समाज


तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै ६ लाख सुपारी दिएर सिटी सफारी चालकको हत्या

तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै ६ लाख सुपारी दिएर सिटी सफारी चालकको हत्या

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १४:४७, काठमाडौँ

सुनसरीको रामधुनीका दिनेशकुमार चौधरीको हत्या स्थानीयकै योजनामा भएको खुलेको छ।

दुई महिनाअघि रामधुनी २ मा भएको सिटी सफारी चालक चौधरी उपरका गोली हानी हत्याको घटनामा स्थानीय राजकिशोर साह र नन्दकिशोर साहको संलग्नता खुलेको हो। 

सुनसरी प्रहरीका अनुसार राजकिशोर र नन्दकिशोर दाजुभाइ हुन्। उनै साह दाजुभाइकै योजनामा सुपारी दिएर मान्छे बोलाई चौधरीको गोली हानी हत्या गराइएको हो।

सिटी सफारी चालक धामीझांक्री भएको र तन्त्रमन्त्र गरी परिवारका सदस्यलाई बिरामी बनाई दुःख दिएको भन्दै हत्या गराइएको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवले बताए। 

जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार चौधरीको हत्यामा ६ लाखको लेनदेन भएको पाइएको छ। साह दाजुभाइले ६ लाखमा सुपारी दिएर मान्छे बोलाई चौधरी उपर गोली हान्न लगाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

पत्रकार सम्मेलन मार्फत घटनाबारे जानकारी गराएको सुनसरी प्रहरीले हत्यामा संलग्न ७ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ।

सुनसरी प्रहरीले दिएको जानकारीअनुसार हत्यामा संलग्नताका आधारमा पक्राउ परेकाहरूमा झुम्काका साह दाजुभाई ४३ वर्षका राजकिशोर र वर्ष ४० का नन्दकिशोर सहित सप्तरी राजविराजका २८ वर्षीय अंकित साह र प्रिन्सकुमार दास रहेका छन्। त्यसैगरी पक्राउ पर्नेहरूमा सुनसरी भोक्राहाका ३४ वर्षीय मोहमद इव्रान मिया, देवानगञ्ज्का ३७ वर्षीय गियास मन्सुरी र सोही गाउँपालिकाकै २५ वर्षीय मिथलेस यादव रहेका छन्।

प्रहरी नियन्त्रणमा रहेका ७ जनाको हकमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य जारी रहेको सुनसरी प्रहरीले जनाएको छ।

असोज २५ गते शनिबार साँझ रामधुनी नगरपालिका वडा नम्बर २ मा रहेको शिननगर–झुम्का जाने नहरको भित्री सडक खण्डमा स्थानीय सिटी सफारी चालक दिनेश कुमार चौधरी उपर गोली प्रहार भएको थियो। गोली प्रहारबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad