस्पताल जान सल्लाह दिने गर्छन्।
जोसिमालाई ‘अब बिहे हुँदैन’ भनिन्थ्यो
बारा सिम्रौनगढकी जोसिमा खातुन बाल्यकालमा राम्रै देख्थिन्। तर, जति उमेर बढ्दै गयो, उनको आँखा धमिलिँदै गयो। नेपालगञ्जको आँखा अस्पतालमा उपचार गराउँदा कुनै फरक परेन।
अनि आत्तिएर खातुनका दाजु सलिमले सोधिखोजी गरे। र, अन्ततः तिलगंगा आँखा अस्पताल आइपुगे।
त्यो समय जोसिमा १७ वर्षकी थिइन्। सलिमका अनुसार गाउँसमाजमा भनाभन हुँदा ‘आँखा नदेख्ने तेरी छोरीसँग अब कसले बिहे गर्छ’ भन्नेहरू पनि थिए।
परिवार निकै चिन्तित थियो।
अस्पताल पुगेपछि डाक्टरले आँखाको नानी पाएको २–४ घण्टामै प्रत्यारोपण गर्नुपर्ने भएकाले काठमाडौँमै बस्न सुझाए।
काठमाडौँ बसेको लगभग ३ महिना पछि आँखाको नानी पाइयो। सन् २०११ मा उनको दाहिने आँखाको नानी प्रत्यारोपण गरिएको हो। दाहिने आँखा प्रत्यारोपण गरेको ६ महिनापछि उनको देब्रे आँखा पनि प्रत्यारोपण गरिएको थियो।

आँखा कमजोर भएकै कारण पढ्न नपाएकी जोसिमाको नानी प्रत्यारोपणपछि जीवनले नयाँ मोड लियो।
आँखा प्रत्यारोपणपछि जोसिमाको बिहे भयो। अहिले ललितपुर, गोदावरीमा उनी सामान्य जीवनयापन गरिरहेकी छन्। उनले दुई सन्तान समेत जन्माइसकेकी छन्।
नानी प्रत्यारोपणपछि आफूले नयाँ जीवन पाएको खातुन बताउँछिन्।
यदि कसैको आँखा जन्मैदेखि वा चोट लागेर दृष्टि गुमेको हो भने नानी प्रत्यारोपणबाट नजर फर्काउन सक्ने सम्भावना हुन्छ।
नेपालमा आज आँखाको नानी फेर्नुपर्ने वार्षिक ७ हजार बिरामी अस्पताल पुग्ने गर्दछन्। जसमध्ये वार्षिक १६ सयको मात्र नानी प्रत्यारोपण हुने गरेको छ।
Shares

प्रतिक्रिया