समाज


जनकपुरका सुनचाँदी व्यवसायी आन्दोलनमा

जनकपुरका सुनचाँदी व्यवसायी आन्दोलनमा

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १४:५७, काठमाडौँ

धनतेरस पर्वको पूर्वसन्ध्यामा सुनचाँदी बजारमा भएको घटनामा निष्पक्ष छानबिन गर्न माग गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघ आन्दोलनमा उत्रिएको छ। 

संघले दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै जनकपुरधाममा बजार व्यवसाय बन्द गरी आन्दोलनमा उत्रिएको हो।

संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीद्वारा गरिएको दमन तथा कुटपिट विरुद्ध जनकपुरधाम उद्योग वाणिज्य संघ र जनकपुरधामका व्यापारीहरु दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत बजार व्यवसाय बन्द गरेका हुन्।

जनकपुरधामका व्यापारीहरु बिहान ९ बजेदेखि १२ बजेसम्म आ–आफ्नो व्यापारिक प्रतिष्ठान बन्द गरी बिरोध जनाएका छन्। त्यस्तै जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाईमा नगरमा व्यापारीहरुले विरोध र्‍याली समेत निकालेका थिए।

संघको आह्वानमा जनकपुरधामका व्यापारीहरू पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत व्यापारिक प्रतिष्ठानमा कालो झण्डा झुन्ड्याएर कालोपट्टी बाँधेर व्यवसाय सञ्चालन गरी ३ दिनसम्म विरोध जनाएका थिए। 

धनतेरस पर्वको पूर्वसन्ध्यामा प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाको आधारमा छापा मारेको थियो। छापाको क्रममा एक पसलबाट प्रहरीले ७ किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरू प्रतिवादमा उत्रिएका थिए।

प्रहरीले छापाको नाममा चाँदी लुटेको आरोप लगाएर व्यापारीहरू प्रतिवाद गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सोही क्रममा प्रहरीको कुटाईबाट जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad