गण्डकी प्रदेशको म्याग्दी जिल्लामा पनि एकजना कोरोना संक्रमित भएका छन्। म्याग्दीको मालिका गाउँपालिका घर भई बेनी नगरपालिकाको क्वारेन्टिननमा बस्दै आएका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए।
उनलाई बेनी अस्पतालकै आइसोलेसन कक्षमा राखिने जनाइएको छ। योसँगै गण्डकीमा संक्रमितको संख्या १७ पुगेको छ। तीमध्ये २ जना निको भएर घर फर्किसकेका छन्।
यता, पोखरामा रहेको गण्डकी प्रदेशको कोरोना अस्पतालमा पहिलो पटक कोरोना संक्रमित बिरामीको उपचार सुरु भएको छ। स्याङ्जाकी कोरोना संक्रमित महिलालाई उपचारको लागि गण्डकी प्रदेशको कोरोना अस्पतालमा ल्याइएको हो।
बिहीबार बिहान कोरोना पुष्टि भएका स्याङ्जाका ३ जना संक्रमितमध्ये ३९ वर्षीया महिलालाई उपचारका लागि पोखरा ल्याइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार आइसोलेसनका अभाव भएकाले स्याङ्जाकी संक्रमितलाई पोखरा ल्याइएको हो।
Shares
प्रतिक्रिया