समाज


सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न महासंघको माग

सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न महासंघको माग

नेपालखबर
माघ २८, २०८२ बुधबार २०:५३, काठमाडौँ

देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ।

महासंघका कार्यवाहक महासचिव पुरुषोत्तम सिङ्खडाले आज एक विज्ञप्ति जारी गरी पछिल्लो एक हप्तामा ठूला दुई दुर्घटना हुँदा दर्जनौँ व्यक्तिले अकालमा मृत्युवरण गर्नुपरेको भन्दै सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका हुन्।

माघ २७ गते काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको पूर्व अरनीको यातायात रामेछापमा दुर्घटना हुँदा १२ जनाको र माघ २२ गते बैतडीको पुर्चौडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्यु  हुनुका साथै दर्जनौँ यात्रु घाइते भएका थिए।

महासङ्घले दुर्घटनामा निधन भएकाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक आत्माको चीरशान्तिको कामना साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। कार्यवाहक महासचिव सिङ्खडाले देशभर भएका सडक दुर्घटनाको सत्यतथ्य छानबिन गरी सम्बन्धित पक्षलाई तत्काल राहत एवम् उद्धारको व्यवस्थाका लागि सरकारसँग माग गरे।

महासङ्घले सिट क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा नगराउनुको साथै यात्रु टिकट काट्दा अनिवार्य रूपमा पहिचान खुलेको प्रमाण र नाम, सम्पर्क नम्बर अनिवार्य उल्लेख गरी दैनिक रेकर्ड अद्यावधिक गर्न सबैमा आग्रह गरेको छ।

महासंघले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा हिमाल, तराई, पहाडी ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दा कसैको प्रलोभनमा नपरी सिट क्षमता भन्दा बढी यात्रु नराखी सिट क्षमताभित्र मात्र यात्रु राखी यातायात सेवा सञ्चालन गर्न अनुरोध गरेको छ।

सडक दुर्घटना पश्चात सरकारद्वारा गठित सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनलगायत विषयमा बनेका सडक दुर्घटना छानबिन प्रतिवेदन कार्यान्वयन नहुँदा दिन प्रतिदिन सडक दुर्घटनाको जोखिम बढ्दै गइरहेकाले नेपाल सरकारद्वारा गठित दुर्घटना अध्ययन प्रतिवेदनसमेत तत्काल कार्यान्वयनका लागि महासङ्घले अनुरोध गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad