भारतको गोवास्थित नाइट क्लबमा आगलागी हुँदा चार जना नेपालीले ज्यान गुमाएका छन्। नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमध्ये दुई जना झापा जिल्लाका हुन्।
‘अहिलेसम्म प्राप्त सूचनाअनुसार मृत्यु हुनेमध्ये २ जना नेपालीको पहिचान भएको छ। उनीहरु झापा जिल्लाका हुन्। अर्का एकजनाको विस्तृत विवरण प्राप्त गर्ने क्रममा रहेको भारतीय पक्षले जानकारी गराएको छ’, नयाँ दिल्लीस्थित नेपाली दूतावास स्रोतले नेपालखबरसँग टेलिफोनमा भन्यो।
भारतीय पत्रिका हिन्दूस्तान टाइम्सको अनलाइनका अनुसार त्यहाँ थप दुई जना नेपाली चुर्णबहादुर पुन र विवेक कटवालको पनि मृत्यु भएको छ। घटनाबारे नेपाली दूतावासलले भारतीय पक्ष सम्पर्कमा रहेर काम गरिरहेको छ।
मृत्यु हुनेमध्ये कति जना नेपाली हुन् र उनीहरूको वास्तविक नाम, नेपालको ठेगाना पत्ता लगाउ प्रयास भइरहेको दूतावासले जानकारी दियो।
भारत, गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको थियो।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको इन्डियन एक्सप्रेसको अनलाइनले जनाएको छ।
Shares

प्रतिक्रिया