निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापन कार्यमा सूचना प्रविधिको प्रयोग अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ को सन्दर्भमा आयोगमा कार्यरत कम्प्युटर अपरेटरहरूका लागि काठमाडौँमा आयोजित दुईदिने एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली तथा साइबर सुरक्षासम्बन्धी तालिमको उद्घाटन गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रविधिको प्रभावकारी प्रयोगप्रति आयोग सजग र संवेदनशील रहेको बताए।
भदौ २३ र २४ गते भएको विद्रोहपछि फागुन २१ गते निर्वाचन मिति तय भएकाले यस निर्वाचनमा सूचना प्रविधिको सुरक्षित प्रयोगलाई उच्च प्राथमिकता दिइएको उनले उल्लेख गरे।
निर्वाचन मिति घोषणा भएपछि मतदाता नामावली संकलन बन्द गर्नुपर्ने कानुनी व्यवस्था अध्यादेशमार्फत संशोधन भएपछि आयोगले यसपटक राष्ट्रिय परिचयपत्र प्रणालीसँग मतदाता नामावली संकलन प्रणाली एकीकृत गरी सहज रूपमा नामावली संकलन गर्न सफल भएको भण्डारीले जानकारी दिए।
उनले सूचना प्रविधिमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्ति नियन्त्रणमा आयोगका सूचना प्रविधिमा कार्यरत कर्मचारीहरूको भूमिका महत्वपूर्ण हुने बताए। निर्वाचन आचारसंहिताको पूर्ण पालना, प्रचारप्रसार र मतदाता शिक्षा जनस्तरसम्म पुर्याउन पनि सूचना प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको उनको भनाइ छ।
आयोगमा कार्यरत दक्ष जनशक्तिले सूचना प्रविधिको सकारात्मक प्रयोग प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यसमार्फत स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सहयोग पुग्ने बताए।
हाल आयोगले सूचना प्रविधिको प्रयोग गर्दै मतदाता नामावली दर्ता तथा व्यवस्थापन, इभेन्ट ट्र्याकिङ सिस्टम, उम्मेदवार खर्च व्यवस्थापन प्रणाली, अब्जर्भर व्यवस्थापन, उम्मेदवारको मनोनयन दर्तादेखि निर्वाचन परिणाम घोषणासम्मका कार्यहरू सञ्चालन गर्दै आएको छ। यसैगरी बाह्य जिल्लामा मतदाता नामावली दर्ता, प्रि-इनरोलमेन्ट तथा राष्ट्रिय परिचयपत्र प्रणालीसँगको आवद्धताले मतदाता नामावली संकलनलाई सहज र पहुँचयोग्य बनाइएको छ।
उद्घाटन कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगलाई आयोगले विगतदेखि नै उच्च प्राथमिकता दिँदै आएको उल्लेख गरे। प्रविधिको तीव्र विकाससँगै त्यसलाई आत्मसात् गर्न आयोग निरन्तर प्रयत्नशील रहेको उनले बताए।
सचिव राउतले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सूचना प्रविधिको सकारात्मक प्रयोग बढाउँदै त्यसका नकारात्मक असर न्यूनिकरण गर्नुपर्नेमा जोड दिए। ‘साइबर हाइजिन’ कायम गर्न यस्ता तालिमहरू प्रभावकारी हुने उनको भनाइ छ।
आयोगले प्रयोग गरिरहेका सूचना प्रविधि प्रणालीबारे समान बुझाइ कायम गर्न तालिमले सहयोग पुर्याउने र निर्वाचनका क्रममा तथ्यांकको शुद्धता, साइबर जोखिम न्यूनीकरण तथा सुरक्षित डिजिटल व्यवहार सुनिश्चित गर्न आयोगका प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने सचिव राउतले बताए।
तालिममा ७७ जिल्ला निर्वाचन कार्यालय र ७ प्रदेश निर्वाचन कार्यालयका कम्प्युटर अपरेटरहरूको सहभागिता रहेको छ।
Shares

प्रतिक्रिया