समाज


सिनामंगलमा ४ महिने छोराको हत्या गरेर भाग्दै गरेका असई नागढुंगाबाट पक्राउ

सिनामंगलमा ४ महिने छोराको हत्या गरेर भाग्दै गरेका असई नागढुंगाबाट पक्राउ

नेपालखबर
मंसिर २२, २०८२ सोमबार ११:३४, काठमाडौँ

काठमाडौँको सिनामंगलमा बस्दै आएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुस्कर कार्की आफ्नै चारमहिने छोराको हत्या आरोपमा पक्राउ परेका छन्।

छोराको हत्या गरेर भाग्दै गरेको अवस्थामा आइतबार साँझ नागढुंगाबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

‘आइतबार दिउँसो चारबजे चार महिने छोरा माहिरको हत्या गरेर भाग्दै गरेको सूचनाको आधारमा कार्कीलाई नागढुंगाबाट पक्राउ गरेर हिरासतमा राखेका छौँ,’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले नेपालखबरसँग भने, ‘उनको आक्रमणबाट पत्नी कृष्णा साउद पनि घाइते छिन्। उनको उपचार हुँदैछ।’

ब्रेन ट्युमरका बिरामी छोरालाई आइतबार दिउँसो सिनामंगलस्थित डेरामा कार्कीले धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

‘छोराको उपचारको विषयमा उनको श्रीमती कृष्णासँग विवाद हुँदा घटना भएको देखिन्छ,’ एसपी भट्टराईले भने, ‘आक्रमणबाट घाइते कृष्णाको महाराजञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।’

कृष्णा पनि प्रहरी जवान हुन्। कामकै शिलशिलामा चिनजान भएपछि उनीहरूले विवाह गरेका थिए। 

उनीहरू दुवै भित्रुवन विमानस्थलमा कार्यरत रहेका एसपी भट्टराईले बताए। 

छोराको हत्या गर्ने क्रममा उनले श्रीमतीलाईसमेत कुटपिट गरेर सख्त घाइते बनाएका छन्। टाउकोमा चोट लागेकी कृष्णाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad